भर्खरै :

बनेपामा स्तालिन र माओ दिवस

बनेपा, १३ पुस । ज्योती एकेडेमी सेकेण्डरी स्कुल बनेपामा सर्वहारा वर्गका महान नेता स्तालिनको १४० औं र माओको १२५ औं जन्मदिवसको अवसरमा विचार गोष्ठी शुक्रबार सम्पन्न भयो ।
शिक्षक त्रिरत्न साय्मीले विश्व क्रान्तिकार महानायकहरूको जीवनी अध्ययन गर्दा देशभक्ति भावनाको विकास हुने र चेतना अभिवृद्धि हुने बताउनुभयो । चिनियाँ भूमि र परिस्थितिअनुसार माओ त्सेतुङको सवल र रणकौशल नेतृत्वमा चीनमा समाजवादी क्रान्ति सफल हुनुका साथै आज चीन विश्वकै सम्पन्न मुलुक भएको उहाँले बताउनु भयो ।
शिक्षिका तारा न्यौपानेले स्तालिन सोभियत समाजवादी क्रान्तिको नेता भएको बताउँदै स्तालिनको नेतृत्वमा हितलरजस्ता फासीवादीलाई परास्त गरेको स्मरण सुनाउनुभयो ।
सन् १९१७ को अक्टोबर समाजवादी क्रान्तिको टोपको गर्जनले संसारमा नै क्रान्तिको लहर फैलाएको उहाँले बताउनुभयो ।
नयाँ पुस्ता सचेत नभए प्रतिक्रियावादीहरूले प्रतिक्रान्ति गर्नसक्ने सोभियत सङ्घ विघटनबाट पाठ सिक्नुमा उहाँले जोड दिनुभयो । गोष्ठीमा स्वस्तिका श्रेष्ठ, प्रतिक बैद्य, आकाश खत्री, भावना श्रेष्ठ, सुस्मिता मानन्धर, अनिश भण्डारी, दिपेश थापा, निर्मल मगर र मणिश भण्डारीले का. स्तालिन र का. माओको जिवनी र योगदानबारे चर्चा गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *