भर्खरै :

भरतपुर मनपामा मेयर र उपमेयरबीच किचलो

–आर. के.श्रेष्ठ
भरतपुर महानगरपालिकाको मेयर र उपमेयरको मनमुटाब, एकआपसमा दोषारोपण र आन्तरिक किचलोहरू सतहमा छताछुल्ल हुन पुगेको छ । सञ्चारमाध्यम तथा सामाजिक सञ्जालहरूमा मेयर र उपमेयरका एकआपसका टकराबहरू बाहिर आउँदा नगरवासीमा महानगरप्रति चिन्ता र चासो बढेको छ ।
उपमेयर पार्वती शाहले मङ्गलबारको बैठक बहिष्कारपछि पत्रकार सम्मेलन गरे । बैठकको एजेण्डाको विषयमा पूर्वजानकारी नगरिएकोले फागुन ७ गतेको २५ औँ नियमित बैठक उपमेयर शाहसहित नेपाली काङ्ग्रेसका वडा अध्यक्षहरूले बहिष्कार गरे । कार्यभार समालेदेखि मेयरले एकलौटी ढङ्गले महानगर चलाउँदै आएको असन्तुष्टी शाहको हो ।
उपप्रमुखको सचिवालयले चलाउँदै आएको फेसबुक मेसेन्जरमा उपमेयर शाहलाई ज्यान मार्ने धम्की आए पनि महानगर गम्भीर नभएको शाहको गुनासो छ । उहाँले बुधबार प्रेस विज्ञप्तिमार्फत आफ्ना १२ बुँदे मागहरू बाहिर ल्याउनुभएको छ । लेखा समिति गठन नगरिएकोले अनिमियतता बढेको, जिन्सी समिति गठन नगरिएको, महत्वपूर्ण समितिहरू एकलौटी ढङ्गले गठन गरिएको, चरम आर्थिक अनियमितता हुने गरेको, आस्था र विचारका आधारमा कर्मचारीलाई दुःख दिने काम भएको, महानगरलाई राजनैतिक थलो र केन्द्र बनाउन खोजेका जस्ता कुराहरू विज्ञप्तिमा उल्लेख छन् ।
उपमेयरले आफ्नो मान्छेलाई महानगरपालिकाको कार्यालयमा जागिर मिलाई दिनुप¥यो, उपमेयरलाई पनि घर भाडा दिनुप¥यो भन्नेजस्ता नाजायज मागहरू राखेर उपमेयरले असन्तुष्टी पोखेकोे मेयर दाहालको कुरा छ । (चितवन पोष्ट, फागुन ७, २०७५)
महानगरमा १२ जना वडाध्यक्ष, २ जना कार्यपालिका सदस्य र १ उपमेयर काङ्ग्रेसबाट चुनिएका हुन् । नगर परिषद्का १ सय ५० जनामध्ये ६९ जना काङ्ग्रेसबाट निर्वाचित भएका छन् । यस्तै नगर कार्यपालिकामा ४९ सदस्यहरू काङ्ग्रेसबाट चुनिएका छन् ।
भरतपुर महानगरपालिकामा मेयर रेणु दाहालको मासिक पारिश्रमिक ४२ हजार छ । उहाँले सवारी साधन र इन्धनको पनि सुविधा लिनुभएको छ । भरतपुरमा आफ्नो बस्ने घर नभएकोले मासिक ३३ हजार ६ सय रुपयाँ मेयरको लागि घर भाडामा खर्च हुन्छ । इन्धनबापत मेयर दाहालले गत असोजमा १४ हजार, कार्तिकमा १९ हजार, मंसिरमा १२ हजार रुपैयाँ लिनुभएकोे छ । भरतपुर महानगरपालिका–१२ मा उपमेयर शाहको घर छ । आफ्नै घर भएकालाई घर भाडा उपलब्ध गराउन सकिंदैन । उहाँ मासिक पारिश्रमिक ३७ हजार पाउनुहुन्छ । इन्धन र सवारी साधनको सुविधा पनि उहाँलाई छ । इन्धनबापत उपमेयरले गत असोजमा २४ हजार, कार्तिकमा ३८ हजार र मंसिरमा ३२ हजार रुपैयाँ खर्च गर्नुभएकोे छ । गत तीन महिनामा मेयर दाहालको ४५ हजार इन्धनमा खर्च भएको छ भने उपमेयर शाहको ९३ हजार इन्धनमा खर्च भएको देखिएको छ । (चितवन सञ्चार डटकम, ८ फागुन २०७५)
तत्कालीन एमाओवादीबाट मेयर पदको लागि रेणु दाहाल र काङ्ग्रेसबाट उपमेयर पदको लागि पार्वती शाहको उम्मेदवारी दर्ता गराई दुई पार्टीको भागवण्डा मिलाएर भरतपुर महानगरपालिकामा संयुक्त रुपमा स्थानीय तहको निर्वाचन लडेका थिए । त्यतिबेला सोझा नगरवासीसँग दाहाल र शाहले कुम जोडेर मत मागेका थिए । मीठा र गुलिया आश्वासन र लोभलालच देखाएर महानगरको मेयर र उपमेयर पदमा निर्वाचित भएका थिए । परिस्थिति एकनास रहेन ! वाम एकतापछि मेयर र उपमेयरको टकराब बढ्न पुगेको हो । आज महानगरका जनता मेयर र उपमेयरको चर्तिकला देखेर दङ्ग छन् । सिद्धान्तहीन र उद्देश्यविहीन राजनैतिक सम्झौताले समाजलाई धोका हुन्छ । महानगरमा आफ्ना मान्छेलाई भर्ती गर्न र जसरी हुन्छ आर्थिक अनियमितता गरी आ–आफ्नो स्वार्थ पूरा गर्नमै मेयर उपमेयर तल्लीन रहेको देखिन्छ । मेयर र उपमेयरको आरोप प्रत्यारोप हेर्ने हो भने भरतपुर महानगरपालिकामा लुट धन्दा चलेको बुझ्न सकिन्छ ।
गरिबका गाँसबाट जम्मा हुने राजश्वमा रजाइँ गर्ने अधिकार महानगरका पदाधिकारीलाई छैन । दलगत र व्यक्तिगत स्वार्थ केन्द्रित राजनीतिले महानगरवासीको हित हुनसक्दैन । ठूलठूला महत्वाकाङ्क्षी उद्देश्य र योजनाहरू ल्याउने, दातृ निकायहरूसँग हात थाप्नाले पनि भरतपुर महानगर आत्मनिर्भर र समृद्धि हुनसक्दैन । ठूला उद्यमी, पुँजीपति, मालिकदेखि लिएर वर्षदिन दुःख गरेर उत्पादन भएको अन्नले तीन महिना पनि खान नपुग्ने गरिब चेपाङ जाति पनि भरतपुर महानगरमा छन् । दिनभरि काम गरेर एक छाक खान पनि धौधौ पर्ने मजदुर, किसान र सुकुमवासीहरू महानगरमा छन् । आर्थिक असमानता बढ्दो छ । गरिब झन् गरिब हुँदै छन् । सीमित व्यक्तिहरूमात्र सम्भ्रान्त हुँदैमा महानगर समृद्धि हुनसक्दैन । भरतपुर महानगरपालिकाले स्कूल कलेजहरू खोली सस्तो सुलभ रुपमा शिक्षा दिनु आवश्यक छ । महानगरले शिशुशाला खोल्नुपर्दछ । ज्येष्ठ नागरिकको लागि आदर निकेतनको व्यवस्था गर्नुपर्दछ । प्रत्येक वडामा निःशुल्क स्वास्थ्य सेवा सुविधा पु¥याउनुपर्दछ । बढ्दो महँगी, बेरोजगारी समस्या समाधान गर्न महानगरको ध्यान जानु आवश्यक छ । महानगरले ल्याउने कार्यक्रमले तल्लो स्तरका जनता प्रभावित हुुनुपर्दछ । नजिकको मान्छे र पहुँचवालाहरूमा मात्र महानगरको सेवा र सुविधाहरू पुग्नु भएन । रोजगारी सिर्जनातर्फ पनि महानगरपालिकाको ध्यान जानु आवश्यक छ ।
प्रचण्डका पुत्री मेयर रेणु दाहाल र काङ्ग्रेसबाट निर्वाचित उपमेयर पार्वती शाह ठकुरी दुवै भरतपुर महानगरका अभिभावक हुन् । सामान्य र वास्तविक समस्या समाधान गर्नतर्फ भरतपुर महानगर लाग्नु आवश्यक छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *