भर्खरै :

भेनेजुयलामा आम नरसंहार गर्ने अमेरिकी योजना

प्रकाश
भेनेजुयलामा कठपुतली राष्ट्रपति घोषणा गरेर अराजकता मच्चाउन क्रियाशील संरा अमेरिकाले त्यहाँ ‘मानवीय सहायता’ पठाउने नाटक गरिरहेको छ । हो अमेरिकी नाकाबन्दीका कारण भेनेजुयला आज आर्थिक सङ्कटमा छ तर आफ्नो देशमाथि हस्तक्षेप गर्ने विदेशीको सहायता नलिने घोषणा भेनेजुयलाको वैधानिक सरकारले गरेको छ । भेनेजुयाली सरकारले आफ्नै देशमा उत्पादित र मित्रराष्ट्रहरूबाट प्राप्त खाद्यान्न, औषधि र अन्य उपभोग्य वस्तु जनतालाई समुचित रुपमा वितरण गर्ने जिम्मा सेनालाई दिएको छ । आफ्नो देशमाथि भएको साम्राज्यवादी हस्तक्षेपविरुद्ध लामो अवधिको लडाइँ लड्ने मानसिकता भेनेजुयाली राष्ट्रपति माडुरो र त्यहाँका सेना र जनताले बनाइसकेका छन् ।
यसैबीच विभिन्न अमेरिकी समाचार–पत्र र अन्य सञ्चारमाध्यमले नै अमेरिकी नाकाबन्दीले भेनेजुयालाको राजनीतिक समस्या समाधान नगर्ने बरु मानवीय सङ्कट सिर्जना गर्ने भन्दै संरा अमेरिकी सरकारले भेनेजुयलामा आम नरसंहार गर्ने योजना बनाएको खुलासा गरेका छन् ।
धेरै अगाडिदेखि भेनेजुयलाविरुद्ध अनेक चाल सहितको आर्थिक युद्ध गरिरहेको संरा अमेरिकाले गत हप्ता भेनेजुयलाको राष्ट्रिय तेल कम्पनी पीडीभीएसएमाथि प्रतिबन्ध लगाउँदै त्यस कम्पनीको अमेरिकी शाखा सित्गो (CITGO) लाई नियन्त्रणमा लियो । संरा अमेरिकाको त्यस कदमले भेनेजुयलाको ७ अर्ब अमेरिकी डलर बराबरको सम्पति अमेरिकी नियन्त्रणमा आएको र यस वर्षभित्र भेनेजुयाली सरकारलाई जाने ११ अर्ब अमेरिकी डलर राजश्व बन्द भएको अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार जोन बोल्टनले नै घोषणा गरे । ट्रम्प प्रशासनमा एकाएक सुरक्षा सल्लाहकार बनी हर्ताकर्ता बन्न आइपुगेका बोल्टन ती युद्धपिपासु व्यक्ति हुन् जसले पूर्व अमेरिकी राष्ट्रपति जर्ज डब्ल्यु वुशलाई आतङ्कवादविरोधी युद्धका नाममा अफगानिस्तान र इराकमा आक्रमण गर्न उक्साए । बोल्टनले लामो समयदेखि इरान र प्रजग कोरियामा शासन परिवर्तनको वकालत गर्दै आएका छन् र उनकै जोडले ट्रम्पले इरानसित भएको आणविक सम्झौताबाट संरा अमेरिकालाई फिर्ता गरेका हुन् ।
अमेरिकी राज्य विभागले नयाँ अमेरिकी प्रतिबन्धहरूले भेनेजुयलाका निर्दाेष जनतामाथि तारो नबनाएको दाबी गरिरहँदा द वालस्ट्रिट जर्नलले लेख्यो – अमेरिकी प्रतिबन्धले भेनेजुयलामा तयारी पेट्रोल र डिजेलको अभावलाई झन् गहिरो बनाउने छ । भेनेजुयलाका तेल रिफाइनरीहरू यसअघि नै अघोषित अमेरिकी प्रतिबन्धका कारण सीमित रुपमा मात्र चलिरहेका थिए, विभिन्न पार्टपुर्जा र कच्चा तेलको अभावबाट पक्षघात भइसकेका थिए । गत वर्षको नोभेम्बरसम्ममा भेनेजुयलाले आफूले उपयोग गर्ने १ लाख ९० हजार व्यारेल (१ व्यारेलमा ११९.२४०४७१ लिटर हुन्छ ।) को एकतिहाइमात्र प्रशोधित तेल उत्पादन गर्नसकेको थियो । “अमेरिकी कदमले तुरुन्तै सामान्य भेनेजुयाली जनतामाथि प्रहार हुनेछ ।” – भेनेजुयलाको तेल कम्पनी सङ्घ– फ्रेइटसले भनेको छ ।
त्यस्तै न्युयोर्क टाइम्सले लेख्यो– भेनेजुयलाको विभिन्न सहरका बैङ्क अगाडि सडकै वारपार हुने गरी आफ्नो निवृतिभरण थाप्न आएका ज्येष्ठ नागरिकहरूले ट्रम्प प्रशासनको कदमका कारण आफ्नो देशको अर्थतन्त्र झन् कमजोर हुने, त्यहाँ मानवीय सङ्कट गहिरिने र धेरैजना भोक, रोग र शोकले आधारभूत आवश्यता पूरा नभएरै मर्ने चिन्ता जाहेर गरे । “संरा अमेरिकाले भेनेजुयलाको आन्तरिक मामिलामा हस्तक्षेप गर्ने अधिकार राख्दैन । त्यसबाट प्रभावित हुने भनेका सर्वसाधारण नागरिक हुन् ।”– एक ५९ वर्षीय निवृत्त अउरा रामोसले भने । उनी त्यहाँ अत्यन्त अभाव रहेको रक्तचाप नियन्त्रणको औषधि लिन आएका थिए ।
ल्याटिन अमेरिकाको वासिङ्टन कार्यालयले भेनेजुयलामाथि थप प्रतिबन्ध लगाएर संरा अमेरिकाले भेनेजुयलामा आम नरसंहार गर्न खोजेको आरोप लगाएको छ । उक्त संस्थाले अमेरिकी प्रतिबन्धको निन्दा गर्दै प्रकाशित गरेको वक्तव्यमा भनेको छ– संरा अमेरिकाले हालै भेनेजुयलाविरुद्ध घोषित प्रतिबन्धमा हाम्रो ध्यानाकर्षण भएको छ । त्यसले दसौंलाख सर्वसाधारण भेनेजुयाली जनताले सहँदै आएको कठिनाइ र दुःखकष्टलाई चर्काउने छ । संरा अमेरिकी सरकार र क्षेत्रीय दक्षिणपन्थी सरकारहरूको आर्थिक युद्धका कारण भेनेजुयलामा अत्यावश्यक औषधि र आधारभूत उपभोग्य वस्तुको व्यापक अभाव थियो । भेनेजुयलाको तेल निर्यात त्यहाँ उपभोग्य वस्तु आयातको लागि विनिमय मुद्राको मुख्य स्रोतका रुपमा रहँदै आएको छ । त्यही आम्दानीलाई बन्द गरेर त्यहाँको अत्यावश्यक खाद्यान्न र औषधिको आयातलाई जोखिममा पारिदिएको छ । यसको परिणामस्वरूप भेनेजुयलाबाट बसाइ सराइ र शरणार्थी सङ्कटलाई थप चर्काउने छ र छिमेकी देशहरूमा तनाव बढाउने छ । अमेरिकी प्रतिबन्धले भेनेजुयलाका ३ करोड जनताको जीवनको अधिकारलाई खतरामा पारेको छ ।
भेनेजुयलामाथिको आर्थिक प्रतिबन्धले भेनेजुयाली जनताको जीवनमा ठूलो नकारात्मक प्रभाव पार्ने आधारभूत तथ्यको स्वीकारोक्ति बढ्दै गएको छ र अमेरिकी प्रतिबन्धको विरोध अमेरिकी बौद्धिक समुदाय, मानव अधिकारवादी सङ्घसंस्था र न्यायप्रेमी जनसमुदायले गर्न थालेका छन् ।
वासिङटनस्थित आर्थिक नीति अनुसन्धान केन्द्रका सह–निर्देशक तथा न्यायपूर्ण विदेश नीति समाजका अध्यक्ष प्रा.डा. मार्क वेइस्ब्रोटले भेनेजुयलामाथिको अमेरिकी प्रतिबन्धले ल्याटिन अमेरिकामा संरा अमेरिकी प्रभाव झन् घटाउने र धेरै–धेरै भेनेजुयाली जनताको ज्यान लिने भन्दै अगाडि लेखेका छन् – यदि रसिया, चीन र उत्तर कोरियाले संरा अमेरिकाको राष्ट्रपतिको रुपमा नान्सी पेलोसी (अमेरिकी कङ्ग्रेसमा डेमोक्र्याट अध्यक्ष) लाई मान्यता दिएमा के अमेरिकीहरूले त्यसैलाई मान्ने हो ?
मेरो भनाइको अर्थ ट्रम्पलाई मन नपराउनेहरू उनलाई देशको लागि वास्तविक खतरा (धम्की) मान्छन् । के त्यसैका आधारमा ट्रम्प अवैधानिक राष्ट्रपति हुन्छ ? मलाई त्यस्तो लाग्दैन । तर ट्रम्प, उनका विदेश सचिव माइक पोम्पेओ र राष्ट्रिय सुरक्षा सल्लाहकार जोन बोल्टन सबैजना सोच्छन्– भेनेजुयलाको नयाँ राष्ट्रपति छान्ने अधिकार संरा अमेरिकालाई हुनुपर्छ ।
त्यस्तै ‘भेनेजुयलाको सत्ता परिवर्तनका प्रमुख’ सिनेटर मार्को रुवियो (फ्लोरिडाका रिपब्लिकन सिनेटर जसलाई द न्युयोर्क टाइम्सले उक्त उपमा दिएको छ) पनि त्यस्तै सोच्छन् र आफ्नो सपना पूरा गर्नका लागि १९८० को दसकका युद्ध अपराधी इलियट अब्राहम्सलाई भेनेजुयलाका लागि इन्चार्ज नियुक्त गरेका छन् ।
यो कसरी गलत भयो ? हामी २१ औं शताब्दीमा संरा अमेरिका प्रायोजित सत्ता विप्लव’ को अनुभव लिन गइरहेका छौं, चाहे त्यो जतिसुकै बर्बर र नरसंहारपूर्ण किन नहोस् ।
इराक, सिरिया, लिविया, होण्डुरस सबैतिर सत्ता विप्लवका लागि हामीले नरसंहार मच्चायौं । केटाकेटीसहित अधिकांश नागरिकहरूले दुःखकष्ट भोग्नुप¥यो । ती सबै हामीले ‘राष्ट्रिय सुरक्षा’, ‘प्रजातन्त्र’ र ‘मानव अधिकार रक्षा’ को आवरणमा जायज ठह¥यायौं ।
भेनेजुयलाविरुद्ध गत हप्ता घोषणा भएको नयाँ प्रतिबन्धहरूले भेनेजुयला सरकारको अर्बौं डलर राजश्व र सम्पति खोस्नेछ र त्यहाँको अर्थतन्त्रलाई थप मन्दीमा पु¥याउने छ । हजारौं हजार भेनेजुयालीहरू मर्नेछन् र अरु लाखौँलाख देश छाडेर भाग्नेछन् र कयौँ ‘भेनेजुयाली शरणार्थी शिविर’ खडा हुनेछन् ।
भेनेजुयलामा गर्न खोजिएको सत्ता विप्लवले भेनेजुयलालाई राजनीतिकरूपमा धु्रवीकृत गर्नेछ र लामो गृहयुद्धतिर उन्मुख गराउने छ ।
यो समय हामीले अरु देशका जनताको सरकार चुन्ने अधिकार खोस्ने काम बन्द गर्नुपर्छ र हाम्रो आफ्नै घरमा (देशमा) जम्मा भएको फोहर सफा गर्नमा केन्द्रित हुनुपर्छ ।
भेनेजुयलामा संरा अमेरिकी साम्राज्यवाद यति धेरै अगाडि बढिसकेको छ कि अब ऊ सजिलै फर्कन मान्ने छैन । भेनेजुयाली सरकार र जनता पनि आफ्नो सार्वभौमसत्ता र स्वाधीनता रक्षाका लागि जस्तै दुःखकष्ट सहन तयार छन् । भेनेजुयलामा सङ्घर्ष त निश्चित छ तर त्यसको परिणाम कसको पक्षमा हुन्छ अहिल्यै भन्न सकिन्न । अमेरिकी साम्राज्यवाद योजनाबद्धरूपमा एक–एक पाइला गरी भेनेजुयलामाथि आक्रमण गर्दैछ । उसलाई भेनेजुयाली जनताको दुःखकष्ट र अभावको रत्तिभर पर्वाह छैन । ‘प्रजातन्त्र’ र ‘मानव अधिकार’ त संरा अमेरिकाको देखाउने बहाना मात्र हो, भेनेजुयलाको प्रामाणिक खर्बौंखर्ब व्यारेल तेल र खर्बौं घनफिट प्राकृतिक ग्यास भण्डार कब्जा नै वास्तविक लक्ष्य हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *