भर्खरै :

सूर्यका घमाइला कविताहरू

हरिसुन्दर छुकां
ऐतिहासिक नगरी पनौतिका सूर्यप्रसाद लाकोजूको बारेमा धेरै स्रष्टाहरूको समान धारणा छ, ‘लाकोजू पनौतिका सक्रिय युवा साहित्यकार हुन् उनी साहित्य सिर्जनासँगै विभिन्न कार्यक्रम गर्छन्, साहित्य कर्ममा आफूलाई समर्पण गरिरहेका छन् ।’ त्यसैले त उनी गीत लेख्छन्, कविता लेख्छन्, मुक्तक लेख्छन् र हाइकू लेख्छन् । यसैको प्रमाण हुन् उनको गीतसङ्ग्रह ‘सुसेली’, तीनवटा मुक्तक सङ्ग्रहहरू क्रमशः ‘भावनाका फूलहरू’, ‘फूलहरूको मेला’ र ‘शाश्वत स्वरहरू’, दुईवटा कवितासङ्ग्रहहरू क्रमशः ‘मेरो मन मेरो मीत’, ‘घामको चुम्बन’ अनि दुई हाइकू सङ्ग्रहहरू, ‘गुराँस फुल्ने मनहरू’ र ‘अक्षरका स्वरहरू’ । यतिमात्र हैनन् उनका संस्कृतिसम्बन्धी पनि पुस्तक, ‘पनौति’, ‘पनौतिको बाह्रवर्षे मकरमेला’ पनि प्रकाशित छन् । उनले बाल कविता पनि लेखिरहेका छन् । उनका ‘यः मरी’ बाल पुस्तक र बाल कवितासङ्ग्रहहरू ः ‘घाम उदायो’ र ‘कोपिला’ प्रकाशित भइसकेका छन् ।
डा. नवराज लम्सालका भाषामा ‘सूर्य कवि हुन्, गीतकार हुन्, लेखक हुन्, सम्पादक हुन्, साहित्यिक अभियन्ता हुन्, संस्कृतिकर्मी हुन्, अन्वेषक हुन् र यी सबै कुरा मिसिएका एक साधारण मान्छे’ हुन् । यिनै साधारण मान्छेको छविका धनि मान्छे बन्न सफल कवि लाकोजुको नवीनतम् कवितासङ्ग्रह हो,‘मेरो घाम’ ।
सूर्यको घामलाई आफ्नो बनाएर घामजस्तो न्यानो, तातो, पवित्र, स्वीकारयोग्य अनि कहिलेकाहीँ पोल्ने स्वभावका ५३ कविताहरू पढिसकेपछि भन्न मन लाग्यो,
सबतिर घाम फिजाउँछ सूर्य
मनमनमा आराम फिजाउँछ सूर्य ।
कलमले डाक्छ पात बिरुवामा
वसन्तको याम फिजाउँछ सूर्य ।
मालिक !
हामीलाई बोक भन्नुस्
हामी बोक्छौँ
कसैलाई गएर ठोक भन्नुस्
गएर हामी ठोक्छौँ
देश बने पनि नबने पनि
आफू बन्नुपर्ने मन्त्र घोक भन्नुस्
हामी घोक्छौँ
विपक्षीलाई टोक भन्नुभयो भने पनि
इमानदार भएर मान्छौँ र टोक्छौँ ।
– मेरो हजुर
देश किन बनेन ? भन्ने विषयमा अहिले पनि विभिन्न ठाउँमा विमर्श हुन्छ । त्यही विमर्शमा जोडिने गर्छ, नेपालका राजनीतिक दल र नेताहरू । त्यतिमात्र हैन, देश नबन्नुमा तिनीहरूमात्र हैन, जनता पनि दोषी छन् । कारण, देशका अधिकांश मानिसहरू दल भन्ने बित्तिकै आँखा चिम्लन्छन्, नेताले कालो भने कार्यकर्ता पनि कालै भन्ने प्रवृत्ति छ । यही प्रवृत्तिको अन्त्य चाहन्छ, कवि सूर्यप्रसाद लाकोजू । त्यो अन्त्य कवि लाकोजूको मात्र चाहना हैन, आम जनताको हो ।
यसैले त उनी कविताबाटै भन्छन्,
जतिसुकै अँध्यारो भए पनि
डरको भूकम्पबाट
कम्पित गरे पनि
डरकै साम्राज्य चलाउने
प्रयास गरे पनि
छोटो हुन्छ उसको आयु
मेरो घाम बिउँझिएपछि
रात कुलेलम ठोक्छ
आँधिको बेगमा ।
कविता समयको बलियो बिम्ब हो । यसैले कविहरू कवितामार्फत समयलाई ध्वनि दिइरहेका छन् । समयलाई बोल्नसक्ने आवाज दिनसक्ने सूर्य लाकोजूको ‘मेरो घाम’ भित्रका कविताहरू पनि देश, काल, परिस्थितिबाट विमुख छैनन्, कोरा छैनन् । उनका कविताहरूले वर्तमान बोलिरहेका छन् ।
कविताका विषयवस्तुहरू सजीव छन्, यसैले त ती कविताहरू जीउँदा छन् । ती जीउँदा कविताहरूले मान्छेलाई छोएका छन् । मानिस, मानिसले बाँचेको परिवेश, मानिसले देखेका सपना, मनोभावनालाई बुझ्न सक्नु कविको शक्ति हो । कवि लाकोजूले मानिसकै कथा, व्यथा, भोगाइ, सपना, यथार्थलाई कविताको रुप दिएका छन् । उनका कविताहरूमा मानवीय संवेदनाको कैयौं नदीहरू आफ्नै गतिले बगेका छन् । औपचारिक शिक्षा पाए पनि मानिसले गुमाउँदै गएको मानिस हुनुको चेतना, विलाउँदै गएको मानवता, खिइँदै गएको नागरिक भावना, झागिँदै गएको स्वार्थलाई कविताको विषय बनाएका छन् ।
सूर्यको घमाइला कविताहरू यसर्थ पनि बलिया छन् कि ती कविताहरूले भूइँमान्छेका दबाइएका स्वरलाई सतहमा ल्याएका छन् । उनी कवितामा कहिले कोमल छन् त कहिले कडा । कहिले बिहानको घाम, कहिले मध्यान्हको, कहिले साँझको घाम बनेर लेखिएका उनका कविताहरू घामजस्तै छन् । पूर्णरुपमा सूर्यलाई बिम्ब बनाएर लेखिएका कविताहरू जोशिला छन्, आशाका घाम लगाउने, उत्साहको बीज, नयाँपनको आरम्भ गर्ने प्रकृतिका छन् । यसका साथै घाम डुबेपछि हुने अँध्यारो र अँध्यारोमा हुने गलत गतिविधिलाई हटाउन पनि उज्यालोको जरुरत रहेको वकालत कवितामार्फत कवि सूर्यले गरेका छन् । घाम लागेपछि वा प्रकाश परेपछि कुनै पनि वस्तुको आकार थाहा हुन्छ, परिचय फेला पर्छ, कवि सूर्यले कवितामार्फत विषयवस्तुलाई आकार दिएका छन् ।
साधारण वा पाठकको आँखाले ‘मेरो घाम’ भित्रका रङहरू ठम्याउन पनि असहज छैन, किनकि उनका कविताहरू सरल छन्, मीठा छन्, नेताले बोल्ने भाषा नभएर जनताले बोल्ने भाषामा लेखिएका छन् ।
कृति ः मेरो घाम
कवि ः सूर्यप्रसाद लाकोजू
विधा ः कविता
प्रकाशक ः अनुज बुक्स, काठमाडौं
मूल्य ः रु. २९९।–

Leave a Reply

Your email address will not be published. Required fields are marked *