मार्गनिर्देशनबारे भाइबहिनीलाई चिठी–६
- चैत्र ३०, २०८२
प्रेम के. निडर
टोलका बुढापाकाहरू पाटीमा बसेर गफ गर्थे । पाटीको ठीक अगाडिपट्टि मासु पसल थियो । कुकुरहरू एक टुक्रा हाडको आसले पसलतिर हेर्दै बसेका हुन्थे । मासुपसलेलाई अलिकति नरमाइलो भयो भने हाड एक टुक्रा फालिदिन्थ्यो र कुकुरहरूको झगडा हेरेर मज्जा लिने गर्दथ्यो ।
आज मासु पसलमा ग्राहकहरू त्यति थिएनन् । कुकुरहरू मासु पसलको वरिपरि बसेर मासु पसलतिर हेर्दै थिए । मासु पसलेलाई दिक्क लागेर हो कि कुकुरहरूलाई एक टुक्रा हाड फालिदियो । कुकुुरहरूलाई के चाहियो र ? कुकुरहरू झगडा गर्नथाले । पसलेले अर्को टुक्रा पनि फालिदियो चलाकीपूर्ण तरिकाले । यसपटक एउटा मोटे कुकुरले अर्को दुब्लो कुकुरलाई घाँटी समातेर अँठयाउन थाल्यो ।
मासुपसलेलाई मात्र होइन वरिपरिका मानिसहरू पनि रमाइलो लागेर हेर्न झुमिहाले । आज न्हुच्छे काका पनि नातिलाई खेलाउन आएका थिए पसलनजिकै । कुकुर झगडामा दुब्लो पातलो कुकुरलाई घाँटी अठयाइरहेको देखेर उसलाई नरमाइलो लाग्यो । नाति रमाइलो मानेर हेरिरहेको थियो । हेर्दाहेर्दै नातिले सोध्यो “बाबा ! कुकुरहरू किन त्यसरी झगडा गरेको ?”
नातिलाई हरेक कुरामा शङ्का लाग्यो कि सोधिहाल्ने बानी छ । न्हुच्छे काकालाई त्यो कुरा थाहा थियो । नातिको प्रश्न सुनेर रमाइलो मान्दै न्हुच्छे काकाले भन्यो, “एक टुक्रा हाडको निम्ति कुुकुरहरू यसरी झगडा गरेका हुन्, बुझ्यौ ।”
कुकुरहरू एकले अर्कोलाई टोक्दै थिए । न्हुच्छे काकाको नातिले फेरि अचम्म मान्दै सोध्यो “बा !बा ! एक टुक्रा हाडको निमित्त यसरी झगडा गर्नुपर्छ र ? के कुकुरले कहिल्यै मासु खान पाएको हुँदैन ?”
नातिले एकपछि अर्को प्रश्नहरू गरेको देखेर न्हुच्छे काकाको मन धेरै खुसी भयो । उनीहरूको चञ्चलता र उत्सुकतालाई दबाउन नहुने सोचेर काकाले बिस्तारै भने “कुकुर लोभी जात हो । आपूmले मात्र खानपाए हुन्छ भनी सोच्छ कुकुर । आफूले खान लागेको बेलामा कुनै कुकुर आएको देख्न सहँदैन । त्यस्तो लोभी स्वभावले नै झगडा गरेको हो ।”
न्हुच्छे काकाले भनेको नातिले बुझेको हो कि होइन । नाति चुप लागेर कुकुरहरूको क्रियाकलाप हेरिरहेको थियो ।
न्हुच्छे काका पाटीमै थिए । नाति खेल्दै थियो । एकछिनपछि कुकुरहरू फेरि एक आपसमा मिलेर खेल्नथाले । न्हुच्छे काकाको नाति कुकुरहरू फेरि मिलेर खेल्न थालेको देखेर अचम्म मान्दै सोध्यो “बा ! बा ! अघिसम्म कस्तो नराम्रोसँग झगडा गरेका कुकुरहरू अहिले तुरुन्तै मिलेर खेल्नथाले । के तिनीहरूसँग रिस भनेको नै हुँदैन ?”
“रिस भनेको सबै जीवजन्तुहरूमा हुन्छ । कुकुरसँग पनि रिस हुन्छ । तर कुकुरहरूको स्वभाव अलि भिन्न छ । तिनीहरूको खाने बेलामा झगडा गर्ने र अरु बेलामा मिलेर खेल्ने स्वभाव भएर नै तिनीहरूलाई कुकुर भनेका हुन् । हामी मानिसहरूमा पनि त्यस्तो स्वभाव भयो भने कुकुर भन्ने गर्छ । बुझ्यौ ।” नाति भने न्हुच्छे काकाको कुराभन्दा कुकुरहरूको खेल रमाइलो मानी हेर्दै थियो ।
Leave a Reply