भर्खरै :

तुलसीपुरका महिलाले सिकाएको पाठ

तुलसीपुर धम्कापुरका थारू महिलाहरू धनियाँको व्यवसायिक खेती गरेर आर्थिक रूपमा आत्मनिर्भर बने । आफ्नै बलबुट्टामा व्यावसायिक तरकारी खेतीमा लागेका महिलाले दसैं–तिहारको समयमा मात्र डेढलाख रूपैयाँ आम्दानी गरेछन् । यसरी आर्थिक आत्मनिर्भरतामा लागेका महिलाहरूले कुनै तालिम लिएका छैनन् । उनीहरूले बाली लगाएका खेतमा कुनै विशेष सिंचाइको सुविधा पनि छैन । तथापि उनीहरूले आफ्नै आडभरोसामा सफल खेती गरिरहेका छन् । न सरकारको आश न पुरूषकै आम्दानीको मात्र भर ।
केही दिनअघि एउटा अर्को समाचारले नेपाली समाजलाई झस्कायो । विदेशमा काम गरेर फर्केका अधिकांश नेपाली महिला कुनै न कुनै रोग बोकेर फर्कने रहेछन् । कसैलाई मृगौला, कसैलाई ढाड त कसैलाई प्राणघातक यौनजन्य रोगहरू । सरकारले निषेध गरेका देशमा समेत लुकी लुकी बढी कमाइको लोभमा विदेशिने अधिकांश नेपाली छोरी–बुहारी स्वदेश फर्कंदा शारीरिक र मानसिक रोग बोकेर आएका हुन्छन् । अझ कतिपय परिवारमा त महिलाले विदेशमा दुःख गरी कमाएको पैसा यता लोग्नेले मोजमस्ती र विकृतिमा सकाएको, दोस्रो महिलासँग लागेर पारिवारिक र सामाजिक सम्बन्ध चकनाचुर भएका प्रशस्त उदाहरण छन् ।
महिलालाई उत्पादक शक्तिसँग जोड्नु प्रगतिशील कदम हो । सामन्ती समाज व्यवस्थाले महिलालाई घरभित्र अनुत्पादक काममा मात्र सीमित गर्ने गरेको हुन्छ । पुँजीवादी औद्योगिक क्रान्तिले महिलालाई पनि उत्पादनशील काममा लगाउने गर्छ । तर, पुँजीवादी बन्दोबस्तले महिलालाई सस्तो उत्पादनको साधनको रूपमा मात्र प्रयोग गर्ने गरेको हुन्छ । पुँजीवादी समाजमा महिलालाई सस्तो र सजिलै कज्याउन सकिने जनशक्तिको रूपमा लिने गरिएको हुन्छ । नेपाली महिलालाई विदेशी भूमिमा पठाउने बन्दोबस्त सरकारले गर्नुको मूल लक्ष्य भनेको अन्तर्राष्ट्रिय श्रम बजार (विशेषतः खाडी देशमा) आवश्यक सस्तो जनशक्ति आपूर्ति हो ।
माथिका दुई घटनाले महिलालाई देशभित्रै पनि उत्पादनमूलक कामसँग जोड्न सके आर्थिक आत्मनिर्भरता सम्भव छ । आर्थिक आत्मनिर्भरता महिलाले समाजमा समान सामाजिक र राजनीतिक अधिकार हासिल गर्ने पूर्वाधार हो । विदेशमा सस्तो ज्यामीको रूपमा नेपाली महिलालाई निर्यात गर्दा आइपर्ने अनेकन समस्याको तुलनामा देशभित्रै तिनलाई आत्मनिर्भर बनाउने विषयमा राज्यले ध्यान दिन आवश्यक छ । राज्यले नेपालका काम गर्ने सबै उमेरका महिलालाई रोजगार बनाउने दीर्घकालीन योजनाहरू ल्याउन जरूरी छ । रोजगारीका लागि विदेशिने सोचलाई निरूत्साहित गर्न जरूरी छ ।
खाडी मुलुकमा नेपाली कामदारको अवस्थाबारे अध्ययन गरी संसदमा बुझाएको एक प्रतिवेदनअनुसार नेपाली महिला कामदारलाई खाडी देशमा ‘खसी–बोका’ झैं बेचिने गरेको छ । यसले नेपाल र नेपाली जनताको प्रतिष्ठामा आँच परेको छ । ती महिलालाई विदेशमा लाने म्यानपावर कम्पनी बन्द गरिनुपर्छ । यसको अर्थ पुरूषलाई विदेशमा पठाउनु ठीक भन्न खोजिएको होइन । नेपालमै रोजगारी दिने राज्यको दायित्व हो र संविधानले दिएको यो अधिकारअनुसार देशभित्रै रोजगारीको विकास गर्न जरूरी छ । तर, पुरूष र महिलामध्ये पनि वैदेशिक रोजगारीका कारण महिला अझ बढी प्रताडित बनिरहेको अवस्थामा तिनलाई नेपालमै रोजगारीको उचित बन्दोबस्त गर्न जरूरी छ ।
विदेशको माटोमा सुन फल्ने पक्कै होइन । परिश्रम गर्दा सुन नफल्ने माटो हुँदैन । नेपाली युवाहरूले यो भावनालाई आत्मसात गरी विदेशमा भन्दा पनि आफ्नै परिवेशमा आत्मनिर्भर बन्ने बाटोको खोजी गर्न जरूरी छ । राज्यसत्ताको मूलधारबाट मूलतः सीमान्तकृत थारू समुदायको महिलाले आर्थिक आत्मनिर्भरताको उदाहरण प्रस्तुत गरेका छन्–त्यो पनि राज्यको बिना कुनै सहयोग र सुविधा । यदि राज्यले थोरैमात्र पनि महिलालाई तालिम र आर्थिक आत्मनिर्भरताको लागि मद्दत गर्ने हो भने विदेशमा जानुपर्ने बाध्यताको अन्त्य हुनेछ । राज्यले श्रमबजारका ठेकेदारका आदेशसामु दलाली गर्नु र कमिसनमा ¥याल चुहाउनुभन्दा महिलाहरूबाट प्रस्तुत भएका यस्ता दृष्टान्तबाट केही सिक्न जरूरी छ । उनीहरूलाई प्रोत्साहित गर्न आवश्यक छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *