भर्खरै :

सामाजिक सञ्जाल, नयाँ युग र पँुजीवादी संस्कार

हरिसुन्दर सुवाल
सामाजिक सञ्जाल र विकृति
वास्तवमा मानिस हरेक कुरामा नयाँपनको खोजी गर्छ । नयाँ काम, नयाँ ठाउँ, नयाँ साथी आदिको अनुभव लिने भन्दै सोच्दै नसोचेका कामकुरा पनि गर्न भ्याउँछ । ज्ञानगुणका नयाँ कुरा सिक्ने–सिकाउने अभिलाषा राख्नु हरेक हिसाबले राम्रो हो । फेसबुक, ट्वीटर, इन्ष्टग्राम आदिजस्ता सामाजिक सञ्जालको विकासले एकातिर मानिसले दुनियाँको हरेक खबर घरैमा बसी बसी सजिलै थाहा पाउन सकेका छन् भने अर्कातर्फ सहरका कुनै नेता, मन्त्री, सांसद वा समाजमा हुने हत्या, हिंसा, बलात्कारजस्ता जघन्य अराधमा संलग्न अपराधी तथा सामाजिक विकृति–विसङ्गतिलाई आलोचना गर्ने, व्यङ्ग्य गर्नेजस्ता काम पनि सिके । कतिले सामाजिक सञ्जालको सही सदुपयोग गरेका हुन्छन् भने कतिले दुरुपयोग ।
चीनमा भएको विश्व सुन्दरी प्रतियोगितामा नेपालकी सृङ्खला खतिवडाले दुई वटा महत्वपूर्ण पुरस्कार जित्दै ३० औं स्थानबाट एकैबाजी उत्कृष्ट १२ औं स्थानमा पुग्न सफल भइन् । सृङ्खलालाई त्यहाँसम्म पु¥याउन सामाजिक सञ्जालकै भूमिका रहेकोभन्दा अतिशयोक्ति नहोला । कुनै पनि प्रतियोगिता कसैको साथ समर्थन बिना आफ्नै बलबुट्टा, मिहिनेत र प्रतिभाले जित्न नसकिने भने होइन । तर, पँुजीवादी समाजमा व्यक्तिले गरेका मिहिनेत, उसमा निहित गुण, सीप र प्रतिभाको कदर गर्नेभन्दा उसको राजनीतिक पहुँच, आर्थिक–सामाजिक धरातल हेरी सिफारिसको भरमा नतिजामा पुग्ने गलत संस्कार हावी हुँदा कतिपय दक्ष र योग्य व्यक्तिहरू छायाँमा पर्ने गरेका छन् ।
सामाजिक सञ्जालबाट मुख्यतया मानिसहरूले एकले अर्कालाई मनपराउने, आलोचना गर्ने वा कसैले राखेको स्टाटस शेयर गर्न सिक्ने भएका छन् । त्यतिमात्र नभई आफ्नो व्यक्तिगत कमी कमजोरी जस्तै रिस, राग, द्वेषसमेत सामाजिक सञ्जालमार्फत सार्वजनिक गर्ने गरेको पाइन्छ । कतिपय मानिसले फेसबुकमा छाउनकै लागि समाजमा हुने विविध क्रियाकलाप वा गतिविधिमा सहभागी हुने गरेको देखिन्छ । कतिले भड्किलो आपत्तिजनक तथा अर्धनग्न तस्बिरहरू राखेर समाजमा अनेक खालका विकृति निम्त्याउने खालका काम गरेका हुन्छन् । यसबाट भर्खरै हुर्कदै गरेका नवयुवक–युवतीदेखि कतिपय अर्धवैसे वा वृद्धवृद्धाको समेत मति भ्रष्ट पार्ने वा तिनका बानी बिगार्ने कार्य भइरहेकोप्रति सबै उत्तिकै सचेत हुन अत्यावश्यक छ । मानिसले सामाजिक कार्यप्रति कममात्रै चासो दिने, बैठक भेलाहरूमा जान आनाकानी गर्ने वा नरुचाउने तर प्रायः अनलाइनमा देखिने प्रवृत्तिले समाजलाई सही दिशामा लग्नेछैन । आफूले कुनै चुनौतीपूर्ण कार्य सम्पादन गर्दा आइपरेका समस्याहरूसित कसरी जुझ्नुपर्दछ भन्ने अनुभवको सार सम्प्रेषण गर्न वा समाजका लागि उपयोगी काम–कारबाही गरिएको अवस्थामा सोको जानकारी अन्य मानिसले पाऊन् र त्यसबाट सिकेर सार्थक जीवनयापनका लागि उपयोग गर्न सकून् भनेर सामाजिक सञ्जालको विकास हुनुपर्दछ ।
तर, अहिलेको नयाँ पुस्ताले सामाजिक सञ्जाललाई जति महत्व अरु कुनै कुरालाई दिन छोडेको हो कि भन्ने आभाष हुन्छ । आफ्नो गृहकार्य, अफिसको काम, खानासमेत समयमा नखाई फेसबुक, युट्युव आदिमा झुम्मिरहने जमातले कहिले आत्मनिर्भर तथा स्वावलम्बी भावना राखी समाज परिवर्तनका लागि काम गर्न सिक्ने हुन् भन्ने चिन्ता जोकोही सचेत नागरिकले गर्न थालेका छन् । सूचना तथा सञ्चारको युगमा सामाजिक सञ्जालको प्रयोगले समाजका हरेक तह र समूहका जनतालाई नयाँ–नयाँ विषयमा धेरै जानकार र सचेत तुल्याउने काम पनि नभएको होइन, तर सहीलाई झूट र गलतलाई मान्य बनाउनेजस्ता घृणित कार्य पनि सञ्जाल प्रयोगकर्ताबाट सजिलै भइआएकोे स्थितिलाई नकार्न मिल्दैन ।
समृद्धि नारा होइन, व्यवहार हो
हालैसालै नेपाल सरकारले ‘नयाँ युग आरम्भ’ भनी व्यापक प्रचार–प्रसार गरेको पाइन्छ । एसिया प्यासिफिक सम्मेलनको क्रममा काठमाडांैका पोल पोलमा सरकारले नयाँ युग सुरु भन्ने पोष्टर पनि टाँस्यो । उतिखेरै ‘सरकार भेटियो–न्याय भेटिएन’ भनी लेखिएको कञ्चनपुरकी बलात्कृत बालिका निर्मला पन्तको तस्बिर भएको पोस्टर अर्कातिर लहरै टाँस्ने काम भयो ।
त्यसैको रिसमा प्रधानमन्त्री केपी ओली एउटा अन्तर्वार्तामा सरकारलाई आलोचना गर्ने जोकोहीलाई दण्ड दिने चेतावनी दिए । बुद्धिजीवी वर्गलाई पनि नछोड्ने उनको अभिव्यक्तिले राजा महाराजाकै सामन्ती संस्कार प्रकट भयो । नयाँ युगको झ्याली पिट्ने ओली सरकारले चार चार महिना बितिसक्दा पनि निर्मला पन्तका बलात्कारी र हत्यारा फेला पार्न सकेन । एकातिर नयाँ युगको नारा दिने अर्कोतर्फ न्यायका लागि उठिरहेको आवाजलाई दबाउने अनि डलरको खेती गर्न देश र जनताप्रति आफ्नो कर्तव्य पूरा नगरी धर्म बेच्ने काम भइरहँदा कसरी सरकारले नेपाली जनतालाई नयाँ युगको आभाष दिलाउन सक्ला ? कम्युनिष्ट सिद्धान्तलाई मागी खाने भाँडो बनाउनेले नयाँ युगको कल्पना गर्नु हात्ती आयो हात्ती आयो भन्नेजस्तै हो । आफ्नै कार्यशैलीका कारण आफ्नै पार्टीका नेताहरूले बालुवाटारको बैठक बहिष्कार गरेको दृश्य कतै दुईतिहाइ बहुमतको कम्युनिष्ट सरकार प्रमुखको दम्भको कारण त होइन ?
त्यस्तै ‘भ्रष्टाचारप्रति शुन्य सहनशीलता’ भन्ने अभिव्यक्ति दिनेले देशको स्थानीय निकायदेखि प्रदेश र सङ्घीय तहसम्म चुँलिदै गरेको भ्रष्टाचार कसरी रोक्न सकिएन भन्ने प्रश्न तेर्सिएको छ । देश विकास आफूले गरेकै मात्र कामलाई मान्ने, युवा जनशक्तिलाई धमाधम कतार, मलेसिया र साउदीमा पठाउने अनि दिनमा एक छाक खान नपाउने गरिबले आइन्दा भोकै बस्न नपर्ने जस्ता सस्तो र चिप्लो कुरो गरेर अब कोही चोखो हुनेछैन । रोजा लक्जेम्वर्गले भने जस्तै कम्युनिष्टहरूले केबल दाल भात र डुकुको समस्या समाधानका लागि क्रान्तिलाई केन्द्रित गर्नुहुँदैन बरु सारा मानिसको सांस्कृतिक स्तर उकास्ने उँचो लक्ष्य र सोचका साथ काम गर्ने प्रण गर्नुपर्दछ । अनि मात्र कामदार वर्गले चाहेको व्यवस्था ल्याउन सकिन्छ । देशलाई विदेशी हस्तक्षेपबाट मुक्त गर्ने, भ्रष्टाचारी, कालाबजारी र नाफाखोर पँुजीपति वर्गका कालाकर्तुतबाट शोषित पीडित जनतालाई न्याय र मुक्ति दिने व्यवस्था नै नयाँ युग हो । निजीकरणलाई बन्द गरी उत्पादनका स्रोतसाधनहरू राष्ट्रियकरण गर्ने, सामाजिक आर्थिक समानता कायम गर्ने, भागबण्डाको राजनीति त्यागेर योग्यता र सक्षमताको आधारमा नियुक्ति दिने, बढुवा गर्ने आदि सोच राखेर काम गर्न सके साँच्चिकै सबैले नयाँ युगको अनुभूति गर्न पाउलान् ।
देश विकासका लागि एकले अर्काको खुट्टा तान्ने प्रवृत्ति तत्काल त्याग्न आवश्यक छ । नेताहरूले अबका दिनहरूमा आरोप–प्रत्यारोपको राजनीति छोड्नुपर्दछ । बोलीले भन्दा व्यवहारमा काम गरेर देखाउन सकेमात्र जनताको विश्वास जित्न सकिन्छ । समृद्धिको सपना बाँड्नेभन्दा पनि समृद्धिका आधारहरू खोजी आफ्ना गल्ती–कमजोरीहरू सुधार्दै दीर्घकालीन योजना बनाई त्यसको प्रभावकारी कार्यान्वयनमा प्रतिबद्ध रहने हो भनेमात्र नयाँ युग आरम्भ भएको मान्न सकिन्छ । शिक्षामा भइरहेको व्यापारीकरण बन्द गरी उत्पादन श्रमसित जोड्ने र देशमा दिनहुँ वृद्धि भइरहेको बेरोजगारी समस्या समाधानका लागि स्वदेशमै रोजगारीको बन्दोबस्त गर्ने, समाजका प्रत्येक नागरिकले आफूमाथि भएको जस्तोसुकै शोषणविरुद्धको हकको व्यवस्था हुने कानुन बनाउन सरोकारवाला सबै पक्षले ध्यान दिन सके हुँदाखानेहरूले नयाँ युगको अनुभव गर्नसक्थे । होइन भने, उही व्यवस्था, उही शोषण, उही पँुजीवादी चरित्र र संस्कार, उही सामन्ती हेपाहा सोच र निकृष्ट व्यवहारले सीमित पँुजीपतिहरूलाई बाहेक व्यापक नेपाली जनताको कुनै भलो गर्ने अवस्था देखिंदैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *