भर्खरै :

तराईका जिल्लामा स्तालिन र माओको सम्झना

बारा, २१ पुस । विश्व सर्वहारा वर्गका नेताहरू जेभी स्तालिनको १३९ औँ र माओ त्सेतुङको १२५ औँ जन्मदिवसको अवसरमा नेपाल मजदुर किसान पार्टी बारा जिल्ला समितिले शुक्रबार सदरमुकाम कलैयामा एक कार्यक्रम ग¥यो ।
कार्यक्रममा नेमकिपाका केन्द्रीय सदस्य उकेश कवांले महान नेताहरूको जन्मदिवस मनाउनुको अर्थ उहाँहरूलाई देवत्वकरण गर्नु नभई उहाँहरूको जीवनी र कार्यबाट प्रेरणा लिन र सिक्नलाई हो भन्नुभयो ।
उहाँले हरेक घटना र वस्तुलाई भौतिकवादी दृष्टिकोणले हेर्नुपर्ने बताउँदै द्वन्द्वात्मक भौतिकवादी दृष्टिकोणले मात्र समाजमा परिवर्तन ल्याउन सकिन्छ भन्नुभयो ।
लेनिन र स्तालिनको नेतृत्वमा भएको १९१७ को अक्टोवर समाजवादी क्रान्तिले विश्वमै पहिलोपटक मजदुर वर्गलाई शासन सत्तामा पु¥याएको बताउँदै उहाँले सरकारमा गएर पुँजीपति वर्गकै सेवा गर्ने नेकपा संशोधनवादी पार्टी भएको बताउनुभयो ।
नेमकिपाका वैकल्पिक केन्द्रीय सदस्य सरोज साहले सच्चा कम्युनिष्टहरू साम्राज्यवाद र विस्तारवादविरोधी हुने बताउँदै नेपालमा नेमकिपाले मात्र साम्राज्यवाद र विस्तारवादको खरो विरोध गरेको बताउनुभयो ।
सभापतिको आसनबाट नेमकिपा बारा जिल्ला समितिका अध्यक्ष मुक्तिप्रसाद यादवले पुँजीवादीहरूले नेता स्तालिन र माओ त्सेतुङको जति बदख्वाइँ गरे पनि सत्य नझूठलिने बताउँदै शत्रुले विरोध गर्नुको अर्थ उहाँहरू सही हुनुहुन्थ्यो भन्ने हो भन्नुभयो ।
कार्यक्रममा नेमकिपा बारा जिल्ला समितिका उपाध्यक्ष रेञ्जुदेवी साहले वर्गीय र वैचारिक सङ्घर्ष नगरी समाजमा परिवर्तन नआउने बताउनुभयो । कार्यक्रममा नेमकिपाका महेन्द्र खायमली र सरल मियाले पनि देशको समसामयिक राजनीतिबारे मन्तव्य राख्नुभएको थियो ।
पर्सा
त्यस्तै सोही उपलक्ष्यमा नेमकिपा पर्सा जिल्ला समितिको आयोजनामा शनिबार वीरगञ्जमा कार्यकर्ता भेला सम्पन्न भयो ।
भेलामा नेमकिपाका केन्द्रीय सदस्य उकेश कवांले देशमा आमूल परिवर्तन ल्याउनका लागि द्वन्द्वात्मक भौतिकवादी दृष्टिकोणले प्रशिक्षित स्तालिन र माओ त्सेतुङजस्तो इमानदार र दृढ नेता आवश्यक छ भन्नुभयो ।
उहाँले पुँजीवादी व्यवस्थाले ३–४ सय वर्ष लगाएर मजदुर वर्गको शोषण गरी गरेको विकास समाजवादी व्यवस्थाले मजदुरहरूलाई शोषणबाट मुक्त गरी २०–३० वर्षमै गरेको उदाहरण पूर्व सोभियत सङ्घ र वर्तमान चीन हुन् भन्नुभयो ।
सभापतिको आसनबाट नेमकिपा पर्सा जिल्ला समितिका अध्यक्ष सरोज साहले चुनाव जितेर देशमा आमूल परिवर्तन र समाजवाद नआउने प्रस्ट पार्दै वर्गसङ्घर्षको सिद्धान्त नमान्ने नेकपा नक्कली कम्युनिष्ट पार्टी भएको बताउनुभयो ।
कार्यक्रममा नेमकिपाका महेन्द्र खायमली, इमामुल अन्सारी र नेक्राविसङ्घका केन्द्रीय सहसचिव श्यामगान्धी साहले पनि समसामयिक राजनीतिक विषयमा बोल्नुभएको थियो । त्यस्तै शुक्रबारै पर्साको मधुवन–मथौल गाउँपालिकामा पनि एक कार्यकर्ता भेला सम्पन्न भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *