“धेरै पटकको जेल जीवनको कारण व्यक्तिगत चिन्ताभन्दा पनि हाम्रो समय खेर नजाओस् भन्ने चिन्ता मनमा रहिरहन्थ्यो”
- श्रावण ३, २०८३
भक्तलक्ष्मी भासिमा
सङग्लो स्फुर्त निधारमा
रातो टीका
गलामा फूलका माला
मानौँ ठूलो विजयको सूचक हो
त्यो टीका र माला ।
एक हातले लगेज दोहो¥याउँदै
अर्को हातले बिदाइको
सङ्केत छर्दै
ठूलो जहाजमा चढ्यौँ
सायद त्यो जहाजले उडान भर्दा
लिएको उचाइ जत्तिकै
तिम्रो इच्छा, चाहना
कामना, कल्पना
घरपरिवारको दानापानी
बालबच्चाको स्कूल फी
अभावको जिन्दगीभन्दा माथि
कोरेको सुगम र सरस
जीवनको सुन्दर चित्र थिए होलान्
जसले जस्तै जोखिम पनि मोल्ने
आँट भरिदियो
र त हर दिन एम्बुसमाथि
दौडिरह्यौ सुन्दर सपना समाउन ।
अफसोच !
बलिया पाखुरा जसमा स्वदेशको
सङग्लो रगत बगेका थिए
बुलन्द सास जसमा स्वदेशको शीतल हावा भरिएको थियो
स्वतन्त्रताको उडान भर्दै
आज गुलाबी बाकसमा
देह कैद गरी फर्कंदा
विवशतै विवशतामा
एक सास पनि तिमीले फेर्न नपाएझैँ
म उकुसमुकुसिएकी छु
त्यो गुलाबी बाकसमा
तिमी उकुसमुकुसिएझैँ ।
तिमी निःशब्द चुपचाप
जीवनदेखि हारेर
यसरी गुलाबी बाकसमा
आफूलाई थुनेर स्वदेश फर्कंदा
यता स्वदेशमा केही हप्ताको लागि सहानुभूतिका
धेरै शब्द
धेरै शीर्षक
धेरै आवाज
तिमीमाथि पोखिएका छन् ।
अफसोच !
ती सहानुभूति बिस्तारै मेटिनेछ समयचक्रसँग
र फेरि अर्को सपुत
त्यसरी नै एक हातले लगेज दोहो¥याउँदै
अर्को हातले बिदाइको सङ्केत छर्दै
बाध्यताको उडान भर्नेछ
एउटा अनिश्चित भविष्यतिर
जीवनसँग जीत
या फेरि अर्को गुलाबी बाकसमा कैद ?
यो अध्याय कहिले सकिनेछ ?
Leave a Reply