भर्खरै :

टोखामा परिषद्को सन्देश कार्यक्रम

काठमाडौँ, १० चैत । नेपाल मजदुर किसान पार्र्टी टोखा नगर समितिको आयोजनामा टोखामा नेमकिपाको ३० औं केन्द्रीय परिषदको सन्देश कार्यक्रम सम्पन्न भयो । उक्त कार्यक्रममा नेमकिपाका केन्द्रीय सदस्य राजवीर डङ्गोलले नेपाल मजदुर किसान पार्टी एक माक्र्सवाद, लेनिनवाद र माओत्से तुङ्ग विचार धारालाई मार्गनिर्देशक सिद्धान्तको रुपमा अङ्गाली नेपाली कामदार जनतालाई सचेत गर्नु गरेको पार्टी भएको बताउँदै नेपालमा नक्कली कम्युनिष्ट नामधारी पुँजीवादी पार्टीले शासन गरी भारतको सामु आत्मसमर्पण गरिरहेको छन् भन्नुभयो । विदेशीले लिएको नागरिकता छानबिन गरी खारेज गर्नुका साथै विदेशीले नागरिकता लिन सक्ने प्रावधान खारेज गर्नुपर्नेमा अझ संसोधन गरी नागरिकता लिन बुबाको नामनै उल्लेख गनु नपर्ने गरी संसोधन प्रस्ताव सत्ता पक्षले ल्याउनु भारतसमक्ष आत्म समर्पण गर्नु हो भन्नुभयो । उहाँले कार्यकर्ताहरूले पार्टी प्रकाशनहरू अध्ययन गरी राष्ट्रिय र अन्तर्राष्ट्रिय परिस्थितिबाट परिचित हुनुपर्दछ भन्नुभयो ।
कार्यक्रममा नेमकिपा भक्तपुर नगर समिति अध्यक्ष नारायणबहादुर दुवालले भनेजुयलाका ६८ प्रतिशत जनताले मतदान गरी निर्वाचित भेनेजुयलाली राष्ट्रपति निकोलस माडुरोलाई अपदस्त गर्ने अमेरिकी साम्राज्यवादी नीति मानवताविरोधी छ भन्नुभयो । सं.रा. अमेरिकाको आफ्नो स्वार्थ अनुकूल रहनेलाई सत्तामा ल्याउन कमजोर र सानो देशमाथि हमला गरी दानवीय व्यवहार देखाइरहेको छ भन्नुहुँदै उहाँले नेपाल सरकारले सं.रा. अमेरिकी सहयोग लिएर अमेरिकी नीति अनुसार कार्य गर्ने होइन देश आत्म निर्भर हुने योजनासहित अगाडि बढ्न सक्नुपर्दछ भन्नुभयो ।
कार्यक्रममा नेमकिपा टोखा नगर समितिका सचिव शैलेश डंगोलले सरकारमा गएका पार्टीहरूले साम्राज्यवाद र विस्तारवादसामु आत्मसमर्पण गर्ने नीतिको विरोधमा र नेपालमाथि वैदेशिक हस्तक्षेपको विरोधमा निरन्तर सङ्घर्षरत हुनुपर्दछ भन्नुभयो । त्यसैगरी नेमकिपा टोखा नगर समितिका रमेश डंगोलले सरकारमा आसिन नेकपा र नेकाले वाडडवाडी जहाज खरिद, एनसेल पुँजीगत लाभकर, नेपाल टेलिकमको फोरजी सेवा लगायतमा अर्बाैं रुपैयाँ भ्रष्टाचार गरिरहेको हुँदा त्यसको अविलम्ब छानबिन गरी दोषीमाथि कारबाही गर्नुपर्दछ भन्नुभयो ।
कार्यक्रममा सभापतिको आशनबाट नेमकिपा नगर समिति टोखाका अध्यक्ष कृष्णमान श्रेष्ठले भारतले आफ्नो देशमा विवाह गरी पुगेका महिलालाई सात वर्ष बसी सकेपछि मात्र नागरिकता पाउन प्रक्रिया सुरु गर्न पाउने बनाउने अनि नेपालमा भारतीय केटी विवाह हुँदा पाइला टेक्नासाथ नागरिकता दिन दबाब दिइरहेको छ । तसर्थ नेपाल सरकारले नेपाल फिजीकरण हुने गरी नागरिकता विधेयक ल्याउन हुँदैन भन्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *