भर्खरै :

थारू समुदायका परम्परागत घर लोप हुने स्थितिमा

– राजेन्द्रप्रसाद पनेरु
कञ्चनपुर, २० फागुन । काठ र घाँसबाट बनेका कञ्चनपुरका थारू समुदायका चिटिक्क परेका घरहरू लोप हुने स्थितिमा पुगेका छन् । टाढैबाट थारू समुदायलाई चिनाउने घरका ठाउँमा आधुनिक शैलीका पक्की घरहरू निर्माण हुन थालेपछि परम्परागत घर लोप हुने स्थितिमा पुगेका हुन् । काठ, टायल, भित्तामा लगाइने खरिया घाँस र तलाउको चिम्टाइलो माटोको अभाव हुन थालेपछि परम्परागत घर लोपोन्मुख अवस्थामा पुगेको नरेन्द्रप्रसाद चौधरीले बताउनुभयो । “थारू समुदायको आर्थिक अवस्थामा आएको सुधारसँगै घरसमेत आधुनिक शैलीका निर्माण हुन थालेका छन्,” चौधरीले भन्नुभयो । “पहिले काठ वन क्षेत्रबाट सित्तैमा ल्याउन पाइन्थ्यो ।
माटो र खरिया घाँसको समेत मूल्य चुकाउनु पर्दैनथ्यो । वनहरू सामुदायिक वनमा परिणत भएपछि घर निर्माण गर्ने सबै सामग्री खरीद गरेर ल्याउनु पर्दा अधिक खर्च गर्नुपर्ने र झन्झटसमेत व्यहोर्नुपर्ने भएकोले परम्परागत घर थारू समुदायले बिर्संदै गएका छन्,” धनिराम चौधरीले भन्नुभयो । छानामा लगाउने टायल र खप्टा बनाउने उद्योग नै बन्द भएपछि परम्परागत घरसमेत बन्ने क्रममा निकै कमी आउन थालेको उहाँले बताउनुभयो । बजार क्षेत्र र त्यस आसपासका थारू समुदायले पक्की घर ठड्याइसकेका छन् । ग्रामीण क्षेत्रका बासिन्दा अन्य समुदायको देखासिकीमै पक्की घर बनाउन थालेका छन् । केही ठाउँमा परम्परागत घर जोगाउनका लागि घरवास सञ्चालन गरिएका छन् ।
परम्परागत शैलीका घर जोगाएर पर्यटकलाई भित्र्याउन सकिने भए पनि त्यो कुरा धेरैलाई थाहा नहँुदा परम्परागत घरको काठ सःमिलमा बेचेर नयाँ पक्की घर बनाउन थालेको रामप्रसाद चौधरीले बताउनुभयो । उहाँका अनुसार परम्परागत थारू समुदायका घरमा बरेली, चरुवा, बरियानी, सर्वल, कडी, खावाँ, टायल, बत्ता, खरियाको प्रयोग गरी घर निर्माण हुने गरेका थिए । घरका झ्याल भने माटोका विभिन्न आकृतिले भरिया हुने गरेको उहाँले बताउनुभयो । जसलाई थारू भाषामा ‘मोका’ भन्ने गरिन्छ । थारू समुदायका परम्परागत घरमा भित्र जाने बाटो पिरयानी, पाहुनालाई बस्नका लागि डेहरी, खाना पकाउने बहरी, सुत्ने कोठा कोन्टीलगायत वैज्ञानिक तरिकाले बनाइने गरिन्छ । हावा ओहरदोहर गर्नका लागि डेहरीका दुवैतर्फ ढोका राखिएको हुन्छ । “आगलागी वा अन्य कारणले घरबाट आपत्कालीन अवस्थामा बाहिर जानुपर्ने भए दुईवटै ढोकामध्ये एकलाई प्रयोगमा ल्याउन सकिने गरी निर्माण गरिन्छ,” आशाराम चौधरीले भन्नुभयो ।
खरिया घाँसको भित्तामा महिलाले चार प्रकारले लिपपोत गर्ने हुँदा घरको भित्तामा सिमेन्ट जत्तिकै टिकाउ नहुने भए पनि बलियो भने त्योभन्दा बढी हुने गरेको उहाँको भनाइ छ । परम्परागत घर निर्माण गर्न १७ दिनदेखि २५ दिनसम्म लाग्ने गर्दछ । “घर निर्माण गर्दा पालैपालो गाउँका सबै जनाले श्रमदान गरी बनाई दिन्थे,” पुरन चौधरीले भन्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *