भर्खरै :

जनताबीच सांसद “शासक दलले जनतालाई धोखा दिए”

भक्तपुर १३, पुस । ‘‘सरकारले काठमाडौँ उपत्यकाकै दशरथ रङ्गशाला र सात दोबाटोस्थित खेलकुद कम्प्लेकस मर्मत सम्भार गरेको छैन । भूकम्पमा क्षति भएका देशभरिका रङ्गशालाहरु पनि मर्मत भएको छैन । रङ्गशालाको लागि ठाउँ सिफारिस गरेकै आधारमा रु. ५० लाख बजेट भ्रष्टाचार गर्न लागेकाहरु भक्तपुरमा अन्तर्राष्ट्रिय स्तरको रङ्गशाला राख्ने कोसिस गर्दैछन् । काठमाडौँ उपत्यकामा अन्तर्राष्ट्रिय स्तरको रङ्गशाला राख्ने ठाउँ छैन । भक्तपुरको ताथली र सिपाडोलमा रङ्गशाला बनाइए हजारौँ मानिस विस्थापन हुनेछन् । त्यस्तो जनविरोधी काम नगर्न संसदमा आवाज उठाएका छौँ ।’’
उक्त भनाइ नेपाल मजदुर किसान पार्टीका सचिव एवम् सांसद पे्रम सुवालले शुक्रबार सिपाडोलमा भएको ‘जनतासँग सांसद’ कार्यक्रममा व्यक्त गर्नुभएको हो ।
उहाँले भन्नुभयो, ‘‘ओलीले प्रचण्डलाई एक–दुई अर्बको लागि आन्दोलनमा लाग्ने र कायर बताएका थिए । प्रचण्डले ओलीलाई मानसिक सन्तुलन बिग्रेका र भारतवादी तथा राजावादी बताएका थिए । अहिले एमाले र माओवादीको एकताको ‘नेकपा’ को ती दुवै अध्यक्ष बने । यो पत्याउन गा¥हो हो ।’’
ओली सरकारले सुन तस्करका ‘ठूला माछो’ पक्राउ गर्न नसकेको वास्तविकता चर्चा गर्दै सचिव सुवालले भन्नुभयो, ‘‘समयमा काम पूरा नगर्ने खराब ठेकेदारलाई र खाडी मुलुकमा बेचबिखन गर्नेहरुलाई यो सरकारले कारबाही गर्न सकेनन् ।’’
उहाँले भन्नुभयो, ‘‘बालिका निर्मला पन्तको बलात्कारपछि हत्या गर्ने अपराधीहरु सरकारकै संरक्षणमा रहेकाले पक्राउ गरिएन । दुई वटा वाइडबडी खरिदमा रु. आठ अर्ब भ्रष्टाचार भएको सार्वजनिक भयो ।’’
‘‘ओली सरकारले भारतको दबाबमा जन्मको आधारमा नेपाली नागरिकता पाएकाका सन्तानलाई वंशज नेपाली नागरिकता दिने र तराई–मधेश अलग बनाउने गरी संविधान संशोधन गर्दैछन् । यस्तो सरकार देश र जनताको हुनसक्दैन’’, उहाँले स्पष्ट पार्नुभयो ।
नेमकिपा सूर्यविनायक नगर समितिका संयोजक सूर्यभक्त त्वातीले स्थानीय सरकारमा ठेक्कापट्टालाई जोड दिएर कमिसन खाने र भ्रष्टाचार गर्ने प्रवृत्ति व्याप्त हुँदै आएकोमा सचेत नागरिकले विरोध गर्नुपर्ने विचार राख्नुभयो ।
प्रस्तावित रङ्गशाला पीडित सङ्घर्ष समितिका संयोजक हरिकृष्ण दनेगुलुले जनताको पीर मर्का नबुझी, जनतालाई नै उठिवास गराउने गरी रङ्गशालाको निम्ति सांसददेखि वडाध्यक्षसम्म दौडधूप गर्नुले यिनीहरु जनताको मतले होइन पैसाले चुनाव जितेका हुन् भन्ने प्रस्ट भएको बताउनुभयो ।
नेमकिपा सूर्यविनायक ८ वडा समितिका अध्यक्ष श्यामसुन्दर सुवालको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा समितिका रोशन मचामसी र उमेश सेजुवालले पनि बोल्नुभएको थियो ।
सिपाडोल क्षेत्रलाई कृषि पकेट क्षेत्र घोषणा गरी आवश्यक पूर्वाधार र सिंचाइको उचित बन्दोबस्तका निम्ति आवश्यक पहल गर्न उपस्थित जनसमुदायले सांसद प्रेम सुवाललाई अनुरोध गरेका थिए ।
गुण्डुमा पनि ‘जनतासँग सांसद’ सूर्यविनायक नगरपालिका गुण्डुमा पनि बिहीबार जनतासँग सांसद कार्यक्रम सम्पन्न भयो ।
उक्त कार्यक्रममा नेमकिपाका सचिव तथा सांसद प्रेम सुवालले सरकारमा गएका पार्टीहरूले निर्वाचनको समयमा पार्टीका घोषणापत्र र कार्यक्रमबारे शिक्षित नगराएको बरू झुठा आश्वासन बाँडेर जनतालाई झुक्याएको बताउनुभयो ।
एमाले र माओवादीको एकता सिद्धान्तमा आधारित एकता नभएको चर्चा गर्नुहुँर्दै सांसद सुवालले भारतीय प्रम मोदीका विशेष दूतको रूपमा भारतीय विदेशमन्त्री सुस्मा स्वराजसँग होटल सोल्टीमा ओली र प्रचण्डसँग एक्लाएक्लैको भेटपश्चात वर्तमान सत्ता गठबन्धनको खाका तयार भएको बताउनुभयो ।
उद्योगमन्त्री मातृका यादवले यसअघिका उद्योगमन्त्रीहरूले उद्योगी–व्यापारीसँग चन्दा उठाएर खानुका साथै भएका सार्वजनिक उद्योगहरू पनि कमिसन खाएर सस्तोमा बेचेको भन्ने भनाइबारे चर्चा गर्नुहुँदै उहाँले नेमकिपाले संसद र सडकमा शिक्षा, स्वास्थ्य निःशुल्क, स्वदेशमा रोजगारी, उत्पादनका मुख्य मुख्य साधन र सेवा सामाजिकीकरणको लागि सङ्घर्ष गरिरहेको बताउनुभयो ।
सुवालले बालिका निर्मला पन्तको बलात्कारपछि हत्या गर्ने अपराधीहरूलाई सरकारले नै संरक्षण गरिरहेको बताउनुभयो ।
नेमकिपा भक्तपुर जिल्ला समितिका सदस्य महेन्द्र खायमलीले नेपाली युवालाई स्वदेशमै रोजगारी दिनुको सट्टा विदेशमा जान प्रोत्साहित गरेर नेपाललाई ज्येष्ठ नागरिकको मात्र देशमा बदल्न खोजेको बताउनुभयो ।
कार्यक्रममा नेमकिपा सूर्यविनायकका कृष्णलाल न्हेम्हाफुकी र शिवबहादुर खुलीमुली पनि बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *