भर्खरै :

उपभोक्ता आन्दोलन पुँजीवादविरोधी आन्दोलनको हिस्सा

विश्व उपभोक्ता दिवसले जनस्तरमा जति व्यापकता पाउनुपर्ने हो, त्यत्ति पाउन सकेन । सरकारले पनि शुक्रबार कर्मकाण्डी पाराले मात्र उपभोक्ता दिवसको अवसरमा एकाध गतिविधि गरेको देखियो ।
सबै मानिस नै उपभोक्ता हुन् । त्यसकारण उपभोक्ता अधिकार सबै मानिसको अधिकार हो । मानिसले उपभोग गर्ने वस्तुलाई नै उपभोग्य वस्तु भनिने भएकोले उपभोग्य वस्तुसम्बन्धी उपभोक्ता अधिकार आधारभूत मानव अधिकार हो । खाद्य वा अखाद्य उपभोग्य वस्तुमा हुने कुनै पनि प्रकारको गलत अभ्यासले प्रत्यक्षरूपमा मानिसको स्वास्थ्य र जीवनमा असर गर्ने गर्छ । खाद्य वस्तुमा नाफाको लागि व्यापारीले गर्ने अखाद्य वस्तुको मिसावट, बढी नाफाकै लागि नापतौलमा गर्ने गडबडी, उपकरणमा प्रयोग हुने कमसल पार्टपुर्जा, यात्राको क्रममा यात्रुले भोग्नुपर्ने असुविधा आदि सबै उपभोक्ता अधिकारसँग सम्बन्धित विषय हुन् ।
पुँजीवादी व्यवस्था नाफामा आधारित व्यवस्था हो । पुँजीपति वर्ग मुनाफामात्र हुने भए जस्तोसुकै गलत काम गर्न पनि अघि सर्ने गर्छन् । नाफाको लागि मानिसको स्वास्थ्यमा प्रतिकूल असर गर्ने कुनै पनि काम गर्न उसलाई कुनै सङ्कोच हुँदैन । उसको नैतिकता र मानवता नाफाले परिभाषित गर्ने गरेको हुन्छ । पुँजीवादी व्यवस्थाको यही विशेषता वा कमजोरीका कारण उपभोक्ता अधिकार पुँजीवादी व्यवस्था सबभन्दा खतरामा हुने गर्दछ । उपभोक्तालाई त्यो खतराबाट जोगाउने कुनै पनि सङ्घर्षको अन्तिम बिन्दु भनेको पुँजीवादविरोधी सङ्घर्ष नै हो अर्थात् उपभोक्ता आन्दोलन पुँजीवादविरोधी आन्दोलनकै एउटा रूप हो ।
पुँजीवादी सरकार आफैँ पुँजीपति वर्गको सञ्चालक समिति हो । त्यसकारण पुँजीवादी सरकारले उपभोक्तालाई प्रतिकूल असर पार्ने वस्तु उत्पादन गर्ने कुनै पनि पुँजीपतिबाट हुने अनैतिक र अमानवीय कामलाई संरक्षण गरिरहेको हुन्छ । पुँजीवादी सरकारहरूले त्यो बिन्दुसम्म उपभोक्ता अधिकारको रक्षा गर्छ जुन बिन्दुसम्म पुँजीपति वर्गको नाफामा कुनै असर गरेको हुँदैन ।
उपभोग्य वस्तुमा हुने अखाद्य मिसावटकै कारण आज संसारमा धेरैथरीका रोगव्याधी फैलिएका छन् । विशेषतः कमसल र गुणस्तरहीन वस्तुको मिसावटले आइपर्ने समस्याको तारो गरिब जनता नै हुने गरेका छन् । बढी उत्पादन गर्ने नाममा प्रयोग हुने विषादीका कारण आज क्यान्सरजस्ता प्राणघातक रोगले व्यापकता पाइरहेको छ । पुँजीवादी व्यवस्था यति क्रर हुन्छ, क्यान्सर अस्पताल र क्यान्सरका औषधिको व्यापार विस्तार गर्न क्यान्सरका औषधि उत्पादकले विषादी उत्पादनमा समेत लगानी गरिरहेका हुन्छन् । भोको पेट भर्ने ध्यानमा लागेका गरिब जनताले आफूले खाँदै गरेको खाना विष हो भन्नेसमेत थाहा पाउँदैनन् । अन्ततः असमयमै अनेकन रोग लागेर मानिसहरू अनाहक मारिंदै छन् ।
उपभोक्ता अधिकारबारे नेपालमा भएका नियम कानुनबारे अझै पनि व्यापक जनतालाई जानकारी पनि छैन । सरकारले न त सर्वसाधारण जनतालाई उपभोक्ता ऐन र अधिकारबारे सचेत बनाएको छ न उपभोक्ता नियमविपरीत अभ्यास गर्ने व्यापारीलाई प्रभावकारी नियन्त्रण गर्न सकेको छ । स्थानीय तहलाई बजार अनुगमन गर्ने अधिकार दिइएको छ । तर, अधिकांश स्थानीय तहले यो अधिकार अभ्यास गर्नसकेका छैनन् । बजार अनुगमन गरेका स्थानीय तहले पनि पसलमै मात्र आफूलाई सीमित बनाएका छन् । उपभोक्ता अधिकार केही खाद्य पसलहरूमा मात्र सीमित विषय होइन । यातायातका साधनदेखि विभिन्न उपकरणमा प्रयोग गरिएको पार्टपुर्जासम्म पनि यो सम्बन्धित विषय हो । सरकारले उपभोक्ता अधिकारबारे एकातिर जनतालाई सचेत बनाउने र अर्कोतिर गलत अभ्यास गर्नेलाई कारबाही गर्ने दुई आयामिक जिम्मेवारी पूरा गर्न जरुरी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *