भर्खरै :

अमेरिकी युद्ध अपराध ‘टेलविन्ड’ र सीएनएनको क्षमायाचना –२

प्रकाश नेपाल
खाडी युद्धमा अमेरिकाले त्यस्ता घातक रोग फैलाउने हतियार वा रेडियोधर्मिता र रासायनिक विष फैलने ३०० टनभन्दा बढी DU प्रयोग गरेको थियो । DU हतियार प्रतिबन्ध लगाउन क्रियाशील अन्तर्राष्ट्रिय संस्थाका डाक्टर सेगवार्ट होस्र्ट गुन्थर (Dr.Saigwart–Horst Gunther ) ले इराकबाट जर्मनीमा ल्याएर परीक्षण गरेबाट पनि खाडी युद्धमा घातक रासायनिक हतियार प्रयोग गरेको प्रमाणित हुन्छ । त्यस्तै अमेरिकाले २२ वटा वाहनलाई विषको असरमुक्त पारेको र केही पठाएबाट पनि घातक हतियार प्रयोग गरेको पुष्टि हुन्छ ।
संयुक्त अधिराज्यको एटमिक इनजी अथोरिटीले सन् १९९१ मा प्रकाशित गरेको एक प्रतिवेदनमा DU बाट सैनिक र गैरसैनिकहरूको मृत्युको कारण बन्नेतर्फ सावधान गराएको थियो । स्वयं अमेरिकामा खाडी युद्धमा गएका २५७ जना अमेरिकी सैनिकहरूमा एक सर्वेक्षण गरेको थियो । त्यस सर्वेक्षणबाट ६७ प्रतिशत सैनिकका शिशुहरूमा प्रतिरोध क्षमताको कमीबाट रगत र स्वास प्रश्वासका रोगहरू देखापरेको र जन्मजात औंलाहरू जोडिने विकृति आदि फेला परेको थियो ।
एकातिर संरा अमेरिकाले खाडी युद्धमा रासायनिक हतियार प्रयोग गरेर प्रत्येक इराकी वनजात शिशुले समेत घातक परिणाम भोग्न बाध्य पारेको छ, अर्कोतिर इराकविरुद्ध औषधिसमेत आपूर्ति रोक्न अमेरिकाले नाकाबन्दी लगाएको छ । यसबाट अमेरिकाले इराकीहरूको जातिहत्या गरिरहेको प्रमाणित हुन्छ र वर्षेनी लाखौँ–लाख बालबालिका साम्राज्यवादी अमेरिकाको कलुषित स्वार्थ पूरा गर्न अकाल मृत्युवरण गर्न बाध्य छन् । यहाँनिर हतियार प्रयोग गरेको तथ्य विगतमा प्रकाशित भएको छ । त्यसको विरोध र भत्र्सना एवम् निन्दा सर्वत्र भएको छ । घातक रासायनिक हतियारको दुष्परिणाम कति भयावह हुन्छ त्यसको प्रत्यक्ष अनुभव इराकी सरकारले गरेकै हुनुपर्छ र भविष्यमा मानवजाति विरुद्धको अक्षम्य अपराध त्यसले दोहो¥याउने पागलपन गर्ने छैन भन्ने आशा छ । साथै इराक विरुद्धको अमेरिकी पागलपनको विरोध, निन्दा र भत्र्सना पनि सर्वत्र भएको छ र गर्नु पनि पर्दछ ।
संरा अमेरिकाको युद्ध अपराध
विश्वयुद्धका अपराधीहरूलाई नरेम्वर्ग अदालतले विभिन्न सजाय दिएको र घोषणा गरेको थियो । भागेका युद्ध अपराधीहरूलाई लुकाउने र संरक्षण दिने गर्दै आएको संरा अमेरिका स्वयं पनि युद्ध अपराधको कठघारामा उभिएको छ ।
भियतनाम युद्धमा संरा अमेरिकाले नापाम बम प्रहार गरेको, “एजेन्ट अरेन्ज” अभियान चलाएको स्वीकार गरेपनि घातक सरिन ग्यास प्रयोग गरी भियतनामी पुरुष, महिला र केटाकेटीलगायत युद्धविरोधी मुक्तिसेनासँग मिल्न जाने अमेरिकीहरूको हत्या गरेको अपराध स्वीकार गरेको छैन ।
ओलिभरद्वारा प्रस्तुत टेलिभिजन कार्यक्रमले रासायनिक हतियार बनाएको आरोपमा इराकविरुद्ध नाकाबन्दी लगाउने अमेरिकी सरकार तिर्मिराएको छ र विचलित भएको छ । त्यसैले युद्ध अपराधीको दोषबाट उम्किन क्लिन्टन प्रशासनले सीएनएन र टाइममाथि दबाब दिएर क्षमायाचना गराएबाट प्रस्ट हुँदैछ ।
खाडी युद्धलाई सीएनएनको युद्ध पनि भनिन्छ किनभने सीएनएनले खाडी युद्धको युद्ध समाचार दिने एक प्रकारले एकाधिकार पाएको थियो । यसबाट अमेरिकी रक्षामन्त्रालय पेन्टागन र सीएनएन बीचको “मधुर सम्बन्ध” लाई प्रस्ट गर्छ । खाडी युद्धमा सीएनएनले त्यस्तो कुनै समाचार प्रसार गरेन जसले संरा अमेरिकाको ‘प्रतिष्ठा’ मा धक्का पुगोस् । खाडी युद्धको बेला संरा अमेरिकाले इराकको राजधानी बग्दादको अमिरिया भन्ने गैरसैनिक बस्तीमा गरेको बमबारीबाट ४०० भन्दा बढी नागरिकहरूको हत्यालाई सीएनएनले उच्चारणसम्म गरेको थिएन ।
त्यस्तै भियतनाम युद्धको बेला माइ लाई भन्ने ठाउँमा गरेको आमहत्यालाई १९६८ मार्चको न्यूयोर्क टाइम्समा “अमेरिकी सेनाले दिनभरिको युद्धमा १२८ जना उत्तर भियतनामी सैनिकहरूलाई मारे” भनेर खबर ग¥यो । तर वास्तविकता त्यो थिएन । त्यसदिन बिहानको चारघण्टामा माइ लाईका करिब ५०० जना बच्चा, महिला, साधारण ग्रामीणहरूको आमहत्या गरेको थियो र गाउँलाई मशानमा परिणत गरेको तथ्य सन् १९६९ नोभेम्बर १३ मा विश्वसामु आयो । तर पहिले गलत सूचना वा समाचार दिएकोमा कुनै पत्रिका रेडियो र टीभीले क्षमायाचना गरेन । कुनै पत्रकारमाथि कारबाही पनि भएन । उता माइ लाईका जल्लाद क्यालेलाई कसैले पुरस्कार दियो भने जनदबाबमा जेल पुगेको त्यही जल्लाद क्यालेलाई राष्ट्रपति निक्सनले रिहा गरायो । (विस्तृत विवरणको लागि भक्तपुर सङ्ख्या ९९)
हर्वर्ट गान्स (Herbert Gans) को Deciding What’s News मा भियतनाममा संरा अमेरिकी क्रूरताको खबरलाई तथ्यहरूको वर्णनलाई अविश्वसनीय र हल्ला भनी उडाइदिने गर्छ भनी लेखेको छ । सीबीएस (CBS) समाचार संस्थाले अमेरिकी सैनिकहरूले मृतक भियतनामी सैनिकहरूको कान सड्ढलन गरेको तथ्यमा आधारित खबर प्रसार गरेको थियो तर त्यसलाई पनि हल्ला भनी उडाइदियो ।
यी कुरा यहाँ उल्लेख गर्नुको सान्दर्भिकता के हो भने माथि उल्लेखित लाओसको एक गाउँमा अमेरिकी सेनाले प्रयोग गरेको घातक सरिन ग्यासको अनुसन्धानमा आधारित खबरलाई हल्ला र निराधार सावित गर्न रक्षा मन्त्रालय पेन्टागनलगायत अमेरिकी सरकार ज्यानतोड कोसिसमा छन् । त्यसैको परिणाम दुईवर्ष अघि सान जोसे मर्करी न्यूज (San Jose Mercury News) को घटना दोहरिन थालेको छ । त्यस पत्रिकामा पत्रकार ग्यारी वेब (Gary Webb) ले आफ्नो खोजबिनबाट कुख्यात जासुसी संस्था सीआइए र निकारागुआका अमेरिकी कठपुतली कन्ट्राहरूले संरा अमेरिकामा कसरी कोकिन लागूपदार्थ तस्करी गरेका थिए भन्ने बारे धारावाहिक रिपोर्ट छापेको थियो । तर अमेरिकी सरकारले त्यस पत्रिकालाई गलत खबर छापेको भनी जर्बजस्ती क्षमायाचना गराएको थियो ।
अहिले सीएनएन र टाइमले पनि क्षमायाचना गरिसकेको छ । रमाइलो कुरा के छ भने “CNN launched an investigation” अर्थात सीएनएनले जाँचबुझ गराएको खबर दिँदै त्यस निक्र्यौललाई परीक्षण गरी पाठकहरूलाई जानकारी गराउने कुरा टाइम (जुलाई १३) को सम्पादकीयमा लेखेको छ । तर शीर्षक भने क्षमायाचना दिएको छ । अनुसन्धान पूरा नहुँदै, निक्र्यौलको अध्ययन नै नगरी क्षमायाचना गर्न सीएनएन र टाइमलाई किन हतार भयो ?
यसबाट संरा अमेरिकालाई युद्ध अपराधी ठह¥याउने स्वतन्त्रता अमेरिकी पत्रकारलाई नभएको प्रमाणित गर्छ । त्यसैले ओलिभर र स्मिथलाई सफाइको मौकासम्म नदिई निष्काशन ग¥यो, ओलिभरसँगको साक्षात्कारमा सरिन ग्यास प्रयोग गरेकै थियो भन्नेहरूले “त्यहाँ अश्रुग्यास प्रयोग गरेको थियो, सरिन त्यसो होइन” भन्न थाले, कसैले हल्लामात्र सुनेको, कसैले मैले त्यसो भनेकै होइन …. आदि इत्यादि भनी पूर्व भनाइ र दाबीबाट विमुख हुन थालेका छन् वा आफ्नो भनाइ आफैले काट्न बाध्य बनाएको छ ।
तर अप्रिलमा ओलिभर आफ्नो रिपोर्ट यथार्थ भएको कुरामा अझै दृढ छिन् । तिनले आफ्नो स्रोत भएका व्यक्तिहरू सैनिक पदाधिकारीहरूको दबाबमा आत्मसमर्पण गरेर बेग्लै बयान दिन थालेको बताएकी छिन् । तिनले सिएनएनको जाँचबुझलाई “सङ्गठित ढाकछोप” को संज्ञा दिइन् ।
यसरी पत्रकारहरूले मेहनतपूर्वक तथ्यहरू सड्ढलन गरी तयार पारेको कार्यक्रमबाट आफ्नो साँचो अनुहार उदाङ्गिएपछि संरा अमेरिकाको प्रजातान्त्रिक सरकार के कस्तो दबाब दिन्छ, एक अपराध लुकाउन दोस्रो अपराध कति निर्लज्जतापूर्वक गर्छ भन्ने तथ्य हाम्रोसामु आएको छ । केही समय पहिले राष्ट्रपति क्लिन्टन विरुद्धको पाउला जोन्सको यौनकाण्डका मुद्दा अचानक खारेज गरेको घटना हाम्रो अपराधी–अपराधअनुसारको सजाय पाउनैपर्छ र एकदिन पाउने आशा मरिहालेको छैन ।
सहयोग सामग्री
१. टाइम – जुन १५, जुन २९, जुलाई १३ (१९९८)
२. न्यूजवीक – जुलाई १३ (१९९८)
३. टाइम्स अफ इण्डिया – अप्रिल ८, (१९९८)
४. श्रमिक साप्ताहिक – साउन २१ (२०५४)
भक्तपुर मासिक, २०५५ साउन
–समाप्त

Leave a Reply

Your email address will not be published. Required fields are marked *