तीनमहिने चित्रकला तालिमको समापन तथा प्रमाणपत्र वितरण कार्यक्रम
- कार्तिक १०, २०८२
भक्तपुर, १४ पुस । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष एवं वरिष्ठ राजनीतिज्ञ नारायणमान बिजुक्छें (रोहित) ले ओली नेतृत्वको सरकार कुनैखाले कम्युनिष्ट उद्देश्य र नीतिअनुसार नचलेको स्पष्ट पार्नुभएको छ ।
पार्टीको भ्रातृ सङ्गठन नेपाल क्रान्तिकारी युवा सङ्घको एघारौँ जिल्ला सम्मेलन उद्घाटन गर्न सूर्यविनायक नगरपालिकाको कटुञ्जेमा आयोजित समारोहलाई सम्बोधन गर्दै अध्यक्ष बिजुक्छेंले भन्नुभयो, ‘‘कम्युनिष्टहरूको नीति पुँजीवादीहरूसित मिल्दैन बरू ठीक उल्टो हुन्छ, वर्तमान सरकार पुँजीवादीहरूकै नीतिमै चलेको छ, त्यसैले यो सरकार कुनै कम्युनिष्ट वा वामपन्थी सरकार होइन ।’’
‘तेल के हेर्नु तेलको धारा हेर्नु, छोरा के हेर्नु छोराको साथ हेर्नु’ भन्ने नेपाली उखान स्मरण गर्दै अध्यक्ष बिजुक्छेंले वर्तमान सरकारका मन्त्रीहरू र कथित नेकपाका नेताहरूको साथ र सङ्गत भ्रष्ट, दलाल, देश र जनविरोधीहरूसित रहेकाले यो सरकार कसको र कस्तो भनी स्पष्ट हुन्छ भन्नुभयो ।
नेपालका ठूला कम्युनिष्ट पार्टी भन्नेहरू विदेशी वा साम्राज्यवादीहरूको पैसाले चलेको बताउँदै उहाँले विदेशीसित भिक्षा मागेर चुनाव लडेकाहरू, जनतामाझ वर्गीय र राजनीतिक चेतनास्तर उठाउने काम नगरेकाहरू कसरी कम्युनिष्ट हुन्छन् ? भनी प्रश्न गर्नुभयो ।
वर्ग सङ्घर्षको बाटो त्यागेका, साम्राज्यवादी र प्रतिक्रियावादीहरूसित मिलेका ठूला कम्युनिष्ट पार्टीका नेताहरू संशोधनवादी विश्वासघातीहरू काउत्सकी र बर्नस्टिनका आधुनिक संस्करणमात्र भएको बताउँदै अध्यक्ष रोहितले माओवादी पार्टी नेपाललाई विखण्डन गर्न भारतले बनाएको ट्रोजन हर्समात्र भएको दोहो¥याउनुभयो ।
निर्वाचनको बेला जनतालाई दिएको आश्वासन पूरा नगर्ने तथा देश र जनताको हितविपरीत गएको सरकारविरूद्ध जनतालाई सचेत पार्ने अभियान अगाडि बढाउन युवा–कार्यकर्ताहरूलाई आह्वान गर्दै अध्यक्ष बिजुक्छेंले निर्देशन दिनुभयो, ‘‘युवाहरूले धैर्यपूर्वक काम गर्दै जानुपर्छ । सचेत युवाहरू पैसा दिँदैमा वा जागिर दिँदैमा कुनै पार्टीमा लाग्ने होइन । देशको रक्षाको लागि, समाजमा परिवर्तन ल्याउनको लागि स्वयम् जागृत भई राजनीति गर्नुपर्छ । पार्टीमा आएर सक्रिय हुनुपर्छ । देशको समसामयिक राजनीति र परिवर्तनको आवश्यकताबारे घर–घर गएर जनतालाई सम्झाउनु र बुझाउनु आवश्यक छ ।’’
समारोहमा नेमकिपाका केन्द्रीय सचिव एवं सङ्घीय प्रतिनिधिसभाका सांसद प्रेम सुवालले प्रस्तावित नागरिकता विधेयकमा जन्मको आधारमा विदेशीलाई नेपाली नागरिकता दिने बन्दोबस्त गरिएको बताउँदै त्यस व्यवस्थाले विदेशीले नेपालको नागरिकता लिने, देशलाई ठूलो नोक्सान हुने र त्यस्तो ऐन ल्याउन खोजेका शासक दलहरू कुनै हालतमा पनि देशभक्त हुन नसक्ने औँल्याउनुभयो ।
उहाँले नेपाल–भारतबीच खुला सीमा नियमित नगरेसम्म नेपालको नागरिकता समस्या समाधान हुनसक्दैन भन्नुभयो ।
भारत र मधेसवादी पार्टीहरूले ‘एक मधेस एक प्रदेश’ को माग अहिले पनि नछोडेको बताइरहनु र संविधान संशोधनको लागि सरकारमाथि दबाब दिइरहनु देशको हितमा नहुने औँल्याउँदै सांसद सुवालले भारतको आशीर्वाद लिएरमात्र गठन भएको वर्तमान सरकारले देशघाती संविधान संशोधन गर्ने खतरा रहेको औँल्याउनुभयो ।
कार्यकर्तालाई सिद्धान्त र विचार दिनेभन्दा टीका र फूलमाला लगाएर पार्टीमा भित्याउनेहरू कम्युनिष्ट हुनै नसक्ने बताउँदै उहाँले सिंहदरवार, प्रम निवास बालुवाटार र राष्ट्रपति निवास शीतल निवास अहिले ठगहरूको घेरामा रहेको नेमकिपाको निष्कर्ष रहेको उल्लेख गर्नुभयो ।
शासक दलकै सांसदहरूले निर्वाचन आचारसंहिता उल्लङ्घन गरी र करोडौँ–करोड रूपैयाँ खर्च गरी निर्वाचन जितेर आएको खुलासा गरिरहेको बताउँदै उहाँले आचारसंहितालाई ऐनमै समावेश गरी उल्लङ्घनमा कडा कारबाहीको बन्दोबस्त हुनुपर्ने नेमकिपाको ठहर रहेको बताउनुभयो ।
नेमकिपाका केन्द्रीय सदस्य अनुराधा थापामगरले जनतालाई अनेक आश्वासन दिएर सरकारमा पुगेकाहरूले नेपाली युवाहरूको समस्या देखेको नदेखेझैँ र सुनेको नसुनेझैँ गरी बसेका छन् भन्नुभयो ।
वैदेशिक रोजगार युवा समस्याको समाधान नभएको बताउँदै उहाँले प्रतिकूल मौसम र अवस्थामा काम गर्नुपर्दा बर्सेनि सयौँ युवा–युवतीहरूले मृत्युवरण गर्नुपरेको, अपाङ्ग र अशक्त हुनुपरेको छ भन्नुभयो ।
कामदार युवा–युवतीको समस्या र वेदनाप्रति सरकारले ध्यान नदिएकोले युवाहरू स्वयम् राजनीतिक रूपले सचेत र सङ्गठित बनी सङ्घर्ष गर्नुपर्ने आवश्यकता उहाँले औंल्याउनुभयो ।
नेमकिपाका वैकल्पिक केन्द्रीय सदस्य एवम् प्रदेश नं. ३ का सांसद सुरेन्द्रराज गोसाईले सरकार र शासक वर्ग युवाहरूलाई विदेश पठाएर दलाली भाग खाइरहन पल्केको हुनाले कामदार वर्गका युवाहरूले सङ्घर्ष गर्नुको विकल्प छैन भन्नुभयो ।
युवाहरू आफ्ना व्यक्तिगत र पारिवारिक समस्यामा रूमलिने होइन, आफ्ना समस्यालाई आफ्नो वर्ग र देशको समस्यासितै गाँसेर समाधानको सङ्घर्षमा अघि बढ्नुपर्ने बताउँदै उहाँले राजनीतिक र वर्गीय रूपले सचेत र सङ्गठित युवामात्र वास्तविक युवा हुन्छ भन्नुभयो ।
देशमा दिनप्रतिदिन भ्रष्टाचारको जालो बढ्दै गएको र जनता प्रताडित हुँदै गएको बताउँदै उहाँले प्रम ओली र सरकारको ‘शून्य सहनशीलनता’ र ‘शून्य भ्रष्टाचार’ को नारा जनताको आँखामा छारो हाल्ने चालमात्र भएको बताउनुभयो ।
समारोहमा नेमकिपा भक्तपुर जिल्ला समितिका सदस्य महेन्द्र बखुन्छे, नेमकिपा सूर्यविनायक नगर समितिका सदस्य श्याम बिसुन्खे, नेपाल क्रान्तिकारी मजदुर सङ्घ भक्तपुर जिल्ला समितिका अध्यक्ष उपेन्द्र सुवालले पनि शुभकामना मन्तव्य राख्नुभएको थियो ।
कार्यक्रममा जनगायक विनोद विकले देशभक्तिपूर्ण गीत प्रस्तुत गर्नुभएको थियो ।
सम्मेलन तयारी समितिका संयोजक मीनबहादुर बाटाको सभापतित्वमा भएको कार्यक्रममा समितिका एचएस सुवालले पनि बोल्नुभएको थियो ।
उद्घाटन समारोहअगाडि दधिकोटको बिरूवाबाट हजारौँ युवा ¥यालीसहित उद्घाटन स्थल पुगेको थियो । उद्घाटन ¥याली सुरू गर्न आयोजित सभामा नेक्रायुसङ्घ भक्तपुरका सहसंयोजक राजकुमार लघू, सदस्यहरू अर्जुन काफ्ले र सङ्गीता नेपालीले पनि बोल्नुभएको थियो ।
Leave a Reply