भर्खरै :

अपी हिमाल हेर्न चार वर्षमा ६४ पर्यटक

दार्चुला, ६ माघ । दार्चुलाको अपी नाम्पा संरक्षण क्षेत्रमा चार वर्षको अवधिमा ६४ विदेशी पर्यटक भित्रिएका छन् ।
संरक्षण क्षेत्रभित्र घुम्न आउने पर्यटकमा सार्क मुलुकबाहिरका छन् । अपी नाम्पा संरक्षण क्षेत्र कार्यालय दार्चुलाका सहायक संरक्षण अधिकृत राजु घिमिरेका अनुसार विसं २०७२ देखि २०७५ पुसमसान्तसम्म संरक्षण क्षेत्रभित्र ३५ पुरुष र २९ महिला विदेशी पर्यटक घुम्न आएका हुन् ।
कार्यालयका अनुसार विगतको तुलनामा यसवर्ष पर्यटक बढी आएका छन् । वैशाखयता मात्रै संरक्षण क्षेत्रभित्र २० महिला र १६ पुरुष गरी ३६ पर्यटक अपी नाम्पा संरक्षण क्षेत्रमा प्रवेश गरेको तथ्याङ्क छ ।
दार्चुलाको अपी नाम्पा संरक्षण क्षेत्रमा घुम्न आउने विदेशी पर्यटकमध्ये विसं २०७२ मा १२ पुरुष र सात महिला गरी १९ जना, विसं २०७३ मा पाँच पुरुष र दुई महिला गरी सात जना तथा २०७४ मा दुई जना मात्रै पुरुष विदेशी पर्यटक घुम्न आएको कार्यालयको तथ्याङ्क छ ।
जिल्लामा पर्यटक खासगरी अध्ययन अनुसन्धान, अवलोकनको लागि आउने गरेका हुन्, सहायक संरक्षण अधिकृत घिमिरेले भन्नुभयो, “यो वर्ष बढी पर्यटक अपी हिमाल आरोहणको लागि आएका हुन् ।
यहाँ आउने पर्यटकमा युएसएका १४ जना, अस्ट्रेलियाका चार जना, बेलजियमका दुई जना, ब्राजिलका एक जना, क्यानाडाका आठ जना, फ्रान्सका सात जना, जर्मनीका तीन जना, इजरायलका एक जना, जापानका पाँच जना, कोरियाका दुई जना, युकेका छ जना, तथा कोरिया, मेक्सिको, नेदरल्याण्ड, न्यूजल्याण्ड, नर्वे, रुसिया र स्वीजरल्याण्डका एक एक जना विदेशीय पर्यटक रहेको कार्यालयको अभिलेख छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *