शिक्षा र स्वास्थ्यमा निराशाजनक बजेट !
- जेष्ठ १८, २०८३
झापामा ग्यास प्लान उद्घाटन गर्न प्रधानमन्त्री ओली पुगे । त्यहाँ उनले भने – ‘घर–घरमा अब ग्यासको लाइन जडान गरिनेछ । सिलिन्डरको झञ्झटबाट नेपाली मुक्त हुनेछन् ।’ तर, त्यो ग्यास प्लान छ महिना पनि चलेन । दुई महिनामै बन्द भयो ।
ओलीले गएको पुस १६ गतेबाट देशमा पानीजहाज चल्ने घोषणा गरे । तर, पानी जहाज चलेन । संसद्मा यसबारे प्रश्न उठ्दा सरकारले केही जवाफ दिन सकेन । प्रधानमन्त्रीले निर्धारित सम्बोधनसमेत स्थगित गरे ।
विद्युतीय गाडी शुभारम्भ गर्दै सोही गाडीमै ओली पुल्चोकदेखि सिंहदरबार पुगे । तर, न राजधानीमा विद्युत्तीय गाडी चल्यो न उद्घाटन भएका गाडी नै तोकिएको मापदण्डबमोजिमका भए । ओलीका गृहमन्त्री रामबहादुर थापाले यातायात क्षेत्रमा सिन्डिकेट हटाउने घोषणा गरे । तर, सिन्डिकेट हटाउने त्यो घोषणा कहिल्यै पूरा भएन ।
निर्मला पन्तको बलात्कारी र हत्यारा पत्ता लगाउन नसकेको प्रधानमन्त्रीको तस्वीर अङ्कित पोस्टर पोलपोलमा टाँसियो । जनताले निर्मलाको तस्वीर भएको पोस्टर भित्ताभित्तामा टाँसेर सरकारको अकर्मण्यताप्रति व्यङ्ग्य गरे । लेख्दै जाँदा ओलीले घोषणा गरेका यस्ता धेरै बचनबद्धता छन् जो कहिल्यै पूरा हुन सकेनन् ।
संसद्मा बहुमत प्राप्त ओली जता टेक्छन्, उतै चिप्लिरहेका छन्, किन ? प्रधानमन्त्री कुनै एकजना व्यक्ति होइनन् । प्रधानमन्त्री आफैँ एउटा संस्था हो । संस्था सञ्चालनको निम्ति समूहले काम गरिरहेको हुन्छ । त्यसकारण प्रधानमन्त्रीले गर्ने कुनै पनि निर्णयमा उनको मात्र विवेक प्रयोग पक्कै हुने गर्दैन । उनका वरपर बसेका सल्लाहकार, विज्ञसमूह, परिवारका सदस्य, पार्टी नेता–कार्यकर्ता र सरकारी कर्मचारीको पनि भूमिका हुने गर्दछ । ओलीले घोषणा गरेका निर्णय एकपछि अर्को विफल हुनुको कारण उनले विश्वास गरेर आफ्नो वरपर राखेका व्यक्ति नै गलत भएर हुुनुपर्छ । प्रधानमन्त्रीलाई सल्लाह दिने सल्लाहकार नै गलत भएपछि तिनले दिएका सल्लाहका आधारमा प्रधानमन्त्रीले गर्ने निर्णय कसरी सही हुनसक्छ ¤
प्रमका सल्लाहकार र वरपर बस्ने मानिसहरूले कुनै न कुनै स्वार्थ समूहबाट अभिप्रेरित भएर प्रधानमन्त्रीलाई सल्लाह दिंदा त्यो निर्णयले व्यापक जनताको हित गर्नसक्दैन । त्यस्ता निर्णयले केही मानिसलाई खुसी बनाउला, प्रम र सरकारलाई पनि केही समय चर्चाको शिखरमा पु¥याउला, क्षणिक वाहवाही गर्नेको लाम पनि लाग्ला । तर, त्यसले अन्ततः प्रधानमन्त्रीलाई पत्रु र सरकारलाई बदनाम गर्नेछ । प्रधानमन्त्रीका शब्द सुन्दर भए पनि परिणाम भने गलत हुने गर्दछ ।
हान क्रिस्टियन एन्डरसनको कथा ‘बादशाहको नयाँ लुगा’ का नग्न बादशाहलाई प्रशंसाको बाउछार गर्ने आउरेबाउरेको कमी थिएन । उनलाई नग्न बनाउने पनि अरु कोही थिएनन्, बादशाहका सल्लाहकार नै थिए । आज ओलीका सल्लाहकार तिनै बादशाहका सल्लाहकारजस्तै छन् । प्रशंसाको बाउछारले ननिस्सासुञ्जेल ओलीलाई घाँटीसम्म छोप्न आज उनका सल्लाहकारहरू उद्यत्त छन् ।
ठग सल्लाहकारको फन्दा पर्दा कुनै पनि नेतृत्वसँग डुब्नु र बदनाम हुनुभन्दा अर्को विकल्प हुँदैन । सत्ताको सुखभोगले शत्रु र मित्र चिन्न नसक्दा कुनै पनि शासकको घाम डुब्ने गर्दछ । संसारका धेरै धेरै चक्रवर्ती शासकको घाम सदाको लागि डुब्नुको पछाडि शासकको नियतमात्र होइन, उसको सल्लाहकारका गलत र बदनियत सल्लाह पनि दोषी हुने गरेका छन् । महाभारतका धृतराष्ट्र आँखा नदेख्ने भएरमात्र हस्तिनापुर र कौरवको अवसान भएको थिएन, उनका सल्लाहकार पनि विवेकको आँखा नदेख्ने भएकाले त्यो नियति भोग्नुपरेको सत्य ओलीले पनि बुझ्न जरुरी छ ।
Leave a Reply