भर्खरै :

चेपाङ जाति छोटो परिचय

सुनिता गाइसी
नेपाल विभिन्न जातजातिको सङ्गमस्थल हो । हाल नेपालमा १२५ थरि जातजाति रहेको तथ्याङ्क २०६८ को जनगणनाले पुष्टि गरेको छ । नेपालका विभिन्न जनजातिमध्ये आधुनिकीकरणको रेखाबाट अलि पर रहेको जनजाति चेपाङ हो । चेपाङहरू विकास र शिक्षामा पनि निकै पछाडि परेका छन् । यिनीहरूको मुख्य बसोबास स्थलहरूमा धादिङ, मकवानपुर, चितवन र गोरखा जिल्ला हुन् । चेपाङहरू तुलनात्मक रुपमा सोझा, सरल र इमानदार हुन्छन् । मङ्गोलियन मुखाकृतिका यिनीहरू गहुँगोरो, थेप्चेनाक, ठुलो अनुहार, मझौला कद र फुर्तिलो शारीरीक बनावटका हुन्छन् । चेपाङहरू जङ्गलको छेउछाउमा बस्छन् । सामान्य खेतीपाती पशुपालन, चोया तथा काठको घरेलु सामान बनाई गुजारा चलाउँछन् । चेपाङहरू मुख्य गरी दुईथरी कछारे र पुकुन्थली जात थरका पाइन्छन् । कछारेहरू आफुलाई सुन प्रजा भन्न मन पराउँछन । चेपाङ नाम कै विषयमा चर्चा गर्दा ‘च’ को अर्थ कुकुर र ‘पाङको’ अर्थ धनुकाँड हुने र चेपाङहरूले घरघरमा कुकुर पाल्ने र धनुकाँडको सहायताले सिकार खेल्ने हुनाले चेपाङ हुन गयो भनिन्छ । यिनीहरू मृग, बँदेल, घोरलको शिकार गर्दछन् ।
चेपाङहरू एक आपसमा आफनै चेपाङ भाषा बोल्दछन् तर अरुसँग बोल्दा नेपाली भाषामा कुरा गर्दछन् । युवा पुस्ताले भने मातृभाषा नै भुल्न थालिसकेका छन् । त्यसैले बुढापाकाहरू आफनो भाषा लोप हुन लागेकोमा चिन्तित छन् । चेपाङहरूका घरहरू प्रायःजसो ढुङ्गा, माटो, काठ, बाँसद्वारा निर्मित छाप्रा र कटेरा हुन्छन् । हरेकका घरमा पिँढी हुन्छ । पाहुनाहरूलाई गर्मीका दिनमा यही सुताइन्छ ।
चेपाङहरू प्रकृतिपुजक हुन्छन् । यिनीहरू मध्ये कतिपयले हिन्दुहरूले जस्तै चाडपर्व मनाउने गर्दछन तर पूर्णरुपमा हिन्दु हुन भनी भन्न सकिदैन । यिनीहरू अलौकिक शक्तिमा विश्वास गर्दछन् । यिनीहरू कुलपुजा, सिकारी देवता, भूमि पुजा । पशुदेवताको पुजा गर्दछन् । यिनीहरू दसै, तिहार, साउने सङ्क्रान्ती, न्वागी, पर्व मनाउँछन् । न्वागीलाई यिनीहरू “छोनाम” भन्दछन् । चेपाङहरू झाँक्रीलाई पाँडे भन्दछन् । यिनीहरू आफनो समुदायमा कोही बिरामी परेमा उपचारका लागी झाँक्री बोलाउँछन् र रातभरी ढयाङग्रो ठोकेर देवीदेउताको नाम उच्चारण गर्दछ र उफ्रन्छन् । बोक्सी, पिचास वा देवी देवता रिसाएमा मात्र बिरामी परिन्छ भन्ने विश्वास गर्दछन् । यिनीहरू देवीदेवतालाई बाख्रा, सुगुर र कुखुराको बलि दिन्छन् ।
चेपाङहरूमा मामाचेली फुपुचेलाका बीचमा विवाह गर्ने चलन छ । यिनीहरूमा मागी विवाहलाई मान्यता दिएको पान्इछ । छोरीको विवाहमा चेपाङहरू च्युरीको बोट दाइजो दिइन्छ । यसरी संस्कृतिमा निकै नै धनी रहेका चेपाङहरू विकासको मुलधारबाट पछाडि परेका छन् । यिनीहरूलाई सरकार र संम्बन्धि त निकायले संरक्षण गर्नु पर्देछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *