भर्खरै :

नेमकिपा काभ्रेको पाँचौं जिल्ला भेला

काभ्रे, २१ पुस । नेपाल मजदुर किसान पार्टी काभ्रे जिल्ला समितिको पाँचौ जिल्ला भेला शनिबार सम्पन्न भयो ।
भेलामा पार्टीका केन्द्रीय सचिव प्रेम सुवालले पुँजीवादको उत्थान, विकास र पतनको नियम माक्र्सवाद भएको चर्चा गर्दै पुँजीवादी चुनावमा झूठा आश्वासन दिने र सरकारमा गएर भ्रष्टाचार गर्नेहरु नामले कम्युनिष्ट भए पनि पुँजीवादी पार्टी नै हुने बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘‘नेकपा एमाले र माओवादी अर्थात् वर्तमान सरकारको नेतृत्व गरेको ‘नेकपा’ पुँजीवादी पार्टी नै हो ।
‘‘ओलीले प्रचण्डलाई रू. १–२ अर्बको लागि आन्दोलन गरेका र कायरहरुमात्र माओवादीसँग एकता गर्ने बताएको र प्रचण्डले ओलीलाई मानसिक सन्तुलन गुमाएका, भारतीय र राजावादी बताएका थिए । अहिले एमाले र माओवादी एउटै भयो र ओली र प्रचण्ड एउटै पार्टी ‘नेकपा’का दुई अध्यक्ष भए । यो भारतीय विस्तारवादको निर्देशनअनुसार भएको हो । नेपाली जनतामा भ्रम रहनु हुँदैन’’, सचिव सुवालले बताउनुभयो ।
२०४६ पछि नै एमाले पुँजीवादी अवसरवादको भागवण्डामा लागेको, माओवादी २०६३ पछि पुँजीवादी सरकारमा गएको उल्लेख गर्र्दै उहाँले यी दुवै पार्टीको नाममा ‘कम्युनिष्ट’ र झण्डामा ‘हँसिया–हथौडा’ अङ्कित भए पनि यथार्थमा कम्युनिष्ट नभएको स्पष्ट पार्नुभयो ।
सचिव सुवालले भन्नुभयो, ‘‘मनमोहन अधिकारीले २०५२ मै एमाले युरोपको समाजवादी प्रजातान्त्रिक नाम रहेका पुँजीवादी पार्टीजस्तै भएको बताएका थिए ।’’
नेमकिपाका कार्यकर्ता र समर्थकहरु नेपाली जनतालाई एमाले र माओवादीको कम्युनिष्ट मुकुण्डो उदाङ्ग्याई जनतालाई सचेत र सङ्गठित गर्न लागिपनुपर्नेमा उहाँले जोड दिनुभयो ।
नेमकिपाका वैकल्पिक केन्द्रीय सदस्य कृष्णबहादुर तामाङले पार्टीबाट विचलित भएका साथीहरु अन्ततः कुलतको बाटो लागेको बताउनुभयो ।
नेमकिपा काभ्रे जिल्ला समितिका सल्लाहकार नारायणबहादुर दुवालले सच्चा कार्यकर्ताहरुले व्यक्तिगत रुपमा नोक्सान व्यहोरेर पार्टीको निर्देशनमा देश र जनताको हितमा काम गर्नुपर्ने बताउनुभयो ।
नेमकिपा काभ्रे जिल्ला समितिका अध्यक्ष कृष्णकुमार वैद्यको सभापतित्वमा भएको भेलामा धनबहादुर तामाङ, त्रिरत्न साय्मी, तारा न्यौपाने, ओमप्रसाद मानन्धरले पनि बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *