भर्खरै :

काठ अभावमा गोरखा दरबार पुनःनिर्माण रोकियो

गोरखा, २२ फागुन । भूकम्पले क्षति पु¥याएको ऐतिहासिक गोरखा दरबारको पुनःनिर्माण फेरि रोकिएको छ । काठको अभाव देखाउँदै ठेकेदार कम्पनीले गएको १५ दिनदेखि दरबारको पुनःनिर्माणको काम रोकेको हो । “गएको १०÷१२ दिनदेखि कोही पनि यहाँ फर्केर आएका छैनन्, गोरखकाली मन्दिरका पुरोहित शारदाप्रसाद भट्टराईले भन्नुभयो, “काठ नभएकाले काम रोकिएको भन्ने सुनेका छांै ।” अहिले दरबारको जग निर्माणको काम सकिएकाले इलम ढुङ्गामा थाम राख्न तयारी गरेको भए पनि काठ अभाव भएपछि निर्माणकार्य अवरुद्ध भएको हो । थामका लागि साइजअनुसारको काठ नपाएपछि काम रोकिएको गोरखा दरबार हेरचाह अड्डाका निमित्त प्रमुख रामेश्वर कट्टेलले जानकारी दिनुभयो । पुनःनिर्माणका लागि सम्झौता भएको १५ महिना बितिसक्दा पनि दरबारको जग निर्माणबाहेकको काम अघि बढ्न छैन । पटकपटक काम स्थगित हुँदा तोकिएको समयमा निर्माण सम्पन्न गर्न समस्या हुने देखिएको निमित्त प्रमुख कट्टेलको भनाइ छ । राष्ट्रिय पुरातत्व विभागले विसं २०७४ कार्तिकमा पचली सिवाको जेभी कन्सट्रक्सनसँग गोरखा दरबार पुनःनिर्माण गर्न ठेक्का सम्झौता गरी पुस महिनादेखि काम अघि बढाएको थियो ।
पुनःनिर्माणको काम सुरु भएदेखि अहिलेसम्म धेरै पटक निर्माणकार्य रोकिएको उहाँले बताउनुभयो । कहिले कामदारको अभाव त कहिले सामान ढुवानीको समस्यालगायतका कारण देखाउँदै काम रोकिने गरेको छ, कट्टेलले भन्नुभयो, “अहिले फेरि काठ अभाव भयो भनेर काम रोकिएको छ । तत्कालका लागि दरबार पुनःनिर्माण क्रममा अहिले छ÷चार साइजको काठ आवश्यक परेको भन्ने ठेकेदारको भनाइ छ । थाम राख्नका लागि मात्र कम्तीमा १०० क्युफिट काठ आवश्यकता पर्ने उहाँले बताउनुभयो । गएको एक हप्ता अगाडि नै एक÷दुई दिनभित्रमा आउँछ भन्ने जानकारी पाएको भए पनि अहिलेसम्म काठ नआएको निमित्त प्रमुख कट्टेलको भनाइ छ ।
भनेका बेलामा काठ पाउन गा¥हो हुँदोरहेछ, निमित्त प्रमुख कट्टेलले भन्नुभयो, “ठेकेदारले टिम्बर कर्पोरेशनलाई आग्रह गरेको भए पनि समयमा उपलब्ध हुनसकेको छैन ।” उहाँले दरबार पुनःनिर्माणका लागि काठ अभाव भएपछि डिभिजन वन कार्यालय गोरखालाई समेत सहयोगका लागि आग्रह गरेको बताउनुभयो । पुरातत्व विभागले विसं २०७६ पुसभित्र दरबार पुनःनिर्माण सम्पन्न गर्ने गरी सिवाको जेभी कन्सट्रक्सनसँग ठेक्का सम्झौता गरेको थियो । तत्कालीन राजा राम शाहको पालामा विसं १६६६ ताका बनेको अनुमान गरिएको गोरखा दरबार करीब रु. चार करोड ३७ लाख लागतमा पुनःनिमार्ण सुरु गरिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *