भर्खरै :

भक्तपुर अस्पतालले प्रत्यारोपण केन्द्रलाई दियो हेमोडाइलाइसिस मेसिन

भक्तपुर, १० चैत । भक्तपुर जिल्लाकै पुरानो भक्तपुर अस्पतालले आफ्नै परिसरमा सञ्चालित सहिद धर्मभक्त मानव अङ्ग प्रत्यारोपण केन्द्रलाई आइतबार २ वटा हेमोडाइलाइसिस मेसिन हस्तान्तरण गरेको छ  । अस्पतालको सभाकक्षमा आयोजित एक कार्यक्रममा प्रदेश नं. ३ का सामाजिक विकासमन्त्री युवराज गर्तौलामार्फत ती मेसिनहरू केन्द्रका निर्देशक डा. पुकारचन्द्र श्रेष्ठलाई हस्तान्तरण गरिएको थियो ।
केन्द्रमा दैनिक २ सय जनाको हाराहारीमा मिर्गौला रोगीहरूलाई डाइलाइसिस उपचार गरिरहेको र रोगीहरूको चाप दिनहुँ बढिरहेको सन्दर्भमा उपचारलाई थप सहज बनाउन मेसिनहरू हस्तान्तरण गरिएको अस्पताल स्रोतले बतायो । भक्तपुर अस्पतालमा ती मेसिनहरू दुई वर्षअघि जर्मन सहयोग संस्थाले सहयोगस्वरुप प्रदान गरेको र हालसम्म जनशक्ति अभावको कारण प्रयोगमा नआइरहेको चर्चा गर्दै आप्mनै परिसरमा रहेको देशकै उत्कृष्ट अङ्ग प्रत्यारोपण अस्पताललाई मेसिन प्रदान गर्न पाएकोमा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. सुधा देवकोटाले बताउनुभयो ।
केन्द्रका निर्देशक डा. श्रेष्ठले अस्पताललाई धन्यवाद ज्ञापन गर्दै अस्पताललाई आवश्यक पानी केन्द्रको तर्फबाट प्रदान गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले अङ्ग प्रत्यारोपण केन्द्रमा मिर्गौलासँगै कलेजोको सफल प्रत्यारोण भइरहेको उल्लेख गर्दै २ जना मुटुरोग विशेषज्ञको दरबन्दी सरकारले बन्दोबस्त गरेमा दक्षिण एसियामै उत्कृष्ट स्तरको मुटुरोग उपचार गर्न सक्ने क्षमता रहेको बताउनुभयो । हालै अस्पतालले प्रदान गरेको डाइलाइसिस मेसिनमध्ये एउटाले भक्तपुरवासीलाई प्राथमिकतामा राखेर उपचार सेवा प्रदान गर्ने उहाँको भनाइ थियो ।
कार्यक्रममा मन्त्री गर्तौलाले भक्तपुर अस्पताल जिल्लास्तरको मात्र नभई क्षेत्रीयस्तरको भएको चर्चा गर्दै अस्पताल विकासको निम्ति प्रदेश सरकार सबै खालको सहयोग गर्न तयार रहेको बताउनुभयो । उहाँले अस्पतालमा चिकित्सक, प्रशासन र विभागहरूबीच समन्वयको अभाव भएको आफूले अनुभव गरेको उल्लेख गर्दै स्थानीय तह र स्थानीय जनताको भावनाअनुसार सेवा सुविधा विस्तार गर्नुपर्नेमा जोड दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *