भर्खरै :

साहित्यिक पत्रिका वर्गीकरणमा सरल मापदण्ड

काठमाडौँ, २ पुस । प्रेस काउन्सिल नेपालले साहित्यिक पत्रपत्रिकाको वर्गीकरण सरल बनाउन बेग्लै मूल्याड्ढन मापदण्ड तयार गरेको छ ।
काउन्सिलले सोमबार मापदण्डको मस्यौदामा नेपाल साहित्यिक पत्रकार सङ्घका पदाधिकारी र वरिष्ठ साहित्यिक पत्रकारसँग गरेको छलफलमा मूलधारका पत्रपत्रिकाभन्दा साहित्यिक पत्रपत्रिका विशेष प्रकृतिका हुने भएकाले फरक मापदण्ड ल्याएको जनाएको छ । लामो समयदेखि भाषा, साहित्य, संस्कृति, सङ्गीत र कला क्षेत्रलाई पत्रकारिताका माध्यमबाट योगदान दिने र नियमित प्रकाशन हुने मासिक, त्रैमासिक साहित्यिक पत्रिकालाई झञ्झट नहुने खालको मापदण्ड तयार गरिएको हो । त्यस्ता पत्रिकालाई वर्गीकरणका क्रममा दिइने अड्ढहरु अन्य पत्रिकाको तुलनामा बढी हुने प्रकारले मापदण्ड तयार गरिएको काउन्सिलका सञ्चालक सदस्य चेतनाथ धमलाले जानकारी दिनुभयो ।
नेपाल साहित्यिक पत्रकार सङ्का अध्यक्ष नगेन्द्रराज शर्माले साहित्यिक विधाका पत्रिकालाई प्रस्तावित मापदण्डले प्रोत्साहन मिल्ने र यसको सही कार्यान्वयन हुनुपर्नेमा जोड दिनुभयो । काउन्सिलका सदस्य गोपाल बुढाथोकीले आफ्नो गोजीको खर्चबाट पत्रिका निकालेर भाषा, साहित्यमा योगदान गरिरहेका पत्रपत्रिकालाई विशेष सहुलियत दिन विद्यमान ऐन, कानुन संशोधन गर्नुपर्ने भएमा पनि आफूहरुले सक्दो पहल गर्ने विश्वास व्यक्त गर्नुभयो ।
मधुपर्क, गरिमा, रचना, अभिव्यक्ति, जनमत, दायित्वजस्ता साहित्यिक पत्रिका सरकारी र निजीस्तरबाट विगत लामो समयदेखि नियमित प्रकाशित छन् । पत्रकारिताको थालनीको समयमा र पञ्चायतकालमा साहित्यिक पत्रिकाले पाठकका लागि अध्ययनका मुख्य आधार हुने गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *