भर्खरै :

विवाद समाधान समितिद्वारा काम शुरु

काठमाडौँ, १९ मङ्सिर  : खेल सङ्घमा देखिएको विवाद समाधान गर्न गठित समितिले आजदेखि काम शुरु गरेको छ ।
युवा तथा खेलकूद मन्त्रालयको मन्त्रीस्तरीय निर्णयबाट यही मङ्सिर १७ गते युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्माले गठन गर्नुभएको समितिको आज बसेको पहिलो बैठकले विवादित सङ्घहरुको पहिचान गरी यथाशक्य चाँडै उनीहरुसँग छलफल गर्ने निर्णय गरेको छ ।
“आज हामी पहिलो बैठक बस्यौँ, विशेषगरी कुन कुन सङ्घमा बढी विवाद छ यो पहिचान गरेका छौँ, अर्को बैठकपछि उहाँहरुलाई औपचारिक पत्र पठाई वार्ताका लागि बोलाउँछौँ”–समितिका सदस्य एवं युवा तथा खेलकुद मन्त्रालयका प्रवक्ता अणप्रसाद न्यौपानेले जानकारी दिनुभयो ।
समितिको समयसीमा छोटो भएकाले निरन्तर बैठक बस्ने र सङ्घहरुको विवाद समाधानको पहल गर्ने उहाँको भनाइ छ । मन्त्रालयले पछिल्लो समय एकपछि अर्को खेल सङ्घमा विवाद देखिन थालेपछि विवाद समाधान गर्न राष्ट्रि«य खेलकूद परिषद्का उपाध्यक्ष पिताम्बर तिम्सिनाको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरेको छ । यही मङ्सिर १७ गते मन्त्रिस्तरीय निर्णयबाट उपाध्यक्ष तिमिल्सिना संयोजकत्वमा मन्त्रालयका प्रवक्ता अणप्रसाद न्यौपाने र राखेपको खेलकूद विकास विभाग प्रमुख कुलबहादुर थापा सदस्य रहेको समिति गठन गरिएको थियो ।
आठाँै राष्ट्रिय खेलकूद तथा १३आँै दक्षिण एशियाली खेलकूद प्रतियोगिताको मिति नजिकिँदै गर्दा प्रतियोगितामा सहभागी हुने खेलाडी छनोटमा समेत एउटै खेलको दुईवटा सङ्घ हुँदा समस्या परेको भन्दै मन्त्रालयको दुई सङ्घबीच वार्ता र समन्वय गरी एउटै सङ्घ बनाउन पहल गर्न समिति गठन गरिएको हो ।
अहिले कराँते, जिम्न्यास्टिक, तेक्वान्दोलगायतका खेल सङ्घमा विवाद छ । समितिलाई एक महीनाभित्र ती सङ्घका विवाद समाधान गरी प्रतिवेदन मन्त्रालयलाई बुझाउने कार्यादेश दिइएको छ । (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *