भर्खरै :

पार्टी नेतृत्वको होडबाजी !

– हर्षबहादुर केसी
ठूला दलका नेताहरूको चिन्ता र चासो देश र जनताको सेवा होइन । पद र पैसाको निम्ति ती नेताहरू तँछाडमछाड गर्छन् । पद र पैसाविना उनीहरू छटपटिन्छन् । ठूला दलका नेताहरू पद र पैसाविना बस्न सक्दैनन् । जसरी भए पनि सरकारमा पुग्ने, सरकारको नेतृत्व गर्ने र भागबण्डा खोजेर ऐय्यासी जीवन बिताउने उनीहरूको ध्येय हो । नेकाका शीर्ष नेताहरूको असन्तुष्टि पद नपाएरै हो, नेतृत्व नपाएरै भएको हो । तिनीहरू नेतृत्वका भोका हुन् । नेतृत्वमा पुग्नकै लागि तिनीहरू पार्टी नेतृत्वको आलोचना गर्छन् । बेलाबखत असन्तोष पोख्छन् । ती दलका नेताहरू सिद्धान्त र विचारभन्दा पद र पैसा नै ठूलो ठान्छन् । तिनीहरू पद र पैसामा मरिहत्ते गर्छन्, मरिहत्ते गरिरहेका छन् ।
अहिले नेकामा नेतृत्वको होडबाजी चलिरहेको छ । पार्टीको नेतृत्व गर्न देउवा असफल रहेको अर्को पक्षको मत छ । कोइराला परिवारबाटै पार्टीको नेतृत्व गर्नुपर्ने विचार गलत भएको देउवा पक्षको मत हो । पार्टी नेतृत्व गर्न कोइराला र देउवाबाहेक अर्को पक्षले पाउनुपर्ने मत पनि नेकाभित्र देखिएको छ । यसरी नेकामा वाक्युद्ध चलिरहेको छ । एकले अर्काको खुट्टा तान्ने काम भइरहेको छ । पुँजीवादी चरित्रका नेताहरू पद र पैसामा भुल्नु स्वाभाविक हो । यस्तै प्रवृत्ति आफूलाई कम्युनिष्ट भनिने नेकपाका नेताहरूमा पनि देखिएको छ । नेकपाका एक अध्यक्ष पुष्पकमल दाहाल आफ्नै पार्टीका अध्यक्ष केपी ओलीलाई बेलाबखत तर्साउँछन्, तर्साइरहेका छन् ।
नेकपा अध्यक्ष दाहालले केपी ओलीलाई ठाउँमा ल्याउन नयाँ माओवादी जन्मने चेतावनी दिए । उनले भारत भ्रमणको क्रममा भारतीय शासकसामु नेपालमा पालैपालो शासक बन्ने सहमति भएको कुरा फुके । नेपाल र नेपाली जनताबीच सार्वजनिक नगरिकन अध्यक्ष दाहालले भारतकै भूमि र भारतीय शासकसमक्ष किन त्यो कुरा फुके ? रहस्यको विषय छ । केपी ओलीले बीचमा सरकारको नेतृत्व फेर्दैन भनी फुकिरहेको बेला दाहालको उक्त अभिव्यक्ति सार्वजनिक भएपछि प्रम ओली झस्केका थिए । यसले अध्यक्ष दाहाल सरकारको नेतृत्व गर्न लालायित भएको थाहा हुन्छ । पाँच वर्षको शासन केपी ओलीले नै गर्ने हुन् या दाहाललाई सिंहासन छाड्ने हुन् ? पछि समयले बताउनेछ ।
देउवा सभापति पद छाड्न चाहँदैनन् । ओलीले पनि पार्टी अध्यक्ष र प्रमको प्रम पद छोड्ने स्थिति छैन । पूर्वमाओवादी केन्द्रका अध्यक्ष दाहालको, पार्टी एकीकरणमा आफ्नो हात भएको हुँदा सरकारको नेतृत्व आफूले पनि पाउनुपर्ने उनको दाबी देखिन्छ । नेकामा देउवाको प्रभाव बढी भए पनि उनले पार्टीको नेतृत्व सम्हाल्न नसकेको असन्तुष्ट पक्षको दाबी गलत होइन । पार्टीको नेतृत्व गर्न चाहने कोइराला पक्षधरहरूले पार्टीको लागि के त्यागे भन्ने देउवाको प्रश्न छ । यसरी ठूला दल नेका र नेकपामा प्रत्यक्ष या अप्रत्यक्ष रुपमा सरकार र पार्टी नेतृत्वको होडबाजी भइरहेको घामझैँ छर्लङ्ग छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *