भर्खरै :

विहारको चुनाव र कन्हैया कुमार

अपुरवानन्द
विहारको बेगुसरायबाट कन्हैया कुमारलाई चुनाव लडाउन संयुक्त विपक्ष मोर्चाले अस्वीकार गरेको समाचार आउनु कुनै आश्चर्यको विषय होइन । आफ्नो अनुकूल समयमा गरेको यस्तो निर्णयले भारतीय कम्युनिष्ट पार्टी (भाकपा) लाई पक्कै पनि आक्रोशित बनाएको हुनुपर्छ ।
कम्युनिष्ट पार्टीको लागि व्यक्ति सधैं गौण विषय हुन्छ । यो वैचारिक मान्यतामा परिवर्तन भाकपाको लागि स्वीकार्य हुनसक्दैन । तर, भोल्गा र गंगा नदी आ–आफ्नो फरक–फरक धारमा बग्न थालेको धेरै समय बितिसकेको छ । आजभोलि भारतीय जनता कन्हैया कुमारको पार्टीसँग भन्दा कन्हैया कुमारसँग बढी चासो राख्छन् भन्ने तीतो सत्य भाकपाले स्वीकार्नैपर्छ ।
विहारमा संयुक्त विपक्ष मोर्चामा भाकपा सामेल नहुने निर्णयसँगै संयुक्त वाम गठबन्धनको तर्फबाट कन्हैया कुमारले बेगुसरायबाट उम्मेदवारी दिने घोषणा भयो । तर, यो निर्णय आफू संयुक्त विपक्ष मोर्चाबाट उम्मेदवार नछानिए पनि कुनै प्रकारको आपत्ति नजनाउने कन्हैयाको पहिलेको प्रतिबद्धताविपरीत हो ।
भाकपाका नेता कन्हैयाले आफ्नो पहिलो प्राथमिकता भाजपाको पराजय हो र भाजपाविरोधी मतलाई कुनै पनि अवस्थामा विभाजित हुन नदिने भनेका थिए । तर, अहिले तेस्रो प्रमुख उम्मेदवारको रुपमा चुनावी मैदानमा उत्रेर उनले भाजपाविरोधी मतमा विभाजन ल्याएका छन् । यसले भाजपालाई जिताउने सम्भावनालाई अब नकार्न सकिन्न ।
यो घटनाक्रमसँग जोडिएको विश्लेषणलाई टेवा पु¥याउने केही अरु विषयवस्तु पनि छन् । पहिलो, धर्मनिरपेक्ष मोर्चा गठन गर्नु भनेको विहारका विभिन्न जातीय समूहका राजनीतिक भावनालाई एकै ठाउँमा ल्याउनु हो । नवप्रवेशी मुकेश सहानीले आफ्नो जातको सबै मत प्राप्त गर्नसक्ने विपक्षी मोर्चाको विश्वास सामाजिक न्यायको राजनीतिमाथिको अविश्वास हो ।
मुकेश सहानीलाई संयुक्त विपक्षी मोर्चाको उम्मेदवार बनाएर राष्ट्रिय जनता दलले आफ्नो आह्वान यादवभन्दा बाहेक अरु जातकाले नसुन्ने सङ्केत गरेको छ । यो दुःखद कथाको अर्को पक्ष भनेको जितन राम माझीमाथिको निर्भरता हो, जो आफ्नै बलबुट्टामा चुनाव जित्ने विश्वास गर्न सकिन्न । विहारमा तीस वर्षको अन्तरालमा सामाजिक न्यायको राजनीति क्रमशः साँघुरो बन्दै गएको देखिएको छ । सामाजिक न्यायको राजनीति शक्ति–राजनीतिको संरचनाभित्र विभिन्न जातीय समूहमा सीमित बन्न पुगेको छ ।
घटनाको विकासक्रमले सामाजिक न्यायको राजनीतिसँग रुपान्तरणकारी मुद्दाको अभाव भएको देखाएको छ । अझ केहीले त प्रश्न पनि गरे, के सामाजिक न्यायको राजनीतिसँग त्यस्तो कुनै मुद्दा नै थियो र ? जातका नेताहरू आफै नयाँ मालिकको रूपमा व्यवहार गर्न थालेका छन् । आदिवासी जनजाति वा दलितलाई थोरै तान्नसक्ने क्षमता भएकोले काङ्ग्रेस पार्टीलाई विपक्षी मोर्चाको फरक साझेदारको रूपमा हेर्ने गरिन्छ । माथिल्लो जातका मानिसको स्वार्थमा धक्का नपर्दासम्म काङ्ग्रेससँगको साझेदारीले काम गर्ने गर्दछ ।
चुनावी मोर्चाबन्दीको लागि धर्मनिरपेक्षता एउटा आवरणमात्र हो । त्यही आवरणभित्र प्रतिस्पर्धी जातीय स्वार्थहरू एक अर्कोसँग लेनदेन गर्छन् । यस्तै लेनदेनबाट त्यस्तो मोर्चाले सबभन्दा उपयुक्त राजनीतिक र धर्मनिरपेक्ष विकल्प दिने उनीहरूको मान्यता छ । यो मोर्चाभित्रका केही शक्ति आफूलाई पक्का लागेको अर्को मोर्चामा तत्काल हामफाल्नु कुनै आश्चर्यको विषय होइन । उनीहरूको राजनीतिमा सिद्धान्तको कुनै माने हुँदैन ।
यसको अर्थ कुनै पनि चुनावी मोर्चा भनेको अस्थायी र खुकुलो हुन्छ । त्यस्तो मोर्चा कुनै एउटा विचारमा बाँधिएको हुँदैन । मोर्चाभित्रका शक्तिबीच लगातारको लेनदेन नै चुनावी मोर्चाको आन्तर्य हो । एउटा मोर्चाबाट अर्को मोर्चामा जाने कुरालाई पूर्णतः बन्द गरिदिने हो भने त्यस्तो मोर्चा कुनै पनि बेला तोडिन्छ ।
विहारमा यस्तो राजनीतिको अर्को पाटो भनेको जातीय समूहबीच मोर्चाबन्दी पढेलेखेको मानिसलाई त्यत्तिबेलामात्र स्वीकार्य हुन्छ जब ती समूहले हिन्दूवादी मुद्दालाई समर्थन गर्छन् । नत्र उनीहरूलाई पछौटेपन र रुग्नतामा धकेल्ने गरिन्छ । नितिश कुमार, रामविलास पासवान र अरु नेताहरूले आफ्नो अल्पसङ्ख्यक जातीय समूहको प्रतिनिधित्व गरेका थिए । तर, नितिशलाई माथिल्लो जातले पनि स्वीकारे किनभने उनी लालु यादवको विपक्षमा उभिए । तर, भाजपाको खण्डन गर्दै केही समयको लागि जब उनले आफ्नो पक्षधरता बदले उनलाई गद्दारको रुपमा प्रचार गरियो ।
वामपन्थी पार्टीलाई पनि समावेश गर्दा विपक्षी मोर्चाले सामाजिक रुपान्तरणको वैचारिक आवरण पाउने थियो । वामपन्थीहरू आफै सामाजिक रुपान्तरणको विषयमा कतिको प्रस्ट छन् भनी प्रश्न गर्न नसकिने होइन ।
तर, यस्ता प्रश्नलाई केही समयको लागि थाँती राखी पहिचानका सीमित घेराभन्दा माथि उठेका केही बृहत् चासो र विचारका कारण मानिसहरू वामपन्थीहरूसँग जोडिन पुग्छन् । वामपन्थी विचारधाराले नै सामाजिक परिवर्तनको साझा मञ्चमा विभिन्न थरीका मानिसलाई एकै ठाउँमा ल्याउने गर्दछ ।
तर, विहारको सन्दर्भमा यो कथा पुरानो भइसकेको छ । वामपन्थी पार्टीहरू स्वयम्ले यस्ता विचार धेरै अघि नै त्यागेर लालुप्रसाद र मुलायमसिंह यादवजस्ता नेताको पछि लागिसकेका छन् । यसले संसदीय राजनीतिमा आफ्नो अस्तित्व कुनै न कुनै रुपमा बाँकी राख्ने वामपन्थी पार्टीहरूको व्यग्रता देखाउँछ । विहारमा वामपन्थी दलहरूले जातीय नेताहरूसमक्ष आत्मसमर्पण गरिसकेका छन् ।
आफ्नो मान्यतामा अडिग हुन नसक्दा वामपन्थी पार्टीहरू विहारमा क्रमशः साँघुरिंदै छन् । त्यसकारण तिनलाई कुनै मोर्चामा आफ्नो स्थान बलियो बनाउन क्षमता नभएको सहयोगी शक्तिको रूपमा मात्र हेर्न थालिएको छ । वामपन्थीहरूसँग आफ्नै बलबुट्टामा चुनाव जित्न सक्ने कुनै पनि चुनावी क्षेत्र बाँकी छैन ।
यसको निम्ति भाकपा आफै दोषी हो । कतिबेला त वामपन्थी मोर्चा एक प्रकारले हँसीमजाकजस्तो देखिन्छ । लालु यादवले केही स्थानको लोभ देखाउनेबित्तिकै भाकपा र भाकपा मालेलाई छोडेर भाकपा माक्र्सवादी निसङ्कोच उतै लाग्यो । बेगुसरायको स्थान आफ्नो वामपन्थी मोर्चाका सहकर्मीलाई दिन राष्ट्रिय जनता दलमाथि दबाब पु¥याउन भाकपा मालेसँग शक्ति छैन । दुवै दल राष्ट्रिय जनता दललाई खुसी बनाउन प्रतिस्पर्धा गरिरहेका छन् ।
यसप्रकार भाकपासँग यो चुनावमा एक्लै लड्नुको विकल्प रहेन । कन्हैयाले बाँकी बिहारमा भाजपाविरोधी अभियानमा सामेल हुने बताए । तर, भाजपाविरोधी मोर्चा स्वयम्ले उनको अभियानलाई आफ्नो नबनाउँदा उनको दाबी कमजोर बनेको छ ।
कन्हैया कुमारलाई विपक्षी मोर्चाले साझा उम्मेदवारको रूपमा अस्वीकार गरेर उदार मूल्य, अभिव्यक्ति स्वतन्त्रता, बहुमतको दम्भपूर्ण राजनीतिको विरोध र उत्पीडितको मोर्चाबन्दीलाई अस्वीकार गरेको छ ।
उदार र लोकतान्त्रिक मूल्य मान्यताका शक्तिशाली आवाजको रुपमा कन्हैयालाई स्वीकार्नेहरूले नै लोकसभामा उनलाई आफ्नो प्रतिनिधि बनाउन मानिरहेका छैनन् ।
कन्हैयालाई आफ्नो उम्मेदवार बनाए आफूले सदाको लागि आफ्नो चुनाव क्षेत्रबाट हात धुनुपर्ने उनीहरूको तर्कले आजको राजनीति कति कमजोर छ भनी देखाउँछ । उनीहरू कसरी आफ्ना मान्यताका स्वयम् बन्दी बनेका छन्, कसरी नेता बन्न सकेका छैनन्, आजको अवस्थाले देखाइरहेको छ ।
सन् २०१९ पछिको चुनावमा वामपन्थी र सामाजिक न्यायका मालिकहरूले आफ्नो राजनीतिलाई पुनस्र्थापना गर्न ठाउँ पाउँछन्–पाउँदैनन्, कसैलाई थाहा छैन । तर, उनीहरूको लागि सन् २०१९ को चुनाव भने गुमेको अवसरको रुपमा सधैं स्मरण रहनेछ ।
(लेखक दिल्ली विश्वविद्यालयमा अध्यापन गर्छन् ।)
स्रोतः द वायर
नेपाली अनुवादः नीरज

Leave a Reply

Your email address will not be published. Required fields are marked *