भर्खरै :

पाँच महिनामा ५२ आयोजनासँग विद्युत् खरिद सम्झौता

–रमेश लम्साल
काठमाडौं, २ पुस । नेपाल विद्युत् प्राधिकरणले चालू आर्थिक वर्षको पाँच महीनामा ५२ जलविद्युत् आयोजनाका प्रवद्र्धकसँग विद्युत् खरिद सम्झौता गरेको छ । प्राधिकरणका प्रवक्ता प्रबल अधिकारीका अनुसार विद्युत् खरिद सम्झौता भएका ती आयोजनाको क्षमता एक हजार ५१ मेगावाट रहेका छन् ।
प्राधिकरणले सम्झौता गरेको ती आयोजना निजी क्षेत्रले लगानी गर्न लागेका आयोजना हुन् । प्राधिकरणले उक्त आयोजनाका प्रवद्र्धकलाई यथाशक्य चाँडो वित्तीय व्यवस्थापन गरी निर्माणमा जान आग्रह गरेको छ ।
प्राधिकरणले चालू आर्थिक वर्षको पहिलो दिन अर्थात् गत साउन १ गते आरती पावर कम्पनीले भोजपुरमा निर्माण गर्न लागेको १४ दशमलब ५० मेगावाट क्षमताको माथिल्लो इरखुवा जलविद्युत् आयोजनासँग सम्झौता गरेको थियो ।
यस्तै संखुवासभामा आयोजनास्थल रहेको १२ मेगावाट क्षमताको दूधकुण्ड खोला, एक दशमलब पाँच मेगावाट क्षमताको माथिल्लो गडीगाड गरी कूल १६ आयोजनासँग सम्झौता गरेको छ । यस्तै गत भदौमा १३ आयोजनासँग विद्युत् खरिदसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ ।
प्राधिकरणकाअनुसार गत असोजमा ११ जलविद्युत् आयोजनाको प्रवद्र्धकसँग सम्झौता हुँदा कार्तिकमा तीन आयोजनाको प्रवद्र्धकसँग मात्र त्यस्तो सम्झौता भएको थियो । यस्तै मंसिरमा नौ आयोजनाको प्रवद्र्धक र प्राधिकरणबीच विद्युत् खरिद सम्झौता भएका थिए ।
पछिल्लो समयमा प्राधिकरणले विद्युत् खरिद सम्झौतामा पुनरावलोकन गरेको छ । सोही आधारमा पाँच हजार २५० मेगावाट क्षमतासम्म नदी प्रवाही आयोजनाको सम्झौता हुनेछ । यस्तै थप ७० मेगावाट क्षमताका १२ आयोजनासँग निकट भविष्यमा नै सम्झौता गर्ने तयारी गरिएको छ ।
प्राधिकरणले पछिल्लो दिनमा अर्धजलाशय प्रकृतिका आयोजनासँग सम्झौता गर्ने तयारी गरेको छ । गत मङ्सिर २५ गते ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री वर्षमान पुनको अध्यक्षतामा बसेको प्राधिकरण सञ्चालक समितिको बैठकले विद्युत् खरिद सम्झौता ‘टेक अर पे’ मा गर्ने निर्णय गरेको छ ।
आर्थिक वर्ष २०८४÷८५ सम्ममा १५ हजार मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्यलाई आधार मान्दै ५ हजार २५० मेगावाटसम्म नदी प्रवाही प्रकृतिका आयोजनासँग सोही आधारमा सम्झौता हुनेछ । यस्तै चार हजार ५०० मेगावाटसम्मका अर्धजलाशययुक्त प्रकृतिका आयोजनाको विद्युत खरिद सम्झौतासमेत ‘टेक अर पे’ गरिने प्राधिकरणले जनाएको छ ।
सरकारले आगामी १० वर्षमा १५ हजार मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य राखेको छ । त्यसका लागि सम्झौताको सीमासमेत तय गरिएको हो ।
वित्तीय व्यवस्थापन भई निर्माणका विभिन्न चरणमा रहेका आयोजनाको क्षमता दुई हजार ५०१ मेगावाट रहेको छन् । यस्तै वित्तीय व्यवस्थापन नभएका आयोजनाको क्षमता दुई हजार ५८१ मेगावाट रहेका छन् । हाल कूल ७६ आयोजनाबाट ५२० मेगावाट विद्युत् उत्पादन भएका छन् । ती आयोजना निजी क्षेत्रका हुन् ।
प्राधिकरणको केन्द्रीय प्रणालीमा एक मेगावाटभन्दा माथिका ७४ आयोजनाबाट एक हजार तीन मेगावाट विद्युत् जोडिएको छ । यस्तै एक मेगावाट क्षमताभन्दा कमका १५ आयोजनाबाट ११ दशमलब २४ मेगावाट विद्युत् जोडिएका छन् ।
प्राधिकरणको प्रणालीमा प्राधिकरण आफ्नै पाँच हजार ५४५ मेगावाट घण्टा, निजी क्षेत्रको चार हजार ९६७ मेगावाट घण्टा र भारतबाट आठ हजार ८४३ मेगावाट घण्टा विद्युत् उपलब्ध हुँदै आएको छ । कूल माग भने १९ हजार ३५५ मेगावाट घण्टा रहेको छ ।
रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *