यिङस्युमा वैशाख १२ को सम्झना
- बैशाख ११, २०८३
राजधानीमा आइतबार आयोजित ‘समाजवादउन्मुख राज्य व्यवस्थामा जनस्वास्थ्य नीति’ विषय अन्तरक्रिया कार्यक्रममा स्वास्थ्य अभियानकर्ता चिकित्सकहरूले संविधानमा समाजवादउन्मुख राज्य उल्लेख भए पनि राज्यको स्वास्थ्य नीति समाजवादतिर भन्दा पनि बजारमा आधारित नवउदारवादी व्यवस्थातिर अघि बढिरहेको विचार राखे । समाजवादउन्मुख स्वास्थ्य नीतिको मूल आधार भनेको आर्थिक समानता हो । पैसा हुनेले राम्रो स्वास्थ्य सेवा पाउने अनि पैसा नभएका गरीबले आधारभूत स्वास्थ्य सेवा समेतबाट वञ्चित हुनुपर्ने अवस्था पुँजीवादी स्वास्थ्य नीतिको परिणाम हो । बजारमा जे वस्तुबाट बढी नाफा आउँछ, त्यसैलाई धेरै ध्यान दिनु र नाफा नकमाइने क्षेत्र महत्वपूर्ण भए पनि बेवास्ता हुने व्यवस्था नै बजारनिर्देशित व्यवस्था हो । बजारमा आधारित नीति कहिल्यै पनि समाजवादी नीति हुन सक्दैन । बजारले नाफा हेर्छ भने समाजवादले समाजको व्यापक हितलाई प्राथमिकतामा राख्छ ।
नेपालको संविधानमा समाजवादउन्मुख शब्द उल्लेख भए पनि स्वास्थ्य क्षेत्रमा समाजवादको रङ्ग आउने कुनै पनि नीति कार्यान्वयनमा छैन । नयाँ संविधान बनेयता देशमा स्वास्थ्य क्षेत्रमा समाजवादी अभ्यासको आभास हुने न कुनै नीति बनेको छ, न त्यसअनुसारको व्यवहार नै छ । पञ्चायतकालमा बनेका अस्पतालहरूले नै आज पनि सार्वजनिक स्वास्थ्य क्षेत्रको इज्जत धानिरहेको छ । सरकारी अस्पतालको दिनानुदिन रूग्न बन्दै गएको अवस्थालाई दिन दुुगुणा रात चौगुणाको दरले बढिरहेका नाफामुखी निजी अस्पतालले चुनौती दिइरहेका छन् । जनता गुणस्तरीय स्वास्थ्य सेवाको नाममा तिनै निजी अस्पतालको भरमा पर्न बाध्य छन् । निजी अस्पतालको सीमाहीन नाफाको अचानोमा गरिब जनता समेत पर्न बाध्य पारिएको छ ।
सरकारले केहीथरी औषधि निःशुल्क वितरणको प्रचारबाजी गरेको छ । तर ती अधिकांश त्यस्ता औषधि वितरण केन्द्रमा मुस्किलले भेटिन्छन् । भेटिएका औषधि पनि गुणस्तरहीन हुने गरेका छन् । अन्ततः बिरामी निजी औषधि पसलकै शरणमा जान बाध्य पारिएको छ । आइतबारको अन्तरक्रियामा सरकारले ल्याएको स्वास्थ्य बीमा कार्यक्रम पूर्णतः बजारमा आधारित भएको र वास्तवमै समाजवादी नीति लागू गर्न चाहेको भए अरू वैकल्पिक मोडलमा पछ्याउन सकिने विचार एक जना स्वास्थ्य अभियानकर्ता चिकित्सकले उठाए । समाजवादी कार्यक्रमको नाममा सरकारले लागू गरेको स्वास्थ्य बिमा कार्यक्रमले जनताको भन्दा पनि बजारको मागलाई बढी सेवा गर्ने उनको भनाइ थियो । केही चिकित्सकले समाजवादी देश क्युवाको स्वास्थ्य नीति अङ्गाल्न सकिने सम्भावनाबारे सरकारले कुनै चासो नराखेको बताए । नेपालबाट विदेशमा अदक्ष र अर्धदक्ष युवालाई सस्तो कामदारको रूपमा विदेशमा पठाउनुभन्दा नेपालबाट अब्बल चिकित्सकको रूपमा नेपाली युवालाई विभिन्न देशका जनताको सेवा लगाउन सक्ने देशको इज्जत पनि रहने अनि युवाले रोजगारी पनि पाउने विचारबारे पनि त्यहाँ छलफल भयो ।
समाजवादी स्वास्थ्य नीतिको विषयमा बहस गर्नुभन्दा पहिले नेपालको संविधानमा उल्लेखित समाजवादको मूल आशय कस्तो समाजवाद हो भन्ने बहस पनि कार्यक्रममा वक्ताहरूले चर्चा गरे । निःसन्देह समाजवाद कुनै सुत्र होइन । समाजवादको अन्धनक्कलले समाजवादी आन्दोलनको बदनाम मात्र गर्छ । समाजवाद देशको मौलिक परिस्थितिअनुसारको हुने गर्दछ । तर व्यापक कामदार जनताको हितमा स्थापना हुने समाजवादी व्यवस्थाका मूलभूत विशेषता समान हुने गर्दछन् । समाजवादी समाजको एउटा आधारभूत पक्ष भनेको जनताका आधारभूत पक्ष–शिक्षा र स्वास्थ्य क्षेत्र राज्यको दायित्वभित्र हुने गर्दछ । नेपाल समाजवादउन्मुख देश हो भने समाजवादले निर्दिष्ट गरेको निःशुल्क, समान र सर्वसुलभ स्वास्थ्य सेवा खोइ कहाँ छ ? राज्यले किन स्वास्थ्य र शिक्षाजस्ता आधारभूतलाई आफ्नो दायित्व मानेको छैन ? समाजवाद शब्दमा होइन, व्यवहारमा हुनुपर्दछ । व्यवहारमा समाजवादतर्फको यात्राको पहिलो पाइला भनेको स्वास्थ्य र शिक्षा क्षेत्र राज्यको दायित्वभित्र पूरा गर्नु हो ।
Leave a Reply