भर्खरै :

रामेका बा

सुसन चापागाई
म सम्झन्छु,
रामेका बा
निधारमा रातो टीका लगाएर,
ओठहरू छुट्टिन मान्दै नमान्दा पनि
जबरजस्ती छुट्ट्याएर ल्याइएको एक चिम्टि नमीठो हाँसो हाँसेर,
गहभरि भरिएको माली गाईको
एक चम्चा दही
सायद लामो समयसम्मका लागि आमाको हातबाट अन्तिम पटक पिएर,
प्रदेशिएका थिए ।
पानी चुहिने घरको रबरको छानो
टिनले फेर्ने रहरमा
बाको शिर पाल्पाली टोपी
अनि आमाको आङ नयैं सारीले बेर्ने रहरमा
छिपिदै सहरमा रुमलिदैं थिए,
रामेलाई आमाको काखमै छाडेर प्रदेशिएका उनी
रामे तोते बोलिमा बाबा भन्न सक्ने भयो अझै फर्केनन्,
रामे कलम समातेर
बलाई आकार बाबा भन्न सक्ने भयो अझै फर्केनन्,
रामे भन्छ,
आमा बा कहिले आउने
रामेकी आमा जवाफविहीन हुन्छिन्
तर आशावादी बन्दै भन्छिन्
छिट्टै आउनुहुन्छ,
त्यो छिट्टैको अवधि कति हो
सायद ईश्वर जान्दछ ।
आजकाल
रामे साइकल चढ्न लागेछ,
सेतो कमिज र कालो पाइन्टमा चट्ट देखिन्छ,
रामेकी हजुरआमा पनि नयाँ सारीमा फुरुक्क छिन्,
रामेका हजुरबाको शिरमा पाल्पाली टोपी हाँसिरहेछ,
अनि पानी पर्दा घर चुहिँदैन पनि ।
रामे बेला बेला
टोलका साथीहरू सजेट्छ
अनि कालो जुत्ता टल्काउँदै
भन्छ,
हेर मेरा बाले पठाइदिएको
रामेकी आमाले पनि अब त
सायद एक टुक्रा जमिन जोडिन क्यारे
एक दिन
त्यो एक दिन
एकबिहानै हल्ला चल्छ
म जुरुक्क उठेँ
रामेकी आमा त्यसरी नै शिर झ्यालमा ढलाइरहेकी थिई
जसरी रामेका बा प्रदेशिँदा,
रामेकी हजुरआमा पनि अत्तालिँदै कराइरहेकी थिइन्
म अन्जान थिएँ त्यो के भएछ,
अनि बज्छ एक्कासि
टु उँ उँ …..
एकोहोरो लामो शङखको धुन,
त्यो धुन
जसले रामेकी आमाले भर्खरै लाएको रातो सारी
अलिकति पनि नखुइलिँदैं
टेरङ बनाइदियो,
त्यो धुन
जसले रामेकी आमाको रातो सिउँदो
शिशिरमा हिँउले झैं सेताम्य बनाइदियो,
त्यो धुन,
जसले रामेकी हजुरआमाको कोख रित्याइदियो
त्यो धुन
जसले रामेले बोलेको बाबा सुन्न नपाईं
रामेका बालाई बिलिन बनाइदियो
त्यो एकोहोरो लामो धुन,
आजकाल
रामे त्यो साइकल चढ्नै मान्दैन,
रामेकी आमा सधैं मलिन देखिन्छिन्,
हजुरबाको शिरको पाल्पाली टोपी हाँस्दै हाँस्दैन,
जतिसुकै पानी नचुहिने छानो किन नहोस्
रामेका बा, आमा, हजुरआमा सबैको
आँखा चुहिरहन्छ
आँखा चुइरहन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *