भर्खरै :

पुनर्निर्माणसम्बन्धी अभिमुखीकरण

भक्तपुर, २५ मंसिर । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको आयोजनामा जिल्लास्तरीय निजी आवास पुनःनिर्माणसम्बन्धी दुईदिने अभिमुखीकरण तथा समीक्षा गोष्ठी भयो ।
कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुर दरबार क्षेत्रस्थित विद्यालय तथा सरकारी कार्यालयलगायतका सङ्घ–संस्थाहरूलाई स्थानान्तरण गर्नुपर्ने बताउनुभयो ।
पुरातात्विक क्षेत्रभित्र सम्पदा अनुकूलका नक्सा प्रस्तावमा जोड दिनुपर्ने बताउँदै प्रमुख प्रजापतिले नगरभित्रका घरको संरचना प्राधिकरणकै मापदण्डमा निर्माण गराउन नगरपालिकाले ध्यान दिएको जानकारी गराउनुभयो ।
आर्थिक अभावका कारण घर बनाउन नसक्नेको सङ्ख्या अझ पनि धेरै रहेको बताउँदै प्रमुख प्रजापतिले घर नभएकाहरूलाई सरकारले जग्गा उपलब्ध गराउनुपर्ने आवश्यकता रहेको बताउनुभयो ।
उहाँले भक्तपुरका अधिकांश घरहरू स्वीकृत नक्साबमोजिम नबन्दा दोस्रो र तेस्रो किस्ताको रकम प्राप्त गर्न नसकेको अवस्थामा गरिब जनताको सेवा गर्ने हो भने एकमुष्ट अनुदान रकम दिने प्रावधान बनाउनु उचित हुने धारणा व्यक्त गर्नुभयो । आर्थिकरुपमा विपन्न लाभग्राहीहरूको निम्ति छुट्टै ऐन–नियम आवश्यक भएको उहाँले बताउनुभयोे ।
उहाँले पुनःनिर्माणमा आवश्यक काठ र ढुङ्गाको अभावले गर्दा पुनर्निर्माण कार्यमा ढिलासुस्ती भइरहेको र पुरातत्व विभाग स्वयम्ले ठेक्कापट्टा र टेन्डरमा गुणस्तरहीन निर्माण कार्य गर्नु गलत भएको बताउनुभयो ।
कार्यक्रममा चाँगुनारायण नपाका उपप्रमुख वीणा बास्तोलाले भूकम्प गएको चार वर्ष बितिसक्दा पनि भूकम्प पीडितको समस्या ज्यूँका त्यूँ हुनु लज्जास्पद भएको बताउनुभयो । कार्यक्रममा जिल्ला आयोजना कार्यान्वयन एकाइका प्रतिनिधिहरूले भक्तपुर जिल्लामा पुनर्निर्माणको वर्तमान अवस्था तथा प्रगति विवरणहरू प्रस्तुत गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *