भर्खरै :

विद्यार्थी आन्दोलनभित्रका विकृति

सीटीईभीटीईसम्बद्ध भक्तपुर बालकोटको एउटा प्राविधिक विद्यालयका सञ्चालकसँग सत्तासीन नेकपाको भ्रातृ सङ्गठन अनेरास्ववियु र अनेरास्ववियु (क्रान्तिकारी) का केही नेताहरूले गरेको आर्थिक लेनदेनको घटना सार्वजनिक भएसँगै शासक दलका भ्रातृ सङ्गठनभित्रका विकृति फेरि एक पल्ट सार्वजनिक भएको छ । विद्यार्थीको माग पूरा गर्ने नाउँमा आफैँले आन्दोलन उठाएको र पछि कलेज सञ्चालकसँग पैसा लिएर विद्यार्थीलाई धोखा दिएको घटना टेलिभिजन कार्यक्रममार्फत सार्वजनिक भयो । शासक दलका भ्रातृ सङ्गठनबाट हुने यस्ता घटना यो पहिलो कदापि होइन र यो विद्यार्थी सङ्गठनको हकमा मात्र भएको होइन । यथार्थतः यस्ता घटना नियमित जसो भइरहेका छन् र सम्बन्धित क्षेत्रमा सम्बन्धित भातृसङ्गठनले यसप्रकारको लुट मच्चाइरहेका छन् । बालकोटस्थित प्राविधिक कलेजको घटना भने सार्वजनिक भयो । झण्डै नियमितजस्तो हुने यस्ता घटनामा भ्रातृ सङ्गठनका एकाइदेखि केन्द्रस्तरसम्मका नेताहरू संलग्न हुने गरेका छन् ।
विद्यार्थी सङ्गठनका अधिकांश केन्द्रीय नेताहरूको दैनिक खर्च नै कलेजबाट नियमितरुपमा उठाइने ‘हप्ता’ बाट चल्ने गर्छ । अझ केन्द्रीय नेताहरूबीच कसले कुन–कुन कलेजमा ‘हप्ता’ उठाउने भनी भागबण्डासमेत हुने गर्दछ । हरेक केन्द्रीय नेताको अलग अलग सञ्जाल हुने गर्दछ र त्यही सञ्जालमार्फत कलेज र विद्यालयबाट पैसा असुली हुने गर्दछ । सङ्गठनको सम्मेलन वा कुनै कार्यक्रमको नाममा उठाइने रकम व्यवहारतः केन्द्रमा पुग्ने गर्दैन अर्थात् त्यो कार्यक्रमको लागि प्रयोग हुने गर्दैन । बरु कार्यकर्ताले त्यही पैसाबाट आफ्नो खर्चिलो दैनिकी चलाउने गर्छन् ।
शासक दलका भ्रातृसङ्गठन पैसाको भरमा सक्रिय सङ्गठनभन्दा फरक पर्दैन । चन्दा दिनेले लुकाउन खोज्छन् । लिनेले त लुकाउने भइहाले । कुनै पनि मुद्दामा आन्दोलन गर्नु भनेको यस्ता लेनदेनको दर बढाउने सौदाबाजीमात्र हुने गरेको छ । पैसा लिनेले समयअनुसार दर नबढाए भ्रातृ सङ्गठनले कुनै पनि मुद्दा उछालेर आन्दोलनको नाटक प्रारम्भ गर्छन् । कलेज र विद्यालयमा गर्ने गरेका गलत काम बाहिर ल्याउने धम्की र चेतावनीस्वरुप यस्ता आन्दोलन हुने गर्दछ । आन्दोलनमा नारा लगाउने कति विद्यार्थीलाई आफूले गरिरहेको आन्दोलनका यस्ता वास्तविक अन्तर्निहित मनसाय थाहासम्म हुने गर्दैन । तर, जब शासक दलका नेताहरूका पोल्टामा केही भीक्षादान झर्छ, तब आन्दोलन आत्मसमर्पणमा बिसर्जन हुने गर्छ । हिजोसम्म ज्यान दिने र लिने तहमा पुगेका नेताहरू ‘आन्दोलनको आंशिक उपलब्धि’ का कुरा गर्न थाल्छन् ।
शासक दलका भ्रातृ सङ्गठनमा यो कुनै नौलो कुरा होइन । बिहीबार घटना सार्वजनिक भएपछि अनेरास्ववियुले दोषीलाई कारबाही गरेको भनेर प्रेस वक्तव्य सार्वजनिक ग¥यो । लोकलाजको कारण यस्तो गरियो । यस्ता गतिविधि गर्ने सबैलाई इमानदारीका साथ कारबाही गर्नेतिर लाग्ने हो भने कारबाहीको प्रेस वक्तव्य जारी गर्ने पनि कोही बाँकी हुनेछैन ।
यस्ता समस्याको मूल खोज्दै पस्ने हो भने हामी शासक दलका नेताहरूका दैलासम्म पुग्नेछौँ । राजनीतिलाई वैचारिक मन्थन र समाज परिवर्तनको माध्यमको रुपमा भन्दा कमाइ खाने भाँडो बनाउने विकृति नै यो समस्याको जड हो । विशेषतः आफूलाई ठूला भनी घमण्ड गर्ने विद्यार्थी सङ्गठनभित्रका यस्ता विकृतिका कारण आज शैक्षिक परिवर्तनमा विद्यार्थी सङ्गठनको भूमिका क्रमशः कमजोर बन्दै गएको छ । विद्यार्थी आन्दोलनको हिजोको पाइन भुत्ते भएको छ । विद्यार्थी आन्दोलन खिया परेको हतियार बनेको छ । शासक दलका विद्यार्थी सङ्गठन आफैँ शैक्षिक विकृतिका कारण र साक्षी बनेका छन् ।
यसको विकल्प विद्यार्थी सङ्गठन र विद्यार्थी राजनीतिमा पूर्णविराम लगाउनु कदापि होइन । विद्यार्थी आन्दोलनलाई नयाँ समाजका लागि योग्य विचारवान कार्यकर्ता बनाउने विश्वविद्यालय बनाउन सके विद्यार्थी राजनीतिले समाज परिवर्तनमा ठूलो योगदान गर्नसक्छ । विद्यार्थी सङ्गठन स्वयम् समाज परिवर्तनको विद्यालय बन्न आवश्यक छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *