भर्खरै :

पुँजीवादी फोहोर सरकारमा नेमकिपा जाँदैन

लाहान, १३ माघ । नेपाल मजदुर किसान पार्टीको ४५ औं स्थापना दिवसको अवसरमा सिरहा जिल्ला समितिको आयोजनामा आइतबार लाहानमा पत्रकार भेटघाट कार्यक्रम भयो ।
भेटघाटमा नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य एवम् भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले नेमकिपाले नेकपा सरकारको सैद्धान्तिक आलोचना गरिरहेको बताउनुभयो । उहाँले नेपालमा समाजवादी व्यवस्था स्थापना गर्नु नेमकिपाको उद्देश्य भएको बताउनुभयो ।
पुँजीवादी व्यवस्था आफै फोहोर व्यवस्था भएको हुँदा नेमकिपा पुँजीवादी सरकारमा सामेल नभएको प्रस्ट पार्दै केन्द्रीय सदस्य प्रजापतिले पुँजीवादी सरकारमा गएर आमूल परिवर्तनको सम्भावना नभएको बताउनुभयो ।
उहाँले नेमकिपाले भारतीय जनताको नभई भारतको शासन व्यवस्था र हस्तक्षेपको नीतिको विरोधमा आवाज उठाइरहेको बताउनुभयो । नेकपा सरकार कम्युनिष्ट सिद्धान्तअनुसार सञ्चालन भइरहेको छैन, राज्यको स्वामित्वमा आउनुपर्ने कलकारखाना निजीकरण गर्ने र पुँजीपति वर्गको सेवा गर्ने सरकार कम्युनिष्ट सरकार हुन नसक्ने दाबी उहाँले गर्नुभयो ।
“जनताको नजिकको सरकार भनेको स्थानीय सरकार हो । नेपाल मजदुर किसान पार्टीले देशको सन्तुलित विकासको निम्ति स्थानीय तहलाई अधिकारसम्पन्न बनाउनुपर्नेमा जोड दिइरहेको छ ।” – उहाँले भन्नुभयो ।
उहाँले भन्नुभयो – “प्रजग कोरियालगायत धेरै देशहरूमा अमेरिकी साम्राज्यवादले लगाउँदै आएको नाकाबन्दीको विरोध गर्दै ती देशका न्यायप्रेमी जनताप्रति नेमकिपाले ऐक्यबद्धता जनाउँदै आएको छ ।”
सांसदहरूलाई पेन्सन दिने विधेयक, ३ प्रतिशत थ्रेसहोल्ड, उद्योगधन्दाहरूको निजीकरणजस्ता देश र जनताको हितविपरीत संसदमा प्रस्तुत विधेयकहरूमा नेमकिपाले विरोध गरेको उल्लेख गर्दै प्रमुख प्रजापतिले नेमकिपाले पँुजीवादी सत्तामा गएर समाजवाद आउनेजस्ता पुँजीवादी विचारलाई कहिल्यै स्वीकार नगर्ने धारणा व्यक्त गर्नुभयो ।
जुन देशको राजनीति राम्रो हुन्छ, त्यस देशका जनता सुखी हुने बताउँदै उहाँले नेमकिपा समाजवादी आन्दोलनको बाटोमा अग्रसर भएर लागिरहेको बताउनुभयो ।
राजविराज
नेपाल मजदुर किसान पार्टीको स्थापना दिवसकै अवसरमा आइतबार सप्तरीको राजविराजमा कार्यकर्ता भेला सम्पन्न भयो ।
भेलामा नेमकिपाका केन्द्रीय सदस्य सुनिल प्रजापतिले नेमकिपा भ्रष्टाचारविरोधी आन्दोलनबाट अगाडि बढेको, पुँजीवाद धनी झन्झन् धनी र गरिब झन्झन् गरिब हुने व्यवस्था हो भन्नुभयो ।
“पुँजीवादी व्यवस्थामा शोषणका सयौँ थरीका जालो हुने गर्दछ । नेमकिपा सिद्धान्त र अडानमा प्रतिबद्ध रहँदै आएको छ । तराईमा किसान आन्दोलन अगाडि बढाउनुपर्छ”, उहाँले भन्नुभयो ।
कार्यक्रममा नेमकिपा सप्तरी जिल्ला अध्यक्ष दिगम्बर यादवले पुँजीवाद काम गरी खाने वर्गको पक्षमा नरहेको बताउँदै समाजवादी व्यवस्थाको निम्ति निरन्तर सङ्घर्ष गर्नुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा सप्तरी जिल्ला सदस्य जयनारायण शर्मा, अभिनन्दन यादव, दिपु यादवलगायतले बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *