जनतालाई उत्पादन बढाउन उत्साहित गरेमा देशको अर्थतन्त्र चलायमान हुने
- श्रावण १, २०८३
छाडा चौपाया जहाँतहीँ छोड्दा बेलाबखत सडक दुर्घटना भएको समाचार आइरहेको यथार्थ हो । छाडा चौपाया सडकको जहाँतहीँ वारपार गरिरहने, सडककै बीचमा बसिरहने भएकोले सडक दुर्घटना भइरहेको हो । यसरी बारम्बार दुर्घटना भइरहे पनि छाडा चौपाया नियन्त्रणबारे त्यति ध्यान गएको देखिँदैन ।
छाडा चौपायाहरू सडकमा मात्र होइन खेत–खेतमा पुगेका छन् । किसानले लगाएको तरकारीमा छाडा पशु पसेर ठूलो नोक्सान भइरहेको छ । छाडा चौपायाको वास नै खेत भएको छ । लगाइएको किसानको साग, बन्दा, काउली आदि बिहान र रातभरि खाएर हैरान पारिएको छ । टिप्न लागेका र भर्खर पलाएका तरकारीको बोट खाएपछि खेतै बाँझोजस्तै हुन्छ । एक एक ठाउँमा कम्तीमा ६÷७ जना छाडा चौपाया रहेको हुन्छ । एकचोटि खाएपछि नगदेबाली तरकारीको बोट कामै लाग्दैन । फेरि लाउन कहिले बीउ हुँदैन त कहिले बेसिजन हुन्छ । छाडा चौपायाको कारण किसानहरू हैरानमात्र होइन मर्कामा परेका छन् ।
खेतमा छाडेका चौपायालाई खेदे पनि फेरि आउँछ र बालीनाली नष्ट गरिदिन्छ । पीडित किसानले एकसमय छाडा चौपायालाई ल्याएर एक ठाउँमा बाँधे र केही दिनपछि भक्तपुर नगरपालिकाको पहलमा नियन्त्रण पनि गरियो । फेरि त्यस्ता चौपायाहरू जहाँतहीं देख्न थाले र बाली खान थाले । हुन त यो समस्या एकचोटि नियन्त्रण गरेर समाधान हुने होइन । गाईपालन भएसम्म छाडा चौपायाको समस्या भइरहन्छ । यसबारे एकातिर गाईपालकहरूले चिन्तनमनन गर्नुपर्छ भने अर्कोतिर राज्यले नै ध्यान पु¥याउनुपर्ने देखिन्छ ।
पोथी जन्मेमा पाल्ने र भाले जन्मेमा हिँडन थालेपछि चौपाया छाड्ने गरेको पाइएको छ । कति चौपायालाई त गाईपालकले आफ्नो बस्तीभन्दा टाढा पु¥याएर छोडेको हुन्छ । ती चौपायाहरू कहिले कहाँ कहिले कहाँ पुग्छन् र दुःखकष्ट गरेर लगाएको तरकारी खाएर किसानलाई मारमा पार्छन् । छोडेको चौपायालाई के गर्ने, कहाँ लाने भन्नेबारे राज्यले नै उपाय खोजेको भए समस्या समाधान हुने देखिन्छ । राज्यले कुनै उपाय खोजिँदैन भने यो समस्या जहिले भइरहन्छ र तरकारी नष्ट भएर किसानले गरेको श्रम, सीप र लगानी खेर जान्छ, खेर गइरहेको छ । किसानको यो मर्का सरकारले कहिले बुझ्ने ?
– एक पीडित किसान
Leave a Reply