भर्खरै :

पृथ्वीनारायणलाई अतिवादबाट टाढा राखेर बुझौँ

शुक्रबारका अधिकांश पत्रपत्रिका र अनलाइनमा पृथ्वीनारायण शाहसम्बन्धी बग्रेल्ती लेख–रचना प्रकाशित भए । शाहबारे विचार मन्थन नेपाली इतिहासको एउटा खण्डमाथिको बहस हो । पक्ष–विपक्षमा व्यक्त विभिन्न लेखक र विद्वान्का विचार इतिहासको सही अध्ययन र बुझाइको निम्ति सहयोगी हुने विश्वास गर्न सकिन्छ । वाद र विवादबाटै जोकोहीलाई यथार्थको नजिक पु¥याउन सक्छ ।
पूर्वाग्रह र अन्धभक्ति दुवै इतिहासको सही मूल्याङ्कनका बाधक हुन् । कुनै पनि ऐतिहासिक घटना र व्यक्तिलाई कुनै पनि कोणको पूर्वाग्रह र भक्तिभावले या त निकै खराब अथवा वास्तविकताभन्दा निकै सुन्दर देखाउने गर्दछ । इतिहास बुझ्ने यी दुवै कोणले यथार्थलाई छायामा पार्छ र अध्येतालाई धोका दिन्छ । पृथ्वीनारायण शाहको मूल्याङ्कनको सन्दर्भमा पनि हामी यी दुवै कोणबाट मुक्त हुन जरूरी छ ।
तर, शुक्रबार प्रकाशित लेख–रचनामध्ये अधिकांश लेख पूर्वाग्रह अथवा भक्तिभावको दोषबाट प्रभावित छन् । अधिकांश लेखले पृथ्वीनारायण शाहलाई एकपक्षीयरूपमा प्रशंसा गरेर ‘लार्जर ड्यान लाइफ’ देखाउने प्रयत्न भएको छ । शाहको व्यक्तित्वको महिमागान गरेका अधिकांश लेखले उनीबाट आफ्नो शासनकालमा भएका कमी–कमजोरीलाई भने सकेसम्म लुकाउने प्रयास गरे । कहीँ कतै भएका कमजोरीलाई पनि शाहको उपलब्धिले छोप्ने, त्यसलाई जायज ठह¥याउने वा गलत मनसायले प्रचार गरिएको भन्दै अस्वीकार गर्ने गरियो । यस्तो दृष्टिकोणले शाहको ऐतिहासिकरूपमा सही विश्लेषणभन्दा पनि उनको देवत्वकरण भएको छ । जब कोही ‘देवता’ बन्छ, उसको मानवीय गल्ती सबै छोपिन्छन्, अनि उसको सही मूल्याङ्कन कदापि हुन सक्दैन ।
तर, केही लेखकले भने शाहको ऐतिहासिक भूमिकासमेतलाई छायामा पर्ने गरी उनका नकारात्मक पक्षलाई मात्र उजागर गरेका छन् । गोर्खाली राजाका रूपमा उनले अन्य राज्यमाथि हमला गर्दा गरेका ज्यादतीका कुरालाई अघि सारेर समग्रमा उनले निभाएको ऐतिहासिक भूमिकालाई भने उपेक्षा गर्न खोजियो । निःसन्देह शाहलाई व्यक्तिको रूपमा मात्र भन्दा शक्तिको रूपमा मूल्याङ्कन गर्नसके अझ सही निष्कर्षमा पुग्न सक्छौँ । पृथ्वीनारायणको भक्तिचिन्तनमा लागेको पक्षले उनलाई एकीकरण अभियानका नायकको रूपमा चित्रण गर्ने गरेका छन् । तर, उनले गोर्खा राज्य विस्तार अभियानको थालनी गरेका थिए, कुनै एकीकरण अभियानको रूपमा होइन । चौबीसे राज्यबाट उपेक्षित, आर्थिक र भौगोलिकरूपमा कठिन चेपुवामा परेको गोर्खासँग या त गर वा मरको विकल्पमात्र थियो । त्यस्तो परिस्थितिमा पृथ्वीनारायण शाहले आफ्नो पुर्खाले थालेको राज्य विस्तार अभियानलाई व्यापकता मात्र दिएका थिए । राज्य विस्तार अभियान राम शाह र पृथ्वीनारायणकै पिता नरभूपालको पालामा पनि भएको थियो । यसकारण पृथ्वीनारायणको राज्य विस्तार अभियान कुनै एकीकरण अभियान थिएन । बरू तत्कालीन परिस्थितिमा शाहले गरेको राज्य विस्तारले बलियो र एकीकृत बनेको नेपाल विदेशी हस्तक्षेपसामु लड्न भने बलियो भएको थियो । मकवानपुरको सेन राज्यको आग्रहमा गोर्खालीमाथि हमला गर्न आएको इस्ट इण्डिया कम्पनीलाई प्रतिकूल भूगोल र मौसमको फाइदा उठाएरै गोर्खाली सेनाले पराजित गर्न सफल भएको थियो । साथै त्यही बेला भारतमा भएको विद्रोहका कारण नेपालमाथिको हमला अभियान इस्ट इण्डिया कम्पनीले स्थगित गर्नुपरेको थियो । त्यस्तो अवस्थाको फाइदा गोर्खाली सेनाले उठाएको थियो । मल्ल राज्यबीचको विभाजन, इस्ट इण्डिया कम्पनीबाट प्राप्त हतियार आदि धेरै संयोगको योगले पृथ्वीनारायण शाहको राज्य विस्तार अभियान सफल बनेको थियो । तर, गोर्खाली राजा स्वयम् साम्राज्यवाद र उपनिवेशवादविरोधी चेतनाका साथ एकीकरण अभियानमा होमिएको विश्लेषण भने अतिरञ्जना हो । यसप्रकारका अतिरञ्जनाले शाहलाई वास्तविकभन्दा अतिरञ्जित पात्र बनाइदिएको छ । यो भक्तिभावको विश्लेषण हो । यो इतिहासको वैज्ञानिक अध्ययन र समझदारी कदापि होइन ।
नेपालको इतिहासको पात्रका हिसाबमा पृथ्वीनारायणलाई यी दुवैथरि अतिवादबाट अलग्ग राखेर बुझ्न र विश्लेषण गर्न आवश्यक छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *