“धेरै पटकको जेल जीवनको कारण व्यक्तिगत चिन्ताभन्दा पनि हाम्रो समय खेर नजाओस् भन्ने चिन्ता मनमा रहिरहन्थ्यो”
- श्रावण ३, २०८३
मनिषा श्रेष्ठ
केही समयअघिको कुरा हो
म भन्थेँ
मेरो समाजमा
एउटी निर्मला छे
एउटी श्रेया छे
एउटी रूपमती पनि छे
अनि
नरभक्षकहरू मदिराको नशामा लठ्ठ हुँदै
आफ्नो कुहिएको मानसिकताबाट दोहोरिँदै
शिकार खेल्न निस्किए
ती दैत्यहरूका आँखा
निर्मलाका शरीरमा अड्किए
श्रेयाको बालापनमा लोभिए
अनि रूपमतीको हिस्सी हाँसोमा झम्टिए
हरेकपटक ती राक्षसहरूको छुवाइमा
ती नरभक्षकहरूको घटिया चाहनामा
निर्मलाको बालापन हरायो
श्रेयाको आत्मा बिलायो
अनि रूपमतीको जीवन खोसियो
अनि लाश भेट्टियो भन्ने हल्ला सुनियो
म दौडिएँ, हामी दौडियौँ
मानिसहरू रमिता हेर्दै थिए
रमिता थिई
निर्वस्त्र निर्मलाको
जीवन शून्य श्रेयाको
अनि रगताम्य रूपमतीको
आज मन भक्कानिन्छ
मेरा वाक्यहरूका काल फेरिएका छन्
म भन्छु
मेरो समाजमा
एउटी निर्मला थिई
एउटी श्रेया थिई
एउटी रूपमती थिई
मेरो वाक्यको काल परिवर्तन गर्ने त्यो तत्व
अझै शिकार खेल्दै छ
अझै आँखा डुलाउँदै छ
ऊ अर्को निर्मला खोज्दै छ
अर्को श्रेया खोज्दै छ
अनि अर्को रूपमती खोज्दै छ
ती नरभक्षकहरू निस्फिक्र्री डुल्छन्,
यता
हरेक दिन कैयौँचेलीहरू
बाहिर चःचः
भित्र छ्या छ्या खप्छन्
ती दैत्यहरू सरकारको पूजा थाप्छन्,
यहाँ
कैयौँ आमाहरू
आफ्नो छोरीको
च्यातिएको फरिया हेरी
ज्युँदै मर्छन्
ती राक्षसहरू अर्को चेली ताक्छन्,
यता
कैयौँ दाजुहरू
बहिनीको रित्तिएको सपनादेखि
आफै पुरूष भएकोमा धिक्कार्छन्
हरेक दिन अर्की निर्मला डराउँछे
हरेक पल अर्की श्रेया भाग्छे
हरेकचोटि रूपमती शङ्का गर्छे
अनि यो सरकार भाषण दिन्छ
सपना देखाउँछ
अपराधी उत्साहित गर्छन्
अनि फेरि अर्की निर्मला, श्रेया र रूपमती
निस्सासिन्छन्,
मारिइन्छन्,
पछारिन्छन्,
र अन्त्यमा
फक्रिन नसकेका फूल भई
बिलाइ जान्छन् ।
Leave a Reply