मार्गनिर्देशनबारे भाइबहिनीलाई चिठी–६
- चैत्र ३०, २०८२
– चिन्मय
कोही क्रान्तिकारी हो वा होइन कसरी छुट्याउने ? प्रतिप्रश्न गर्न सकिन्छ, उसले स्तालिन र स्तालिनकालीन समाजवादी रूसलाई कसरी हेर्छ ? यसबाट उसको क्रान्तिकारिताको परिचय हुनेछ । कसरी ? हामी यहाँ स्तालिनको जीवनलाई बुझ्ने सानो कोसिस गर्छौँ ।
कालो सागर र क्यास्पियन सागरको बीचमा अवस्थित जर्जियामा एउटा सहर छ–तिफलिस । त्यहाँबाट उत्तर–पश्चिममा एउटा गाउँ थियो–गोरी । स्तालिन त्यहीँ जन्मनुभएको थियो । सन् १८७८ मा । उहाँका बुबा जुगाशभिल जुत्ता सिउनुहुन्थ्यो भने आमा अरूका घरमा घरेलु काम गर्नुहुन्थ्यो । सानो छँदा उहाँको नाम सोसो थियो । उहाँलाई पछि धार्मिक पाठशालामा भर्ना गरियो । यहीँबाट सुरु भयो, सोसोबाट स्तालिन बन्ने यात्रा । त्यसबेला जर्जिया रूसी राजा जारको साम्राज्यभित्र पथ्र्यो र धार्मिक पाठशालाहरू राजभक्त उत्पादन गर्ने केन्द्र थिए । सोसो निकै पढन्ते हुनुहुन्थ्यो । किताब उहाँको साथी थियो । उहाँ खाना खाने बेलासमेत पढ्नुहुन्थ्योे । उहाँ विज्ञान, साहित्य, समाजशास्त्र र अर्थशास्त्रसम्बन्धी किताब खोजीखोजी पढ्नुहुन्थ्यो । त्यसबेला तिफलिसमा पाइने अधिकांश पुस्तक उहाँले पढ्नुभएको थियो । उहाँले रूसी र युरोपेली साहित्य पढ्नुभयो, डार्विन र फाराडेका वैज्ञानिक खोजहरू बुझ्नुभयो । यसै सिलसिलामा उहाँले कार्ल माक्र्सजस्ता क्रान्तिकारीका पुस्तक पढ्नुभयो । उहाँ तिफलिसवरपर हुने क्रान्तिकारी गतिविधिबाट प्रभावित हुनुहुन्थ्यो ।
स्तालिन माक्र्सवादको वैज्ञानिकताबाट अति प्रभावित हुनुभयो । पन्ध्र वर्षको उमेरमा उहाँले माक्र्सवादी अध्ययन मण्डल गठन गरेर साथीहरूबीच माक्र्सवादी सहित्य पढ्ने र छलफल गर्ने काममा लाग्नुभयो । पाठशाला प्रशासनले राजनीतिक सोच सही नभएको आरोप लगाएर उहाँलाई पाठशालाबाट निष्काशित ग¥यो । त्यसपछि उहाँको औपचारिक शिक्षाको ढोका बन्द भयो । तर, उहाँको पुस्तक पढ्ने बानी जीवनभर रहिरह्यो । पछि रूसका सर्वोच्च नेता हुँदासमेत उहाँले पढ्ने काम भने छोड्नुभएन । उहाँका विरोधीहरू उहाँलाई कम पढेको भनी जुन आरोप लगाउँछन्, त्यसलाई शत्रुको ‘धर्म’ भनी बुझ्नुपर्छ । व्यवहारले यसलाई गलत साबित गरिसकेको छ ।
बेलायती दार्शनिक फ्रान्सिस बेकनले भनेका छन् “पढिमात्र रहनाले मानिस जुम्सो हुन्छ ।” स्तालिन जुम्सो बन्न चाहनुहुन्नथ्यो । त्यसैले उहाँ आफूले ठम्याएको सत्यको पथमा लाग्नुभयो । उहाँ रूसी नेता लेनिनको पार्टीमा आबद्ध हुनुभयो । उहाँ तिफलिस र आसपासका बाटुम, बाकुजस्ता ठूला सहरका क्रान्तिकारी गतिविधिमा भित्रभित्रै भाग लिन थाल्नुभयो । उहाँ विभिन्न उद्योग, रेलवे, बन्दरगाहमा काम गर्ने मजदुरबीच क्रान्तिकारी विचारको प्रसार र सङ्गठन निर्माणमा लाग्नुभयो । त्यसबेला उनको भूमिगत नाम थियो– कोबा । कुरा नचपाई बोल्ने, जस्तो जटिल विषयलाई पनि सजिलै बुझाउने क्षमता र तडकभडकबाट मुक्त सादा चरित्रका कारण उहाँलाई मजदुरहरू निकै आदर गर्थे ।
जारको शासनमा रूसी जनता तीन किसिमका अत्याचारले पिल्सिएका थिए । गाउँमा सामन्त र जमिनदारहरू किसानको रगत–पसिना चुस्थे । सहरमा पुँजीपतिहरू मजदुरको ढाड सेक्थे । जार, उसका भाईभारदार र सेनाप्रमुखहरूले बारम्बार छिमेकी देशमाथि गर्ने आक्रमणमा गरिबका घर–घरबाट सैनिक बनाएर लोग्नेमान्छे र वस्तुभाउसमेत लग्थे । साधारण सैनिकको जीवन पशुको जस्तै थियो । बहुसङ्ख्यक श्रमजीवी जनताको अवस्था फेर्न क्रान्ति आवश्यक थियो । तर, क्रान्ति व्यक्तिका लागि होइन र व्यक्ति विशेषले गर्दैन । क्रान्तिको लागि पूरै समाज तयार हुनुपर्छ । त्यसैले जनतालाई क्रान्तिकारी शिक्षाले दीक्षित गर्न जरुरी हुन्छ । स्तालिन यस्ता गतिविधिमा ज्यान फालेर लाग्नुभयो । उहाँ जनताले बुझ्ने भाषामा जनताको आँखा उघार्ने गरी पत्रिकामा लेख्नुहुन्थ्यो । आन्दोलनका मोर्चाहरूमा पुग्नुहुन्थ्यो । जनतालाई सङ्गठित गर्न रात्री कक्षा चलाउने काममा व्यस्त रहनुहुन्थ्यो । सोही शिलशिलामा जारका गुप्तचरहरू उहाँको पछि लाग्थे । उहाँ बारम्बार पक्राउ पर्नुहुन्थ्यो । उहाँलाई सजाय स्वरुप साइबेरिया (कालापानी) समेत पठाइएको थियो ।
स्तालिन कारागारमा कुँजिएर बस्नुभएन । उहाँ राजनीतिक बन्दीबीच काम गर्नुहुन्थ्यो र अध्ययनमा जुट्नुहुन्थ्यो । हरेक पटक जेल तोडेर भाग्न सफल भएका संसारकै दुर्लभ नेतामा उहाँ पर्नुहुन्छ । जनतामाझ काम गर्न जसरी पनि पुग्ने उहाँको स्वभाव थियो । त्यसैले पहिलो विश्व युद्धको सङ्घारमा जार सरकारले उहाँलाई उत्तरी ध्रुवनजिकको इलाकामा लामो र कठोर निर्वासनमा पठायो । पहिलो विश्व युद्धले रूसी जनताको दुःख झन् चर्काइदियो । मानिसहरू बेरोजगारी, भोकमरी र अभावले ग्रस्त थिए । जनताको चर्को असन्तोष हडतालमा बदलियो । देशका ठूल्ठूला सहरमा जुलुस, प्रदर्शन र हडतालहरू भए । अन्ततः सन् १९१७ मा फेब्रुअरी क्रान्ति भयो र स्तालिन निर्वासनबाट फर्कनुभयो ।
स्तालिन फर्केको केही समयमै उहाँ बोल्शेविक पार्टीका व्यावहारिक काममा जुटिहाल्नुभयो । उहाँले पार्टीको अखबार ‘प्राभ्दा’मार्फत जनतालाई जागरुक बनाउने काममा गति ल्याउनुभयो । उहाँको कलम धाराप्रवाह चल्न थाल्यो । उहाँ शोषकहरूको मात्र विरोध नगरेर पार्टीभित्रका खोटा विचारहरूलाई पनि खण्डन गर्नुहुन्थ्यो । उहाँ सैद्धान्तिक बहसलाई कुनै सैन्य कारबाहीभन्दा कम ठानुहुन्नथ्यो । पार्टी प्रकाशनको वितरण हजारौँबाट बढेर लाखौँ पुग्यो । भनिन्छ, रूसी जनताको समस्यालाई एउटै नारामा समेट्ने स्तालिन हुनुहुन्थ्यो । अखबारमा छापियो “रोटी, भूमि र शान्ति” अर्थात् मजदुरलाई रोटी, किसानलाई भूमि र सेनालाई शान्ति । बढ्दो मजदुर हडताल, सेनाको विद्रोह आदिले रूसमा संसारकै पहिलो व्यवस्थित समाजवादी क्रान्ति सम्पन्न भयो–सन् १९१७ को अक्टोबरमा । स्तालिन क्रान्तिको मोर्चामा हुनुहुन्थ्यो ।
क्रान्तिपछि पनि लेनिनले जटिल र गम्भीर जिम्मेवारीहरू स्तालिनलाई सुम्पनहुन्थ्यो । लेनिन भन्नुहुन्थ्यो, “यो काम स्तालिनले बाहेक कसले गर्न सक्ला ? क्रान्तिलगत्तै रूसका पुराना शोषक र साम्राज्यवादीहरू मिलेर रूसलाई घेरे । त्यसबेला स्तालिन युद्धको मोर्चा सम्हाल्न पुग्नुहुन्थ्यो । युद्धमा उहाँ जहाँ पुग्नुहुन्थ्यो, त्यहाँ नौलो जाँगरको सञ्चार हुन्थ्यो । युद्धमा उहाँले देखाउनुभएको बहादुरीकै कारण क्यास्पियन सागरभन्दा केही माथि भोल्गा नदीको पश्चिम तटस्थित सहरलाई ‘स्तालिनग्राड’ भनी नामाकरण गरिएको थियो । रूसी इतिहासमा ३ वर्षे गृहयुद्ध भनिने यस अवधिमै स्तालिनको नेतृत्वमा लालसेनाको गठन भएको थियो ।
लेनिनलाई गोली लागेर उहाँ थला पर्नुभएपछि पार्टीको जिम्मेवारी स्तालिनलाई सुम्पिइयो । लेनिन स्तालिनको सक्रियताबाट खुसी हुनुहुन्थ्यो । कोही भन्छन्, १९२२ मा सम्पन्न बोल्शेविक पार्टीको १२ औँ महाधिवेशनमा लेनिनले स्तालिनलाई दुत्कार्दै अराजकतावादी त्रोत्स्की र बुखारिनहरूको प्रशंसा गरेका थिए । ए. सखारोभ नामका एक रूसी विद्वानले लेनिनले महाधिवेशनलाई लेख्नुभए भनिएको सो कथित इच्छापत्र फर्जी थियो भनी पुष्टि गरेका छन् । यसमा त्रोत्स्कीहरूको हात थियो भनी औँल्याइसकेका छन् । स्तालिनसामु अब कृषिमा आधारित रूसलाई पुँजीवादी औद्योगिक देशहरूकै दाँजोमा पु¥याउनुपर्ने जिम्मेवारी थियो । किनभने रूसको क्रान्तिलाई दबाउन खोज्ने साम्राज्यवादीहरू चुप लागेर बस्नेवाला थिएनन् । उनीहरू पहिलो विश्वयुद्धपछि फैलिएको आर्थिक मन्दीले गर्दा नै केही वर्ष अल्झिएका थिए ।
स्तालिनले रूसको कायापलट गर्न सन् १९२९ मा आवधिक विकास योजनाको प्रस्ताव गर्नुभयो । संसारमै यो नौलो प्रयोग थियो । त्यसपछि रूसमा ठूल्ठूला उद्योगधन्दाको विकास भयो । सामूहिक खेती र वैज्ञानिक उपकरण आदिको प्रयोगले कृषि उत्पादनमा ठूलो वृद्धि भयो । हिजोसम्म शोषकहरूका भण्डार भर्न विवश रूसी जनताले यस अभियानमा देखाएको उत्साहबारे अमेरिकी पत्रकार अन्ना लाउस स्ट्रङको पुस्तक ‘स्तालिनको युग’ मा बेलिबिस्तार लगाउनुभएको छ । सन् १९३९ सम्म आइपुग्दा रूस एक सम्पन्न औद्योगिक देश बनिसकेको थियो । अमेरिका र युरोपका धेरै देशहरू कमजोर उपनिवेशहरूका स्रोतसाधन चुसेर सम्पन्न भएका थिए । उपनिवेशका स्रोतसाधन नलुटिकन औद्योगीकरण गरेर सोभियत समाजवादले संसारमै एउटा आदर्श प्रस्तुत ग¥यो ।
यसबीच पुँजीवादी संसार आर्थिक मन्दीको मारमा छट्पटिरहेको थियो भने जर्मनी संरा अमेरिकी पुँजीपतिहरूको मद्दतले एक सैन्य राष्ट्रको रूपमा उदाउँदै थियो । जर्मनीले छिमेकी देशहरूमा गुप्तचरीको जालो फैलाएको थियो । सोभियत सङ्घमा पनि भित्रभित्र निकै भयानक ढङ्गले यस्तो जालो फैलिएको कुरा सन् १९३४ मा थाहा भयो । पार्टीका नयाँ पुस्ताका नेता र स्तालिनका भरपर्दा सहयोगी सेर्गेइ किरोभको दिनदहाडै हत्या भयो । यस हत्याकाण्डपछि पार्टीभित्र शुद्धीकरण थालियो ।
हरेक दिन घर बढारेजस्तै कम्युनिष्ट पार्टीमा शुद्धीकरण एक नियमित प्रक्रिया हो । बोल्शेविक पार्टी, प्रशासन र सेनाको निकै भित्री तहसम्म विदेशी गुप्तचरहरू पसेको थाहा भयो । पार्टीका संस्थापनविरोधी त्रोत्स्की र बुखारिनका गुटहरू गुप्तचरीका अखडा बन्न पुगेको छानबिनले देखायो । साम्राज्यवादी देशहरू आर्थिक मन्दीको मारबाट बच्न युद्धको बाटोमा जम्जमाइरहेको बेला देशघातीहरूलाई निर्मूल गर्नु नितान्त आवश्यक थियो । त्यसैले केही हजार देशद्रोही नेता र कार्यकर्ताहरूमाथि कारबाही भयो । कतिपयलाई मृत्युदण्ड दिइयो । आजका केही विद्वानहरूको अनुसन्धानले रूसी समाजवादमाथि संशोधनवादको पहिलो बन्चरो हान्ने ख्रुश्चेभलाई बुखारिन गुटका सदस्य रहेको देखाएको छ ।
फासीवादी हिटलरको पोल्याण्ड आक्रमणसँगै दोस्रो विश्वयुद्ध सुरु भयो । यो युद्ध रूससम्म आइपुग्ने रूसी गुप्तचरहरूको रिपोर्ट थियो । त्यसैले यसलाई सकेसम्म पछि सार्न रूसी परराष्ट्रमन्त्री मोलोतोभले जर्मनीसँग अनाक्रमण सन्धि गरे । यसबीच रूसमा युद्धको आवश्यक तयारी बढाइयो । महत्वपूर्ण उद्योगधन्दाहरू युराल पर्वतभन्दा पूर्वमा सारियो । विद्यार्थी, विद्वान, वैज्ञानिक आदिलाई पनि त्यतै पठाइयो । युराल पर्वतभन्दा पश्चिमको रूसलाई युद्धमोर्चामा फेर्दैगर्दा अमेरिका र बेलायतजस्ता साम्राज्यवादीहरूको उक्साहटमा हिटलरले मोलोतोभ रिबेन्ट्रोप सन्धिको उल्लङ्घन गर्दै सन् १९४१ को जून महिनामा रूसमाथि आक्रमण ग¥यो । स्तालिनलाई युद्धको ‘सर्वोच्च मार्शल’ चयन गरियो । यस विषयमा साम्राज्यवादी बदनियत अमेरिकी राष्ट्रपति ह्यारी त्रुमेनको विचारबाट प्रष्ट हुन्छ । अमेरिकी सिनेटमा उनले सन् १९४१ मा भनेका थिए, “जर्मनीले जित्दै गयो भने हामीले रूसलाई सहयोग गर्नुपर्छ र रूसले जित्दै गएमा हामीले जर्मनीलाई सहयोग गर्नुपर्छ । यसरी उनीहरूलाई धेरैभन्दा धेरै मानिस मार्न दिनुपर्छ ।”
सन् १९४१ सम्म हिटलरको आक्रमणले युरोप पनि हायलकायल भइसकेको थियो । युरोपेली नेताहरूले रूसलाई मात्र होइन, सारा संसारलाई अब कसैले जोगाउन सक्दैन भनी हात बाँधेका थिए । जर्मन सेनाले मस्कोमाथि हमला गर्दा स्तालिन युद्धमोर्चामा हुनुहुन्थ्यो । त्यहाँ असफल भएपछि जर्मन सेना स्तालिनग्राडमा लड्न हानियो । स्तालिनग्राडको लडाइँमा रूसी जनताले अकथनीय दुःख भोगे । बेलायती प्रधानमन्त्री चर्चिलले भनेका थिए, “त्यहाँ जर्मनीका हतियार नखिइँदासम्म मान्छे मारे ।” यो लडाइँमा जसको जीत हुन्छ उसैले संसारको भाग्य निर्धारण गर्नेमा संसारभरका जनता र नेता विश्वस्त थिए । मानिसहरू त्यस लडाइँका समाचार दैनिक पढ्थे । आफ्ना जीवनका आखिरी दिनमा कवि रवीन्द्रनाथ टैगोरको चासोको विषय थियो स्तालिनग्राडको लडाइँ । स्तालिनले सेनालाई एक कदम पनि पछि नहट्ने निर्देशन दिनुभएको थियो । सन् १९४३ को फेब्रुअरीमा लालसेनाले हजारौँ जर्मन सेनालाई घेराबन्दीमा पारेर हरायो ।
स्तालिनग्राडको लडाइँ प्रतिरोधको बिम्ब बन्यो । लालसेना हिटलरका सेनालाई लखेट्दै १९४५ को जुन महिनामा जर्मनी पुग्यो । वास्तवमा युद्धमा मरिएका जर्मन सेनामध्ये ९० प्रतिशत रूसमै मरेका थिए । अन्य मोर्चामा पनि फासीवादी गठबन्धन हार्दै गयो । जापानमा अणुबमको विस्फोटसँगै दोस्रो विश्वयुद्ध सकियो । युद्धमा रूसका साढे दुई करोड जनता सहिद भए । यस युद्धमा स्तालिनले मात्र संसारलाई जोगाउन सक्नुहुन्छ भनेर चर्चिलले भनेका थिए । त्यस्तै अमेरिकी राष्ट्रपतिले लेखेका पत्रहरूमा स्तालिनग्राडको लडाइँले नै युद्धको धार उल्टाइदिएकोमा स्तालिनको उच्च प्रशंसा गरेका थिए । यस युद्धका सबै रूसी रणनीतिहरूमा स्तालिनको प्रत्यक्ष निर्देशन रहेको प्रसिद्ध रूसी मार्शल झुकोभले बताएका छन् । युद्धलगत्तै बनाइएको ‘स्तालिनग्राड’ नामक रूसी चलचित्रमा यो कुरा राम्ररी देखाइएको छ ।
विश्वयुद्धको अन्त्यसँगै युरोपमा निराशा र अकर्मण्यताको निरस हावा फैलियो । यता रूसमा भने नयाँ पञ्चवर्षीय योजना चालु गरियो । सन् १९५० सम्ममा रूस युद्धबाट तङ्ग्रिसकेको थियो र अणुबमको साम्राज्यवादी त्रासबाट संसारलाई मुक्त गर्न हाइड्रोजन बमबारे अनुसन्धानमा धेरै सफलता पाइसकेको थियो । युद्धपछि रूसविरोधी गतिविधिमा लागेकोले चुनावमा बेलायती सैनिकले नै चर्चिललाई हराए । चिढिएका चर्चिल अमेरिकाको फुल्टनमा गए र शीतयुद्ध सुरु गर्नेगरी ‘फलामे पर्दा’ नामले कुख्यात भाषण गरे । हिटलरको भाषणको झल्को दिनेगरी उनको भाषणमा गोरो छाला हुनेहरूको जातीय सर्वोच्चता र एकताको आह्वान थियो । यो एकप्रकारको फासीवादी विचार थियो । स्तालिनले त्यसको प्रतिवादमा संसारलाई नडराउन हिम्मत दिनुभयो र नयाँ फासीवादी विचारलाई चुनौती दिनुभयो । संसारभर स्तालिन र सोभियत सङ्घको प्रशंसा भएको साम्राज्यवादीहरूलाई सह्य भएन । त्यस्तै संशोधनवादीहरूसमेत यसलाई रोक्नुपर्नेमा लागिपरेका थिए । यसैबीच स्तालिनको हत्या योजना पार्टीभित्रका षड्यन्त्रकारी गुटबाटै बुनियो । यस्तै षड्यन्त्रमा षड्यन्त्रकारीहरूले गोर्कीजस्ता नामी व्यक्तिहरूको समेत हत्या गरेको कुरा अहिले क्रमशः खुल्दैछ । डाक्टरमार्फत विषको प्रयोग गरी महत्वपूर्ण बोल्शेविक नेताहरूको हत्या गर्ने षड्यन्त्र ती गुटले धेरै पहिलेदेखि बुन्दै आएका थिए । यस्तै षड्यन्त्रबाट स्तालिनको हत्या भयो–सन् १९५३ मा ।
स्तालिनको हत्या गर्ने गुट सोभियत कम्युनिष्ट पार्टीमा लुकिबसेका संशोधनवादीहरू नै थिए । १९५६ मा सम्पन्न बोल्शेविक पार्टीको २० औँ महाधिवेशनमा स्तालिनमाथि लाञ्छना लगाउने अभियान थाल्यो–संशोधनवादी गुटले । स्तालिन जीवनभर चाप्लुसी र झूटो प्रशंसाका विरोधी हुनुहुन्थ्यो । संशोधनवादीहरूले ‘उहाँको पूजा हुन्थ्यो’ भनी संसारभरका कम्युनिष्टका आँखामा धुलो हाल्ने कोसिस गरे । क्रान्तिकारीहरूले संशोधनवादीहरूको हल्लाको त्यसबेलै विरोध गरे । सिद्धान्तमा पकड नभएकाहरूले भने निराश हुँदै कम्युनिष्ट पार्टी त्यागे ।
स्तालिनले कुनै बेला भन्नुभएको थियो, “मलाई थाहा छ, मेरो मृत्युपछि ममाथि फोहोर फालिनेछ तर इतिहासले त्यो फोहर उडाएर लैजानेछ ।” स्तालिनमाथि फालिएको फोहर उड्न थालिसकेको छ । उहाँबारे अनेक इमानदार अनुसन्धान पनि भएका छन् । हालसम्म प्राप्त तथ्यहरू नै उहाँ कति सही हुनुहुन्थ्यो भनी प्रमाणित गर्न पर्याप्त छन् ।
दोस्रो विश्वयुद्धपछि चर्चिलले संसारको बाँडफाँट गर्नुपर्ने प्रस्ताव गरे । जर्मनीलाई ५ टुक्रामा विभाजित गर्नुपर्ने अमेरिकी राष्ट्रपति रुजवेल्टले प्रस्ताव गरे । स्तालिनले यसको विरोध गर्दै भन्नुभयो, “हिटलरहरू आउँछन्, जान्छन् तर जर्मन जनता र जर्मन राज्य रहिरहनेछ ।” साम्राज्यवादीहरू हच्किए । एक समाजवादी देशको त्यसमाथि स्तालिनको नेतृत्वको कारण एसिया, अफ्रिका र दक्षिण अमेरिकाका धेरै उपनिवेशहरू मुक्त हुँदै गए । रूस नभएको भए आजका कतिपय युरोपेली देश विश्वको नक्साबाट उहिल्यै गायब हुन्थे । स्तालिनबाट प्रेरित धेरै व्यक्तिहरू नामी क्रान्तिकारी बने । चे ग्वेभारा यसका चम्किला उदाहरण हुन् । कुनै बेला बेलायतका परराष्ट्रमन्त्री एन्थोनी इडनले भनेका थिए, “सौर्यमण्डलका नौवटा ग्रहका मानिसहरूको कूटनीतिक बैठक भयो भने स्तालिनले मात्र सारा पृथ्वीवासीको प्रतिनिधित्व गर्न सक्नेछन् ।”
स्तालिन आज हरेक कम्युनिष्ट पार्टीको अग्निपरीक्षा बन्नुभएको छ । उहाँको व्यक्तित्व र योगदानको पथमा होमिनेहरू क्रान्तिकारी धारबारे प्रायः ढुलमुले छैनन् । स्तालिनका ‘नकाम’ बारे भ्रम राख्नेहरू यदि इमानदार छन् भने हालै भएका अनुसन्धानहरू पढून् र आफ्नो ज्ञानलाई अद्यावधिक गरून् । तर, संशोधनवादी र साम्राज्यवादी लहैलहैमा उहाँको बदख्वाइँ गर्नेहरू त रुढीवादी हुन् । उनीहरू हिजो पनि स्तालिनबाट त्रसित थिए । आज पनि तर्सिन्छन् । अझै अर्को युगसम्म तर्सिनेछन् ।
Leave a Reply