भर्खरै :

दिदीको डायरी

– निर्जला
दिदीको डायरी पल्टाउँदा मैले एउटा कथा सम्झेँ । म सानै थिएँ र मेरी दिदी मलाई वर्णमाला पढाउनुहुन्थ्यो । कथा खालि ४ जनासित मात्रै सम्बन्धित थियो । मेरी दिदी सुभद्रा, उहाँकी एक साथी स्नेहलता र उहाँको लोग्ने मदन अनि सौता सानीमैयाँ ।
म ७–८ वर्षको मात्रै थिएँ, मेरी दिदी सा¥है राम्री हुनुहुन्थ्यो । उहाँले कविता र कथा लेख्नुहुन्थ्यो तर युवक ‘नेपाली’ को नाउँमा पत्रिकामा छपाउनुहुन्थ्यो ।
एक दिन स्नेहलता नाउँकी एक दिदी ‘नेपाली’लाई भेट्न आउनुभयो । सुभद्रा दिदीले अलिकति पनि नहड्बडाएरै उत्तर दिनुभयो –“दाजु केही दिनको लागि बाहिर जानुभएको छ ।” दिदीसँगको वार्तालापमा उहाँले आफ्नो नाउँ ‘स्नेहलता’ बताउनुभएको थियो । त्यस दिनदेखि स्नेहलता बरोबर घरमा आउन थाल्नुभयो र मलाई चकलेट ल्याइदिने गर्नुहुन्थ्यो ।
उहाँ ‘नेपाली’ लाई भेट्न आउनुको कारण ‘नेपाली’ नामबाट छापिएका लेखहरूबाट प्रभावित हुनुभएकोले थियो । एक दिन सुभद्रा दिदी बाहिर हुनुहुन्थ्यो, स्नेहलता दिदी कोठाभित्र पस्नुभयो र मलाई चकलेट दिएर टेबुलमा राखिएका दिदीका कापी र किताबहरू हेर्न थाल्नुभयो । दिदीका अरु उस्तै खालका कविता र कहानीहरू हेर्नुभयो । एकछिन्पछि उहाँले मसँग सोध्नुभयो –“दाज्यू फर्कनुभयो ?” म अकमक्किएँ ! किनभने मेरो दाइ हुनुहुन्नथ्यो । मैले सहज र आश्चर्य मिश्रित स्वरमा सोधेँ –“को दाज्यू दिदी ?” उहाँले हाँसेरै दिदीको कापी र किताबहरू देखाएर भन्नुभयो –“यी क्या, लेख्ने दाज्यू !,” एकछिन् अड्किएर उहाँले सोध्नुभयो – “अँ, भाइको कतिजना दाइहरू हुनुहुन्छ ?”
“दाइ हुनुहुन्न दिदीमात्रै” –बेवास्ताको भावमा मैले उत्तर दिएँ ।
“त्यसो भए यी लेखहरू कस्ले लेखेका हुन् ? यी किताबहरू कस्का हुन् त भाइ ?” अलि बिस्तारै स्नेहलताले सोध्नुभयो ।
“यी त सुभद्रा दिदीकै त हो नि !”, मैले उत्तर दिएँ ।
“साँच्चै हो ?” –उहाँले अलि आश्चर्य मान्नुभयो ।
“साँच्चै हो, सुभद्रा दिदी रातभरि त्यो रातो कापीमा लेख्नुहुन्छ, म र दिदी ऊ त्यो खाटमा सुत्छौँ ।” मैले कोठाको कापी र पलङ्गतिर औँल्याएको अहिलेसम्म पनि राम्रै सम्झन्छु ।
यस्तैमा सुभद्रा दिदी आइपुग्नुभयो । अनि कुन्नि के–के कुरा गर्नुभयो, दुवै हाँस्नुभयो । त्यसै दिनदेखि सुभद्रा दिदी र स्नेहलताको राम्रो मित्रता सुरु भयो र स्नेहलता अब हरेक दिनजस्तो दिदीकहाँ आउने गर्न थाल्नुभयो । कविता–कहानी सुन्ने र सुनाउने गर्न थाल्नुभयो ।
एकदिन मेरो प्रश्नको उत्तरमा सुभद्रा दिदीले भन्नुभयो –“स्नेहलता कक्षा बी.ए. की छात्रा हुन् र एक महिनाअघि मात्रै उनको मदनसँग विवाह भयो । उनको लोग्ने पनि बी.ए. पास भएका र धनीका छोरा हुन् । अब हामीकहाँ आउन्नन् पहिलेजस्तो….।”
सायद म त्यसबेला १२ वर्ष पुगिसकेको थिएँ । एकदिन म पल्टिरहेको थिएँ – शनिबार भएर । दिदी केही लेखिरहनुभएको थियो । मेरा कानले कुनै परिचित स्वर सुनँे । बिस्तारै आँखा खोलेर हेरँे–उही स्नेहलता दिदी । पहिलेजस्तै झण्डै मैले दिदी भनेर बोलाउन के आँटेको मात्रै थिएँ, मलाई अलि अल्छि लागेको हुँदा म पल्टिरहेँ । स्नेहलता दिदीमा केही परिर्वतन पनि पाएँ । उहाँको जिउ दुब्लो भैसकेको थियो, हिस्सी परेको अनुहार चाउरिसकेको थियो । सायद उहाँको कपाल र आँखामा पनि परिवर्तन आएको हँुदा चिन्नै नसक्ने हुनुभयो । उहाँमा भएको चञ्चलता सम्पूर्णरूपमा लुप्त भैसकेको थियो । उहाँको आँखाबाट आँसु बग्दै थियो र रुन्चे स्वरमा भन्दै हुनुहुन्थ्यो –“सुभद्रा दिदी, मेरो हबिगत भयो ।”
म सुन्दै थिएँ । स्नेहलतासँग विवाह भएको मदन एक शिक्षित जँड्याहा रहेछ । ऊ भट्टीमा जाँदैनथ्यो, हुस्की, ब्राण्डी, बीयर आदि घरमै पिउँथ्यो । ऊ तल्लोस्तरको भारतीय फिलिमको अमली  थियो । मदन त्यही भारतीय जीवनलाई आदर्श मान्थ्यो ।
मदनले प्रेम प्रतियोगितामा सफलता पायो, भारतीय फिलिमको एक नायकले जस्तै । घरमा स्नेहलता भएर पनि मदनले अर्कै युवतीसँग प्रेम गरेको थियो र स्नेहलताले सौता पाउनुभयो । त्यस दिनदेखि स्नेहलताको जीवनमा शरद ऋतुले प्रवेश ग¥यो । स्नेहलताले आफ्नो चोलो फुकाल्नुभयो, उहाँको जिउभरि जता–ततै निला–निला डामहरू थिए । सुभद्रा दिदीको आँखामा पनि आँसु थियो र “निर्दयी लोग्ने मानिस” भनेर चोलो लाउन मद्दत गर्नुभयो ।
सुभद्रा दिदीले दराजबाट आयोडीन र व्यञ्जनका सिसीहरू झिकेर मलम पट्टी लगाइदिनुभयो ।
मलाई केही भन्न मन पनि लाग्यो र फेरि उठेर केही भन्न असजिलो पनि मानिरहेकोे थिएँ ।
सुभद्रा दिदी र स्नेहलताको वार्तालापले थाहा पाएँ राती १२ बजे मदन र उहाँकी सौता दुईजना मिलेर स्नेहलता दिदीलाई बेसरी पिटेका थिए । सौता प्रेमिला शाह, एम.ए. गरेकी र अमेरिकाबाट पश्चिमेली नाच–गान सिकेकी एक कलाकार थिइन् ।
म कोठामा सुतिरहेको छु भन्ने कुरो स्नेहलता र दिदीले बिर्सिसक्नु भएको होला । धेरै बेरसम्म लोग्ने मानिसहरूको वासनाजन्य कुकृत्यहरूको विषयमा कुराकानी भइरह्यो । लोग्ने मानिसहरूको टिका–टिप्पणी चालु रह्यो ।
अन्तमा दिदीले भन्नुभएको निष्कर्षको सार अहिले पनि सम्झन्छु– “लता रोएर अब केही फाइदा छैन, बरु केहिदिन यहीँ बस र पछि विचार गरौँला, हामीले के गर्नुपर्छ ? यस्तो शोषणमा आधारित पुरानो समाजमा आइमाईको यस्तो दुर्दशा जहाँ–तहीँ देखिन्छ ।”
धेरै वर्षपछि मैले दिदीका पुराना लेखहरू खोज्दा–खोज्दै पुरानो एउटा डायरी भेट्टाएँ । डायरी धूलोले छोपिएको अवस्थामा दराजको एक कुनामा थियो । धूलो पुछेर पहिलो पृष्ठ पल्टाएँ । पहिलो पृष्ठमै दिदीको फोटो थियो । डायरीलाई मैले सरसरी पल्टाएँ । त्यसमा करीब ३ वर्षका कुराहरू लेख्नुभएको थियो । डायरीको ८–९ पृष्ठमा लेखिएको थियो, –“लताको जिउभरिका घाउ देख्दा मलाई त लाग्यो – लोग्ने मानिस साँच्चै राक्षसका अवतार नै हुन् । लतालाई यस्तो गति बनाएर छोड्यो । वास्तवमा पशुपंछीले पनि आफ्नी पोथीलाई यस्तो गर्दैन होला !”
त्यस दिनको डायरीको अन्ततिर यसरी लेखिएको थियो ः–
“जहिलेसम्म देश, समाज र व्यक्तिले आर्थिक स्वतन्त्रता पाउन सक्दैन त्यसबेलासम्म आइमाईलाई दिइने कुनै पनि राजनैतिक र सामाजिक अधिकार कागजीमात्रै रहनेछ । देशमा जहिलेसम्म सबै जाति, जन–जाति र महिलाले आर्थिक स्वतन्त्रता पाउन सक्दैनन् अथवा देशको राज्यसत्ता कामदार वर्ग, कामदार जाति र कामदार महिलाकै हातमा पुग्दैन, तबसम्म कामदार वर्ग, कामदार जाति, जनजाति र महिलाहरूको मुक्ति हुनेछैन । त्यसको लागि नारी र सबै कामदार जात–जातिले अहिलेदेखि नै सङ्घर्ष गर्दै जानु आवश्यक छ । आर्थिक स्वतन्त्रताबाहेक राजनैतिक स्वतन्त्रता खालि कागजी स्वतन्त्रता साबित हुनेछ । त्यसैले आर्थिक स्वतन्त्रता सबै स्वतन्त्रताको खम्बा हो, त्यसमा नारी स्वतन्त्रता पनि आउँछ ।”
अर्को पृष्ठमा लेखिएको थियो– “स्वास्नी मानिसको अधिकार सुरक्षा गर्न र राम्रो समाजको स्थापना गर्न चीनको नयाँ विवाह कानुनले धेरै कुराहरू सिकाउनेछ । चिनियाँहरूको त्यो कानुन ऐतिहासिक घटनाहरूसँग सम्बन्धित छ र त्यसमा एक प्रकारको नारी समाजको विकासको झलक पाइन्छ । चीनको पुरानो समाज हाम्रैजस्तो सा¥है पछि परेको समाज थियो ।”
सुभद्रा दिदी अहिले पोखराको एक हाइ स्कुलमा भिनाजुसँग काम गर्दै हुनुहुन्छ । स्नेहलता दिदी खुसी हुनुहुन्छ । एक कथाकारसँग उहाँको विवाह भयो । कथाकार भिनाजु कामदार जाति, जनजाति र कामदार वर्गको लागि कलम चलाउनुहुन्छ । डायरी पल्टाउँदै गएँ । दिदीको डायरीमा त्यस्ता महिला दिदीबहिनीहरूको प्रसङ्ग अनगिन्ति टिपोटहरूले भरिएको थियो ।
(२०२० साल)

Leave a Reply

Your email address will not be published. Required fields are marked *