यिङस्युमा वैशाख १२ को सम्झना
- बैशाख ११, २०८३
भित्री वा बाहिरी कुनै पनि शक्तिसँग झुक्नु नपर्ने देशमात्रै सार्वभौम र स्वतन्त्र हुन्छ । अन्तर्राष्ट्रिय गैर–सरकारी संस्था वा कुनै पनि धार्मिक संस्था वा कुनै पनि बाहिरी देशलाई अगाडि सारेर आफ्नो देशको आन्तरिक मामिला वा परराष्ट्र नीतिलाई आघात पु¥याउने दबाब कुनै देशले दिन्छ भने एक स्वतन्त्र र सार्वभौमसत्ता सम्पन्न देशले त्यस दबाब वा ‘सर्त’ लाई मान्नुहुँदैन । त्यस्ता कुनै पनि ‘सर्त’ वा आदेशलाई मान्नुको अर्थ ‘ सर्त ’ राख्ने वा ‘आदेश’ दिने देशको अधिनस्थ देश वा उपनिवेश साबित हुनु हो ।
संरा अमेरिकाले नेपाललाई केही दिन अगाडि नेपालको स्वतन्त्रता र सार्वभौमिकतामा आँच आउने सर्तहरू राखेर ‘सहायता’ को जाल फाल्यो । ती सर्तहरूमध्ये एउटा हो – नेपालको छिमेकी मित्र देश चीनको विखण्डनवादी दलाई लामा भेट्ने निहुँमा गैर–कानुनी ढङ्गले नेपाल पसेका तिब्बतीहरूलाई चीनलाई नै फिर्ता नदिई भारत पठाउने ।
दोस्रो सर्त हो – दोस्रो विश्व युद्धपछि संरा अमेरिकी साम्राज्यवादको आक्रमणको विरोधमा आफ्नो देशको स्वतन्त्रता र मुक्तिको निम्ति सङ्घर्ष गरी सार्वभौमिकता रक्षा गर्ने प्रजातान्त्रिक जनवादी गणतन्त्र कोरियासँग नेपालले सम्बन्ध विच्छेद गर्ने ।
संरा अमेरिकी साम्राज्यवादका यी दुवै ‘सर्त’ नेपालको स्वतन्त्रता र सार्वभौमिकताको हाकाहाकी उल्लङ्घन नै हो र यी सर्तमार्फत साम्राज्यवादी अमेरिकाले अत्यन्त निन्दनीय र लज्जाजनक हेपाहा प्रवृत्ति देखाएको छ । नेपाल र नेपाली जनताप्रति अमेरिकी साम्र्राज्यवादको यो आपत्तिजनक मनसाय उदाङ्गो भएको स्थिति हो ।
पहिलो सर्त परापूर्वकालदेखि कूटनैतिक सम्बन्ध र दुवै जनताको बीचमा नङ र मासुजस्तो सम्बन्ध भएको स्थितिलाई एक मित्र राष्ट्रको विखण्डनवादीहरूलाई सहयोग गर्नु मित्रघात हुने काममा नेपाल र नेपाली जनतालाई धकेल्ने एक दुष्प्रयास हो ।
एसिया र संसारमा शान्ति स्थापनाको निम्ति निरन्तर कुनै पनि देशको आन्तरिक मामिलामा अहस्तक्षेपको नीतिमा दृढ र आजसम्म कुनै पनि देशमा आक्रमण नगर्ने तर शान्तिपूर्ण देशमा आक्रमण गर्दा आक्रान्त देशको समर्थनमा उभिने एसियाको एक मित्र देशसँग कूटनैतिक सम्बन्ध विच्छेद गर्ने दोस्रो सर्त नेपाललाई साम्राज्यवादको पिछलग्गू देशमा परिणत गर्ने कुत्सित षड्यन्त्र नै हो ।
दोस्रो विश्व युद्धपछि अमेरिकी साम्राज्यवाद अन्तर्राष्ट्रिय डकैतको प्रवृत्ति देखाउँदै आएको एक बदनाम शक्ति हो । मित्रताको हात बढाउँदै हरेक मित्र देशको आन्तरिक मामिलामा हस्तक्षेप गर्ने, एउटै देशको दाजु–भाइलाई भिडाउने, हतियार बेचेर तत् देशको प्राकृतिक स्रोतहरू कब्जा गर्ने र अन्ततः मित्र भनिएकै देशको सभ्यता, विकास र जनतामा विध्वंस मच्चाउँदै आएको शक्ति अमेरिकी साम्राज्यवाद नै हो ।
कोरिया प्रायःद्वीप भियतनाम, अफगानिस्तान, इराक, लिविया, सिरिया आदि यसका उदाहरणहरू हुन् । हरेक मित्र देशलाई पछाडिबाट छुरा धस्ने कूटनीति नै अमेरिकी विदेश नीति हो । अमेरिकी पाँचौँ राष्ट्रपति मुनरो नीतिदेखि सुरु भएको साम्राज्यवादी आक्रमण २१ औँ शताब्दीको दोस्रो दशकमा आइपुग्दा उसको पतनको दिन सुरु हुँदैछ । यसकारण नेपाल र नेपाली जनताले अमेरिकी साम्राज्यवादका दुवै सर्तलाई अस्वीकार गर्नु नै श्रेयस्कर छ ।
Leave a Reply