मार्गनिर्देशनबारे भाइबहिनीलाई चिठी–६
- चैत्र ३०, २०८२
देशमा भ्रष्टाचार नियन्त्रण र सुशासनको लागि बनेको संवैधानिक निकायका जिम्मेवार अधिकारी नै भ्रष्टाचारमा डुबेपछि भ्रष्टाचाशून्य राज्य र शासनको अपेक्षा मिथ्या हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त राजनारायण पाठकले भ्रष्टाचार मुद्दामा आफूविरुद्ध महाभियोगको सम्भावना टार्न राष्ट्रपतिसमक्ष पदबाट राजीनामा दिए । संवैधानिक आयोगका अधिकारीमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोग स्वयम्ले अनुसन्धान गर्न हुने वा नहुने कानुनी प्रश्न उठाएर पाठकले गरेको भ्रष्टाचारबाट फेरि पनि उन्मुक्ति दिने अन्तिम प्रयास भयो । तर, सोमबार महान्यायाधिवक्ता स्वयम्ले पाठकको भ्रष्टाचार मुद्दामा छानबिन गर्न अख्तियारलाई कुनै रोकतोक नभएको प्रस्ट पारेपछि अब अख्तियारका पूर्वआयुक्तमाथि अनुसन्धान गर्न कुनै अवरोध बाँकी रहेन । पाठकले गरेको भ्रष्टाचारबारे अनुसन्धान गर्न महान्यायाधिवक्ताले जारी गरेको यो निर्णय आगामी दिनमा संवैधानिक निकायको जिम्मेवारी बोकेर स्वयम् भ्रष्टाचारमा संलग्न हुने पदाधिकारीलाई पनि कानुनी कारबाहीको दायरामा ल्याउन नजिर बन्नेछ ।
भ्रष्टाचार नियन्त्रणका लागि बनेको आयोगको जिम्मेवार पदाधिकारी स्वयम् घूस लिने, भ्रष्टाचार गर्ने काममा संलग्न भएको घटनाले नेपालको राज्य प्रशासनमा भ्रष्टाचार संस्थागत भएको प्रस्ट देखाएको छ । आज नेपालमा भ्रष्टाचार कोही अपवाद व्यक्तिले गर्ने नभई सिङ्गो प्रशासन नै भ्रष्ट भइसकेको देखिएको छ । भ्रष्टाचारको कालो छायाँ नपरेका कर्मचारी भेटाउनु दूधले धोएको मानिस भेटाउनु जत्तिकै गा¥हो विषय बनेको छ । भ्रष्टाचार र आर्थिक लेनदेन गर्न नै कतिपय कर्मचारीहरू राजनीतिक नेतृत्व र उच्चपदस्थहरूको पाउ मोलेर आर्थिक कारोबार हुने जनसम्पर्कका कार्यालयमा खटाई माग्ने गरेका छन् । आर्थिकरूपमा लेनदेन नगरे पनि व्यक्तिगतरूपमा अन्य कुनै प्रकारको सुविधा उपभोग गर्न पनि भ्रष्टाचार नै हो । घूस लिने मान्छेमात्र भ्रष्ट होइन, आफ्नो पदअनुसार काम गरेबापत खाजा खानु, गाडी भाडा लिनु, चिया खर्च माग्नु, रिचार्ज कार्ड वा मोबाइलमा व्यालेन्स माग्नु पनि भ्रष्टाचारकै रूप हुन् । सामान्य सरकारी कार्यालयका पियनसमेत केही काम गरेबापत केही रकम पाउनुपर्ने चिन्तनबाट ग्रस्त देखिन्छन् । कलेज र विद्यालयमा कुनै कार्यक्रम गरे त्यहाँका पियनहरूले खाजा खर्च भनी पैसा माग्नुलाई सामान्य घटनाको रूपमा लिने गरिन्छ जब कि त्यो भ्रष्टाचारकै रूप हो । सरकारी कार्यालयका पियनहरूले हुलाक टिकटको नाममा समेत भ्रष्टाचार गर्ने गरेका हुन्छन् । तल्लो तहमा मौलाएको भ्रष्टाचार रोकथाम गर्न नसक्नुको मुख्य कारण माथिल्लो तह स्वयम् भ्रष्ट हुनु हो । सिङ्गो कर्मचारीतन्त्र र प्रशासनयन्त्र भ्रष्ट बन्दा एकाध इमानदार कर्मचारी अझ चेपुवामा परेका छन् ।
प्रधानमन्त्रीले भ्रष्टाचारीको मुखै नहेर्ने घोषणा गरे । तर, राज्यप्रशासनभित्र मौलाइरहेको भ्रष्टाचार हेर्दा उनी आफ्नो प्रतिबद्धतामा दृढ रहन सधैंभरि गान्धारीले जस्तै कपडाको टुक्राले आँखा छोपेर बस्नुपर्ने अवस्था देखिन्छ ।
राज्यमा मौलाइरहेको भ्रष्टाचारको मूल राजनीति नै हो । राजनीतिक नेतृत्व भ्रष्ट बन्दा कर्मचारी प्रशासन र सिङ्गो समाज पनि भ्रष्टाचारउन्मुख बन्दै गएको हो । समाजमा भ्रष्टाचार यति कस्सिलो गरी बसेको छ–अब जनतालाई के गर्नु भ्रष्टाचार गर्नु हो र के गर्नु भ्रष्टाचार गर्नु होइन भन्ने छुटाउनसमेत गा¥हो हुने अवस्था छ । तर, यदि राज्यले कुनै पनि बहानामा भ्रष्ट उच्च पदाधिकारीलाई संरक्षण गर्छ भने जनतामा राज्यप्रति अविश्वासमात्र बढ्ने होइन, सिङ्गो समाज नै भ्रष्ट बन्दै जाने नियतिमा पुग्नेछ ।
राजनारायण पाठकलाई कारबाही गराउन लोकमानसिं कार्कीलाई पदबाट निकाल्नजस्तै सडक तताउनुपर्ने अवस्था आउन दिनुहुन्न । भ्रष्टाचारीलाई भ्रष्टाचार नियन्त्रणको जिम्मेवारी पाएको निकायबाटै नियन्त्रण हुनुपर्छ । घूस लिएको प्रस्ट प्रमाण हेरिसकेका प्रधानमन्त्रीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा भ्रष्ट पाठकसँग एकै मञ्चमा बसेको घटनाले भ्रष्ट र भ्रष्टाचारीविरुद्ध उनको भनाइ ‘भित्री कुरा नमिल्दासम्मको वचन’ मा सीमित हुनेमा फेरि पनि खबरदारी आवश्यक छ ।
Leave a Reply