भर्खरै :

कञ्चनपुर घटनाबारे नेमकिपाको वक्तव्य

कञ्चनपुरमा बिहीबार भारतीय एसएसबीले गरेको नेपाली नागरिक गोविन्द गौतमको हत्या र ज्यादतीको विरोधमा शुक्रबार नेपाल मजदुर किसान पार्टी केन्द्रीय समितिले विज्ञप्ति जारी गरी विरोध जनाएको छ । पार्टीका केन्द्रीय सचिव सुनिल प्रजापतिले हस्ताक्षर गर्नुभएको वक्तव्यमा भनिएको छः
भारतीय सीमा सुरक्षा बल(एसएसबी)का जवानहरुले फागुन २६ गते कञ्चनपुर जिल्लाको पुनर्वास नगरपालिकास्थित स्थानीय जनताले बनाएको कल्भर्ट भत्काइ गोली हानी स्थानीय गोविन्द गौतमको हत्या गरेको घटनाप्रति नेपाल मजदुर किसान पार्टीको गम्भीर ध्यान गएको छ ।
स्थानीय जनताले नगरपालिकाको आर्थिक सहयोगमा नेपाली भूमिमा कल्भर्ट निर्माण गरेका थिए । भारतीय पक्षले अन्तराष्ट्रिय कानून समेत मिची नेपाली भूमिमा प्रवेश गरी गरेको ज्यादतीको विरोधमा उत्रेका स्थानीय जनतामाथि गोली प्रहार गरी हत्या गर्नु जघन्य अपराध हो भने अर्कोतिर नेपालको सार्वभौमिकताको उल्लंघन हो । नेपाल मजदुर किसान पार्टी त्यस घटनालाई सामान्य रुपले भारतीय सीमा सुरक्षा बलका जवानहरुको गतिविधि मात्रै नसम्झी भारतको मोदी सरकारको फासीवादी नीतिको एक दृष्टान्त सम्झन्छ
नेपाल मजदुर किसान पार्टीले नेपाल भारत सीमा नियमित गर्न निरन्तर माग गर्दै आएको हो । कञ्चनपुर घटनाले सीमा नियमनको आवश्यकतालाई थप पुष्टि गरेको छ । नेपाल मजदुर किसान पार्टी कञ्चनपुर घटनामा गोली प्रहार गर्ने एसएसबीका जवानहरुलाई आवश्यक कानूनी कार्वाही गर्न र सो घटनामा गोली लागी ज्यान गुमाएका मृतक परिवारलाई नेपालको ऐन नियमअनुसार आवश्यक क्षतिपूर्ति दिलाउन तथा घाइतेहरुलाई उचित उपचारको व्यवस्था गर्न नेपाल सरकारसित माग गर्दछ । भारतीय विस्तारवादको हस्तक्षेपकारी कदमको विरोध गर्न नेपाल मजदुर किसान पार्टी सम्पूर्ण देशभक्त नेपाली जनतामा हार्दिक अपील गर्दछ र भारतले नेपाललाई काश्मिर बनाउने षड्यन्त्र त गरिरहेको होइन भनी नेपाली जनतालाई सचेत पनि गर्न चाहन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *