भर्खरै :

भक्तपुरका ९२ विद्यालयका शिक्षकलाई तालिम दिइने

भक्तपुर, १० चैत । भक्तपुर नगरपालिकाकोे आयोजनामा आइतबार प्रशिक्षकहरूको तालिमसम्बन्धी भेला सम्पन्न भयो । भेलामा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले सामुदायिक विद्यालयलाई विद्यार्थीहरूको पहिलो रोजाइ बनाउन भक्तपुर नगरपालिकाले नगरभित्रका ९२ वटा विद्यालयका शिक्षक–शिक्षिकाहरूको लागि विभिन्न विषयमा तालिमको आयोजना गर्न लागेको जानकारी दिनुभयो ।
संस्थागत र सामुदायिक विद्यालयबीचको शैक्षिक गुणस्तरमा एकरूपता ल्याउन विभिन्न विषयको तालिमको आवश्यकता औंल्याउँदै प्रमुख प्रजापतिले विद्यार्थीको शैक्षिक क्षमता अभिवृद्धि गर्न नगरपालिकाले विषयगत तालिमको कार्यक्रमलाई अगाडि सारेको बताउनुभयो ।
भक्तपुरलाई देशकै उत्कृष्ट शैक्षिक गन्तव्यको रूपमा विकास गर्न नगरपालिकाले आधारभूत तह र माध्यमिक विद्यालयका शिक्षक–शिक्षिकाहरूलाई तालिम दिनुका साथै मन्टेश्वरी सिकाइ प्रविधिको पनि तालिम सञ्चालन गर्ने बताउनुभयो ।
कमजोर विद्यार्थीको शैक्षिक स्तर उकास्न विशेष ध्यान दिन आग्रह गर्दै प्रमुख प्रजापतिले इन्जिनियरिङ शिक्षामा भक्तपुर उत्कृष्ट गन्तव्यको रूपमा स्थापित भइरहेको बताउनुभयो ।
कार्यक्रममा भक्तपुर नपा वडा नं. ७ का वडाध्यक्ष उकेश कवांले शिक्षक–शिक्षिकाहरूको तालिम सञ्चालनको उद्देश्य र आवश्यकताबारे प्रस्ट पार्दै भक्तपुरको शैक्षिक स्थिति राम्रो बनाउन शिक्षकहरूको मेहेनत र योगदानले ठूलो भूमिका खेल्ने बताउनुभयो ।
अङ्ग्रेजी, नेपाली, गणित, विज्ञान र सामाजिक विषयका शिक्षक–शिक्षिकाहरूलाई तालिम दिने नगरपालिकाले जनाएको छ । भेलामा भक्तपुरका विभिन्न विद्यालयका प्रशिक्षकहरूको उपस्थिति थियो । तालिम चैत १३ गतेदेखि सञ्चालन हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *