भर्खरै :

‘विश्वका क्रान्तिकारी महिलाहरू’ बारे एक चर्चा

जमिला
विभिन्न कालखण्डमा भएका दासताविरोधी, सामन्तवादविरोधी, साम्राज्यवाद र उपनिवेशवादविरोधी आन्दोलनलगायत सबैखाले न्यायपूर्ण र देशभक्तिपूर्ण आन्दोलनहरूमा क्रान्तिकारी महिलाहरूको योगदान पनि उत्तिकै उल्लेखनीय छ । वर्गसङ्घर्षका शृङ्खला र सिलसिलाहरूसँग आफ्नो जीवनलाई जोडेका, क्रान्तिमा होमिएर आफूलाई इस्पात बनाएका क्रान्तिकारी महिला नेतृहरूको नाम इतिहासका पृष्ठहरूमा गौरवका साथ लेखिएको छ । समाजको यथास्थितिवादविरुद्ध आमूल परिवर्तनको निम्ति उभिनु आफैमा साहसिक कार्य हो । त्यसमाथि कामदार महिलालाई तत्कालीन समय, १८ औँ÷१९औँ शताब्दीको सामाजिक, राजनीतिक, सांस्कृतिक र आर्थिक शोषणको परिवेशबाट उठेर क्रान्तिको विगुल फुक्नु अत्यन्त कठिन कार्य थियो । यद्यपि क्रान्तिकारी विचारले सिँचित महिलाहरू संसारका कामदार महिलाहरूलाई एकजुट गर्न उठेको गौरवशाली इतिहास छ । क्रान्तिकारी महिलाहरू साँचो अर्थमा कामदार महिलाहरूका मुक्तिदाता हुन्, आदर्श हुन् ।
माक्र्सवाद – लेनिनवाद, माओ त्सेतुङ विचारधारा र वर्गीय दृष्टिकोणलाई आत्मसात् गर्दै अघि बढेका महिला नेतृहरूको जीवन गाथालाई पुँजीवादी व्यवस्थाले एउटा उपेक्षित कुनामा थन्काउने काम गर्छ । नेपालको राजनीतिक वृत्तमा पनि क्रान्किारी महिला नेतृहरूको चर्चा कम भएको पाइन्छ । तिनका बारेमा लेखिएका पुस्तक निकै थोरै छन् । भएका केही पुस्तकहरूमा पनि सम्पूर्ण कुरा सहि लेखिएको छैन । यस अर्थ नेपाली साहित्य जगतमा यस्तो किताबको अभाव छ भन्दा अतियुक्ति नहोला ।
त्यो अभावलाई पूरा गर्न नेपाल क्रान्तिकारी महिला सङ्घले विश्वका क्रान्तिकारी महिलाहरू नामको पुस्तक भर्खरै पाठकमाझ पु¥याएको छ । पुस्तकले नेपालको कामदार वर्गीय आन्दोलनलाई सहयोग गर्नेमा शङ्का नहोला । अन्तर्राष्ट्रिय जगतका १६ क्रान्तिकारी महिलाहरूको जीवन, योगदान तथा सङ्घर्षलाई पुस्तकले पस्केको छ । ती नेतृहरूबाट सिक्न र थुप्रै क्रान्तिकारी महिलाहरू जन्माउन पुस्तकले प्रत्यक्ष वा परोक्षरूपमा आह्वान गरेको छ । क्रान्तिकारी महिलाहरूको यो परिचय पुस्तकले शोषण, अन्याय, अत्याचारविरुद्ध लड्न हौसला प्रदान गर्छ ।
सर्वहारावर्गको निम्ति बाँच्ने जेनी माक्र्स साँच्चै नै सङ्घर्षका प्रतिमूर्ति हुन्, प्रेरणाका पूञ्ज हुन् । जर्मनीको सम्भ्रान्त परिवारमा जन्मिएकी जेनीले तरबारको धारमा हिँड्ने र काँडै काँडा बिछ्याइएको बाटोमा हिँड्ने सङ्कल्प लिइन् । संसारलाई बदल्न हिँडेका सर्वहारावर्गका महान् गुरु कार्ल माक्र्सको असल सहयात्री बनी संसारलाई बाटो देखाउने काममा महत्वपूर्ण योगदान गरिन् । भोक के हो थाहा नपाएकी जेनीका आफ्नै सन्तान भोक, रोगले छट्पटाउँदै प्राण त्याग्दा एउटी आमाको हृदय कस्तो भयो होला ? यथार्थ पढिरहँदा मात्र पनि पाठकलाई पीडा हुन्छ ।
देश निकाला, डेराबाट निकाला, आर्थिक सङ्कटलाई जेनीले माक्र्ससँगसँगै सामना गरिन् र माक्र्सको कार्यमा मद्दत गरिन् । सहनशीलता र धैर्यको प्रतिमूर्ति जेनीबारे पुस्तकमा मार्मिक ढङ्गले प्रस्तुत गरिएको छ ।
संरा अमेरिकामा जन्मिएका ह्यारियट टबम्यान दासप्रथा विरुद्धका लडार्इँका सङ्घर्षशील योद्धा हुन् । आफू पनि दास भई दासमालिकको अत्याचार सहेकी उनले दास–दासीहरूको मुक्तिका निम्ति बन्दुक उठाइन् । उनको साहसिक अगुवाइले दासताविरुद्ध लड्ने ऊर्जाको सञ्चार गर्छ । एक अन्तर्राष्ट्रवादी महिला नेतृ क्लारा जेट्किनलाई जर्मनीका एक कम्युनिष्ट राजनीतिज्ञ, अत्यन्त चर्चित मजदुर महिला अधिकारवादी र अन्तर्राष्ट्रिय मजदुर आन्दोलनका एक महत्वपूर्ण नेतृका रूपमा यस पुस्तकले चिनाएको छ । मार्च ८ को दिनलाई अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको रूपमा मनाउने अगुवाइसँगै श्रमिक महिला दिवसलाई मजदुर आन्दोलनसँगै जोडेर अघि बढाइन् भन्ने जानकारी पुस्तकबाट मिल्छ ।
समाजवादी नेतृ नादेज्दा क्रुप्सकाया रुसको जारशाहीविरोधी आन्दोलनदेखि समाजवादी क्रान्तिसम्मका हरेक सिलसिलाहरूमा कामदारहरूको पक्षमा उभिइन् । सर्वहारावर्गका महान् नेता लेनिनसँग सहयात्रा गर्दै क्रान्तिको पक्षमा हिँडिन् । उनी एक माक्र्सवादी शिक्षक, कुशल शिक्षाविद् र समाजवादी जनवादी शिक्षा पद्धतिका संस्थापक पनि हुन् । सोभियत भूमिमा निःशुल्क, अनिवार्य र उत्पादनश्रमसँग जोडिएको वैज्ञानिक शिक्षाको जग हाल्नेमध्ये उनी पनि एक हुन् भन्ने प्रसङ्ग पुस्तकमा छ ।
रोजा लक्जेम्वर्ग पोल्यान्डको माटोमा जन्मिएकी एक अन्तर्राष्ट्रवादी क्रान्तिकारी नेतृ र अग्रदूत हुन् । माक्र्सवादी–लेनिनवादी विचार र सिद्धान्तको अध्ययनले खँदिलो बनेकी रोजाले सदैव सैद्धान्तिक सङ्घर्षमार्फत जर्मनीको समाजवादी आन्दोलनलाई बाटो देखाइरहिन् । वर्गसङ्घर्षमा अगाध आस्था राख्ने रोजाले संशोधनवादविरुद्ध चर्को सङ्घर्ष गरिन् । माक्र्सवादको पक्षमा पुँजीवादविरुद्ध रोजा आगो ओकल्छिन् – “पुँजीवादी सरकारको मसानको खरानीमा मात्रै मजदुर वर्ग एक सरकारको रूपमा उभिन सक्छ या समाजवादको निर्माण हुनसक्छ ।” साम्राज्यवादविरुद्ध आवाज बुलन्द पार्ने रोजा उनको स्वयम्स्फूर्त आन्दोलनको सिद्धान्तका कारण भने आलोचित छिन् ।
अलेक्जान्द्रा कोलोन्ताइ अक्टोबर समाजवादी क्रान्तिको मैदानमा सङ्घर्ष गरेकी एक क्रान्तिकारी महिलाको नाम हो । लैङ्गिक समानताका निम्ति अगुवाइ गरेकी कोलोन्ताइले विचार महत्वपूर्ण हुने शिक्षा दिएकी छिन् । कम्युनिष्ट विचारसँग नमिलेका आप्mना श्रीमान्समेतलाई छोडेर रुसको साम्राज्यवादविरोधी आन्दोलनमा सरिक भइन् । श्रमिक वर्गको उत्थान र समानताका लागि अडिग कोलोन्ताइ असल कूटनीतिज्ञसमेत हुन् ।
बेलायतमा जन्मिएकी महिला नेतृ सिलभिया पानखु्रष्ट साम्राज्यवादविरुद्ध लड्ने तथा महिलाहरूको राजनीतिक अधिकारको निम्ति उभिने जुझारु महिला थिइन् । जातिभेद र वर्गभेदविरुद्धको आन्दोलनमा ३० वर्षसम्म अनवरत दृढतापूर्वक लागिरहेकी पानखु्रष्टले इथियोपियामा समेत स्वतन्त्रताको पक्षमा आन्दोलन गर्न ऊर्जा प्रदान गरिन् । उनले लेखेका थुप्रै पुस्तकहरू त पढ्न आवश्यक छ नै, उनको जीवन स्वय्म पनि पढ्नैपर्ने एउटा महत्वपूर्ण किताबको रूपमा यस पुस्तकले चित्रण गरेको छ ।
अन्तर्राष्ट्रवादी क्रान्तिकारी पत्रकार अन्ना लुइस स्ट्र· पत्रकारहरूका निमित्तमात्र होइन क्रान्तिकारी महिलाहरूका निम्ति पनि आदर्श व्यक्तित्व हुन् । उनको क्रियाशीलता, योगदान, अध्ययन, विचार सम्प्रेषण कला सबै अनुकरणीय छन् ।
अमेरिकी साम्राज्यवादले जापानको हिरोसिमा र नागासाकी सहरमा आणबिक बम खसाली संसारलाई त्राहीत्राही बनाइरहेको बेला येनानको गुफामा गई स्ट्र·ले माओसँग अन्तर्वार्ता लिई सारा संसारमा माओको विचार प्रचार गरेको सन्दर्भ पुस्तकमा सुन्दर ढङ्गले प्रस्तुत गरिएको छ । “साम्राज्यवाद कागजको बाघ भएजस्तै अणुबम पनि कागजको बाघ हो” भन्ने माओको भनाइले विश्वमा एक किसिमको उत्साह सञ्चार ग¥यो । “युद्धको निर्णय एक दुईवटा नयाँ हातहतियारले गर्दैन बरु जनताले गर्छन्” भन्ने माओको भनाइले संसारमा बेग्लै तरङ्ग ल्यायो । माक्र्सवाद–लेनिनवादलाई चीनको भूमिमा प्रयोग गर्दाको अनुभवको सार माओ विचारधारालाई संसारमा प्रचार गर्नेमध्ये स्ट्र· पनि एक हुन्् ।
एक अमेरिकी क्रान्तिकारी पत्रकार एग्नेज स्मेडलेले पनि चिनियाँ क्रान्ति, चीनको परिस्थिति आदिको विषयमा विश्वलाई सही कुरा अवगत गराउन योगदान पु¥याइन् । उनले लेखेकी थिइन् – “मैले आफ्नो पुस्तकमा भविष्यमा अभैm एउटा ठूलो काम गर्न बाँकी छ । अमेरिकालाई चीनको सत्य, चिनियाँ जनताको सङ्घर्ष आदिबारे बताउनुछ ।”
सुङचिङ लिङ चिनियाँ जनताका महान् प्रजातन्त्रवादी सन् यात–सेनकी श्रीमती हुन् । उनले चीनको देशभक्तिपूर्ण प्रजातन्त्रवादी आन्दोलन र जनताको जीवन उत्थानका निम्ति उल्लेख्य योगदान गरेकी छिन् । शियाङ चिङ यू चिनियाँ कम्युनिष्ट पार्टीका प्रथम महिला सदस्य हुन् । महिला समानता, सामन्ती शोषण र युद्ध सरदारहरूको अत्याचारको विरोधमा उनी एक क्रान्तिकारी महिलाको रूपमा उभिइन् । उनी निडर प्रकृतिकी थिइन् । शत्रुलाई हाँक दिन सक्थिन् – “क्रान्तिकारीहरू बगरेको चुपीबाट डराउँदैनन् ।”
कोरियाली जनताका राष्ट्रमाताका रूपमा परिचित किम जोङ सुकको देशभक्तिपूर्ण भावना, सङ्घर्षशील व्यक्तित्व, जापानी साम्राज्यवादीहरूविरुद्धको आक्रोश, क्रान्तिप्रतिको विश्वास प्रशंसनीय छ । स·ठनले जहाँ खटायो त्यहीँ आफ्नो कर्तव्य पूरा गर्ने असल कोरियाली सेना थिइन् उनी । आफ्नो ज्यानको बाजी थापेर पनि देश र माटोको मुक्तिको निम्ति युद्धमैदानबाट कहिल्यै थाकेर फर्कनु हुन्न भन्ने सन्देश उनको जीवनबाट मिल्छ । पुस्तकमा ‘अजेलिया’ पूmलको प्रसङ्गले हरेक पाठकको हृदयलाई छुन्छ र रोमाञ्चित तुल्याउँछ ।
भियतनामको भूमिलाई उपनिवेशमुक्त बनाउन बलियो आत्मबल लिई लड्ने दक्षिण भियतनामको सशस्त्रमुक्ति सेनाको उपप्रमुख सेना नेतृ न्गुयन थि डिन्हको जीवनकथालाई पुस्तकमा मार्मिक ढङ्गले प्रस्तुत गरिएको छ ।
जोया कस्मोदिम्यान्स्काया जर्मन नाजीविरुद्ध लड्ने मिसाइल थिइन् । १८ वर्षको उमेरमै वैचारिक परिपक्वता देखाएकी जोयाले नाजीको अत्याचारविरुद्ध आत्मसमर्पण होइन आपूmलाई झुण्ड्याउन तयार भइन् । क्रान्तिमा गोपनीयता र अडान के हो भनेर सिकाइन् जोयाले । आजका हरेक किशोरीहरूले उनको जीवनी पढ्न आवश्यक छ र देशभक्ति भावना के हो सिक्न जरुरी छ ।
समाजवादी गणतन्त्र क्युवाकी नायिकाको रूपमा सुपरिचित भिल्मा एस्पिन गुइलोइसले क्युवाली क्रान्तिमा महिला र बालबालिकाको मुद्दा अघि सारी क्रान्तिकारी र वर्गीय भावनासहित अघि बढिन् । अमेरिकी नाकाबन्दीबीच देशको सार्वभौमिकताका निमित्त बाटिस्टाविरुद्ध जीवनपर्यन्त लडिन् ।
अङ्गोलाकी क्रान्तिकारी सीता बायसलाई पनि पुस्तकले चिनाएको छ । पेशाले चिकित्सक सीता बायस विद्यार्थी जीवनदेखि राजनीतिमा लाग्दै अङ्गोलाको क्रान्तिमा सरिक भएकी थिइन् । सरकारको नजर उनीमाथि थियो । एक जुझारु, आकर्षक र निडर सीता अचानक बेपत्ता पारिइन् । २६ वर्षकी सीताको निर्ममतापूर्वक हत्या गरिएको व्याख्या पुस्तकमा छ ।
यसरी १६ जना क्रान्तिकारी महिलाहरूको जीवन परिचयले पक्कै पनि नेपाली प्रगतिशील तथा क्रान्तिकारी महिलाहरूलाई ऊर्जा मिल्नेछ । संसारमा अभैm थुप्रै क्रान्तिकारी महिलाहरू छन् जसका बारे लेखिन र छापिन आवश्यक छ । पुस्तकको गाताले आकर्षण थपेको छ भने मूल्य पाठकमैत्री मान्न सकिन्छ । भविष्यमा यस्तै पठनीय र सङ्ग्रहणीय पुस्तकहरू प्रकाशन गर्ने अपेक्षासहित प्रकाशकप्रति साधुवाद !

Leave a Reply

Your email address will not be published. Required fields are marked *