भर्खरै :

वागीश्वरी कलेजको छैटौं साधारणसभा

भक्तपुर, १० पुस । वागीश्वरी कलेजको छैटौं वार्षिक साधारणसभा मङ्गलबार सम्पन्न भएको छ ।
साधारणसभामा भक्तपुर नगरपालिकाका प्रमुख एवं वागीश्वरी कलेज व्यवस्थापन समितिका अध्यक्ष सुनिल प्रजापतिले भक्तपुर शैक्षिक केन्द्रको रूपमा विकास भइरहेको बताउँदै यस वर्षमात्र देशका विभिन्न ३१ नपाका मेयर, उपमेयर भक्तपुरको शैक्षिक अवलोकन भ्रमणमा आएको जानकारी दिनुभयो ।
नाफामुखी नभई सेवामुखी भावनाले कलेज सञ्चालन भइरहेको बताउँदै उहाँले कलेजलाई सङ्ख्यात्मकमात्र नभई गुणात्मक दृष्टिले पनि हेर्नुपर्छ भन्नुभयो ।
गरीब तथा जेहेनदार विद्यार्थीलाई प्रशस्त छात्रवृत्ति प्रदान गर्दै आर्थिक हिसाब पारदर्शी गर्दै आइरहेको कलेज सामूहिक भावनाका साथ अघि बढिरहेको उहाँले बताउनुभयो ।
वागीश्वरी माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रवीन्द्र ज्याख्वले कलेजका सकारात्मक पक्षलाई बढीभन्दा बढी सार्वजनिक गर्दै अघि बढ्नुपर्ने सुझाव दिनुभयो ।
पूर्वविद्यार्थी एवं प्रदेश नं.३ का सांसद सृजना सैंजूले विद्यार्थीहरूलाई शैक्षिक गुणस्तर सँगसँगै राजनीतिक रूपमा पनि सबल बनाउँदै लग्नुपर्ने आवश्यकता औंल्याउनुभयो ।
साधारणसभाको बन्दसत्रले कलेजका प्राचार्य धनकुमार श्रेष्ठले प्रस्तुत गर्नुभएको वार्षिक प्रगति प्रतिवेदन २०७५ (संशोधनसहित) र नवगठित व्यवस्थापन समिति, कलेजको आ.व. २०७४÷०७५ को लेखा परीक्षण प्रतिवेदन पारित गरेको थियो ।
कार्यक्रममा कलेजका सल्लाहकार बुद्धिकुमार गोसाईको पनि उपस्थिति थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *