भर्खरै :

साम्यवाद नमान्ने कसरी साम्यवादी ?

सत्तासीन नेकपाको चालु बैठकमा प्रस्तुत विधान संशोधन प्रस्तावमा ‘साम्यवाद’ शब्द नै हराएको समाचारले मिडियामा राम्रै ठाउँ पाए पनि यसमा नयाँपन भने छैन । यसले केही पूर्वकथनलाई प्रमाणितसम्म भने गरेको छ । नाममा ‘कम्युनिष्ट’ शब्द जडे पनि नेकपा ‘कम्युनिष्ट पार्टी’ नरहेको यथार्थलाई विधानबाट ‘साम्यवाद’ हराउनुले प्रमाणितसम्म गरेको छ ।
नेकपाको बीऊ एमालेले यसअघि पनि बल्खु कार्यालयमा संरा अमेरिकी राजदूत भ्रमणमा आउँदा कार्ल माक्र्स, फ्रेडरिक एंगेल्स, लेनिन, स्तालिनका तस्वीर ‘भण्डारकक्ष’भित्र ठन्काएका थिए । त्यसो त एमालेका पूर्वअध्यक्ष मनमोहन अधिकारीले एमालेले आफ्नो नाममा टे«डमार्कको रूपमा मात्र ‘कम्युनिष्ट’ शब्द राखेको बताएको धेरैलाई सम्झना छ । एमालेले आफ्नो मौलिक चिन्तनको रूपमा व्याख्या गर्दै आएको ‘जनताको बहुदलीय जनवाद’ विश्व कम्युनिष्ट आन्दोलनमा देखापरेको संशोधनवादी नीतिकै प्रभाव भएको विषयमा सैद्धान्तिक छलफल चलेको आज होइन ।
कुनै पनि फल एकै दिनमा कुहिने गर्दैन । क्रमशः कुहिने गर्छ । एमालेले साम्यवादी सिद्धान्त त्याग्न थालेको आज होइन । जनताको बहुदलीय जनवादको सिँढी चढेर पुँजीवादी सरकारमा सामेल हुने बाटो खोलेसँगै एमाले साम्यवादबाट पछि हट्दै गएको थियो । तर नेपालको राजनीतिक भूगोलमा पुँजीवादी प्रजातन्त्रको वैचारिक जगमा राजनीति गर्ने नेपाली काङ्ग्रेस नै रहेको अवस्थामा जनताबीच अलग्ग राजनीतिक परिचय दिन मात्र एमालेले ‘कम्युनिष्ट’ शब्दको सहारा लिनुपरेको थियो । त्यसैकारण एमालेले पुँजीवादी प्रजातन्त्रवादी पार्टी भएर पनि ‘कम्युनिष्ट’ शब्द जप्न छोडेको छैन ।
अर्कोतिर सशस्त्र युद्धको अराजकतावादी वैचारिक आधारबाट राजनीतिको मूलधारमा आएको माओवादीको अन्तिम नियति दक्षिणपन्थी अवसरवाद नै थियो । उग्रवामपन्थको अन्तिम शिविर दक्षिणपन्थी अवसरवाद नै हो । एमालेसँग एकता गर्नुले पनि माओवादीमा दक्षिणपन्थी स्खलन प्रष्ट भइसकेको थियो ।
आज यिनै दुई पार्टीको मिलनबाट जन्मेको नेकपाले साम्यवाद त्याग्नु कुनै नयाँ र अस्वाभाविक कुरा होइन । यसो गर्दा बरू ऊ एक अर्थमा जनतासामु स्पष्ट हुन खोजेको देखिएको छ । आफू हुँदै नभएको कुरा झुटो रूपमा प्रस्तुत गरिरहनुभन्दा आफू जे हो त्यही देखाउनु तुलनात्मक रूपमा इमानदार हुनु हो । अब नेकपाले आफ्नो नामबाट ‘कम्युनिष्ट’ शब्द पनि झिक्दा ऊ जनतासामु अझ इमानदार बनेको ठहरिनेछ ।
संसारका धेरै कम्युनिष्ट पार्टीले आफ्नो नाम बदलेर समाजवादी वा प्रजातन्त्रवादी राखेका छन् । युरोपमा कुनै बेला कम्युनिष्ट भनिएका राजनीतिक दल आज ग्रिन पार्टी वा समाजवादी पार्टी बनेका छन् । त्यसकारण नेकपाले आफ्नो नाम परिवर्तन गर्नमा लाज वा अप्ठ्यारो मान्नुपर्ने कुनै कारण छैन । बरू उसले त्यसो गर्दा जनतालाई राजनीति बुझ्न सहज हुने आशा गर्न सकिन्छ ।
‘कम्युनिष्ट’ शब्द ‘कम्युनिज्म’ शब्दबाट बनेको हो । ‘कम्युनिज्म’को नेपाली शब्द ‘साम्यवाद’ र ‘कम्युनिष्ट’को नेपाली शब्द ‘साम्यवादी’ हो । विधानमा ‘साम्यवाद’ शब्द नराख्नेले आफूलाई ‘साम्यवादी’ वा ‘कम्युनिष्ट’ शब्द प्रयोग गर्नु त धूर्तता मात्रै हो । केही नेताले विरोध गरे पनि विधानबाट संस्थापन पक्षले ‘साम्यवाद’ शब्द निकाल्नु संयोग वा भूलवश मात्र कदापि हुनसक्दैन । भूल भनेको एकपल्ट हुनसक्छ । सानातिना कुरामा भूल हुनसक्छ । तर पटक–पटक आधारभूत विषयमा नै भूल हुन सक्दैन । नेकपाले ‘साम्यवाद’ शब्द निकाल्नु भूल होइन, बरू उसले तयारीका साथ नै त्यसो गरेकोमा भ्रम राख्न आवश्यक छैन । साम्यवाद नै नमान्ने साम्यवादी कसरी हुनसक्छ ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *