यिङस्युमा वैशाख १२ को सम्झना
- बैशाख ११, २०८३
ग्रीक मिथकमा एउटा पात्र छ – नार्सिसस । नार्सिसस आफ्नो रुपमा यति निमग्न थियो, ऊ सधैं तलाउमा आफ्नो सुन्दर छायाँ हेरिबस्थ्यो । एक दिन ऊ त्यही पोखरीमा डुबेर म¥यो । आत्मप्रशंसाको मनोरोगीलाई नार्सिस्ट भनिन्छ । आफ्नो कुनै कमजोरी देख्न नचाहने र सर्वत्र जयजयकारमात्र सुन्न चाहने मनोविज्ञान नै नार्सिस्ट हुनुको लक्षण हो । नार्सिस्टहरू आलोचना वा विरोधदेखि सदैव डराउने गर्छन् जबकि समाजमा आलोचना र विरोध स्वाभाविक हो । राम्रो मनसायले आलोचना गरेको पनि सहन नसक्ने तर झूटै भए पनि प्रशंसा सुन्न चाहने कमजोरीका कारण नार्सिस्टहरू झूटा प्रशंसकहरूकै वरिपरि रमाइरहेका हुन्छन् । सदाशयता राख्ने आलोचकहरूलाई उनीहरू टाढा भगाउने गर्छन् । आत्मप्रशंसामा रमाउने प्रवृत्तिकै कारण नार्सिसको उदेकलाग्दो अन्त्य भएजस्तै हरेक नार्सिस्टको अन्त्य पनि उदेकलाग्दो नै हुने गर्दछ ।
हान्स क्रिस्टन एन्डरसनको कथाको पात्र ‘नाङ्गो राजा’ पनि नार्सिस्ट मनोरोगका बिरामी थिए । उनी सबैले आफ्नो प्रशंसा गरिदेओस्, आफ्नो जयजयकार गरोस् भन्ने चाहना राख्थे । आफूसँग फरक मत राख्नेलाई उनी पर भगाउँथे र अन्धभक्ति गर्नेलाई काखी च्यापेर हिंड्थे । राजाको प्रतापको त्रासमा बाटो छेउ बसिरहेका मानिसहरूले राजाकै चाहनाअनुसार राजकीय सुन्दरताको जयजयकार गरे । तर, राजाको प्रतापको पर्वाह नगर्ने बालकले भनिदिए–राजा त नाङ्गो छ । बालकको अबोध आँखाले देखेको थियो, बादशाहको गिद्दीमा सल्बाइरहेका नार्सिस्ट रोगका किटाणुहरू ।
मिथक र मिथकीय पात्रहरू आफैंमा सत्य होइनन् । तर, समाजका सत्यलाई मिथकले टुक्रा टुक्रामा परावर्तन गरिरहेका हुन्छन् । मिथकका पात्रहरू जति अजीव खालका देखिन्छन्, बेलाबेला तिनमा बेजोडको सजीवता देखिने गर्दछ । आज सत्तासीन नेकपाका नेताहरूको मनोविज्ञान र क्रियाकलापको अध्ययन गर्दा ग्रीक मिथकको यो पात्रको मनोविज्ञानले बेजोड सजीवता पाएको देखिन्छ ।
ओली सरकार आज आफ्नो प्रशंसाबाहेक कतैबाट आफ्नो आलोचना वा विरोधका केही शब्द पनि सुन्न तयार छैन । उसमा यस्तो मनोविज्ञान पलाउनुको एउटै कारण दुईतिहाइ बहुमतको दम्भ । तीनै तहका राज्यमा आफ्नो बहुमत । अनि कमजोर प्रमुख प्रतिपक्ष । मानिस जब नार्सिस्ट मनोविज्ञानबाट बिरामी हुन्छ, उसलाई आफ्नो सड्ढटमा साथ दिने साथीको सम्झना हुँदैन । अझ असल साथीको असल सल्लाहलाई उसले विरोध वा दोषारोपणको रुपमा लिएको हुन्छ । अनि वरपर बसेर हुँदै नभएको लुगाको प्रशंसागान गाउने मानिसलाई आफ्नो ठान्छ । नेकपाका नेताको निम्ति हिजो आन्दोलन र सङ्घर्षको मैदानमा सँगै लडेका योद्धाभन्दा सत्ताबाट फाइदा उठाउन खुट्टा उठाइरहेका स्वार्थी र लोभीपापी नै प्यारो लागिरहेको छ । आफ्नो नजिकको महसुस गरिरहेको छ ।
प्रधानमन्त्रीले पानीजहाज कार्यालय उद्घाटन गरे । उद्घाटन भएको भोलि कार्यालयमा तालाबन्दी गरिएको मात्र थिएन, अघिल्लो दिन उद्घाटन गरिएको बोर्डसमेत बेवारिसे छोडिएको थियो । बादशाहको लुगाको सुन्दरताको प्रशंसा गर्ने मानिसहरूले बादशाहलाई नङ्ग्याएजस्तै आफ्नो नजिक मानेका कर्मचारीले ओलीलाई नङ्ग्याएका छन् । ओलीको नार्सिस्ट मनोविज्ञान बुझेर प्रशंसाको ठेली लगाएर उनीहरूले निवस्त्र हिंडाएका छन् । तर, यो वास्तविकता बुझ्न शासकलाई केही कुराले रोक्छ भने त्यो नार्सिस्ट मनोविज्ञान नै हो । प्रशंसामा रमाउने र विरोध सुन्न नचाहने भए पनि पानीजहाज कार्यालयको तालाबन्दी र बोर्डको बेवारिसे अवस्था पनि ‘सरकारविरुद्धको गम्भीर षड्यन्त्र’मा टुङ्िगन सक्छ ।
नेकपाले आफूलाई कम्युनिष्ट भन्न छोडेको छैन । उनी कार्यनीतिक कम्युनिष्ट हुन् वा सैद्धान्तिक, हलेडो भनेपछि धेरै नकोट्याऊ । तर, कम्युनिष्टहरू द्वन्द्वात्मक भौतिकवादी आँखाले संसारलाई हेर्छन् । द्वन्द्ववादहरू आलोचना र विरोधदेखि डराउने गर्दैनन् । बरु आलोचनालाई जीवनपद्धतिको रुपमा स्वीकार्ने गर्छन् । बरु अति प्रशंसालाई कम्युनिष्टले सन्देहको आँखाले हेर्नुपर्छ । प्रशंसाले जोकोहीलाई पनि आफ्नो कमजोरीबाट विमुख बनाइदिन्छ । कमजोरीबाट विमुख मानिसमा नार्सिस्ट मनोवैज्ञानिक रोगको सङ्क्रमण हुने सम्भावना बढी हुन्छ । आज ओलीले आफूलाई नार्सिस्टको मनोवैज्ञानिक रोगबाट मुक्त गर्न जरुरी छ । तलाउमा डुबेर मर्नुभन्दा त रोगको उपचार गर्नु नै वेस होइन र !
Leave a Reply