क्युवाले डाक्टर पठायो, वाशिङटनले एउटा डिस्ट्रोयर !
- बैशाख ४, २०८३
जेह्राल्ड ह्याबरमान
निश्नी नोभ्गोरोदमा सहिद बार्बराका जन्म दर्ता बहीमा अलेक्सी म्याक्सिमोभिच पेशकोभ (म्याक्सिम गोर्की) को जन्मबारे यसरी लेखिएको छ ः
सन् १८६८ को मार्च १६ तारिखका दिन जन्म, २२ तारिखका दिन न्वारान, अलेक्सेयी, पेर्म प्रान्तको निम्न मध्यम वर्गका बुर्जुवा म्याक्सिम सब्यात्येभिच पेशकोभ र उनकी श्रीमती बार्बरा भासिल्त्नाका छोरा, बाबु–आमा दुवैजना रुढीवादी विचारका थिए ।
सन् १८६९ मा पेशकोभ परिवारको अस्ट्राखानमा बसाइ स¥यो । त्यहाँ गोर्कीका पितालाई जहाजमा मालसामान ढुवानी गर्ने ठाउँमा सुपरभाइजरको जागिर मिल्यो । अलेक्सेयी चार वर्षको हुँदा उनलाई हैजा लाग्यो । बिरामी अलेक्सेयीको स्याहारसुसार उनका पिता आफैं गर्थे । पछि उनलाई पनि रोगले समात्यो । सन् १८७२ मा अलेक्सेयीका पिता बिते । गोर्कीले आत्मकहानीका तीन खण्डहरूमध्येको पहिलो खण्ड ‘बाल्यकाल’ उनको पिताको मृत्युसँगै सुरु हुन्छ । हजुरआमा अकुलिना काशिरिनाले बालक अलेक्सेयीको जिम्मा लिइन् र अलेक्सेयीको आमा निश्नीतिर फर्किन् । हजुरआमा खुसी, मिजास र मायालु दिल भएकी थिइन् । त्यसैले बालक अलेक्सेयीले उनलाई मनपराए । तर, हजुरबा भने अलेक्सेयीको हजुरआमाको भन्दा ठ्याम्मै उल्टो स्वभावका थिए । उनी दुब्ला–पातला थिए । उनको चराको ठूँडजस्तो नाक, हरिया आँखा र लामो खैरो दाह्री थियो । गोर्कीले पछि लेखे ः एउटा अत्यन्तै अनौठो, तीतो रङ्गीचङ्गी जीवनको सुरुवात भयो । म अत्यन्तै डरलाग्दो विपत्को भुमरीमा धकेलिएँ । मेरो सम्झनामा यी कुराहरू एउटा डरलाग्दो दन्त्यकथाको रूपमा रहेका छन् । अहिले मलाई यी सबै कुरा भन्न पनि मनलाग्दैन तर सस्तो भावुकताभन्दा वास्तविकता बढी महत्वपूर्ण हुन्छ । यसको साथसाथै, मैले मेरै विषयमा कुरा गरिराखेको हैन, यो त एउटा जीवनपद्धतिबारे भनिएको हो । एउटा यस्तो जीवनपद्धति जुन असाध्यै साँगुरो छ, बोधो छ र चारैतिरबाट थिचिएको छ जसरी म त्यतिबेला हुर्कँे त्यसरी अहिले (यी संस्मरणहरू सन् १९१३ मा प्रकाशित भएका थिए) सामान्य रुसी मानिसहरू अझसम्म पनि दिन काटिरहेका छन् ।
बालक अलेक्सेयीको आमा बार्बराबाहेक काशिरिनाका दुई छोरा थिए । विपत्तिले घेरिएका ती दिनमा तिनीहरू एउटा कुचु्रक्क परेको कोठामा बस्थे र त्यहाँ ख्वाक्क खोक्नसम्म पाइन्नथ्यो । आउने पिँढीको विषयमा कुरा गर्नु, दोष र गाली गर्नु, शत्रुवत् व्यवहार गर्नु, कुटपिट गर्नु र अवाञ्छनीय काम कारबाही गर्नु त्यतिबेलाको दैनिक प्रक्रिया थियो । केटाकेटीको बानी बेहोराले कुनै सामान्य भूल भएको खण्डमा पनि अलेक्सेयीका हजुरबा घरमा आइपुग्नेबित्तिकै उनलाई बेतको लट्ठीले मूर्छा नपरुञ्जेल पिट्थे ।
यस्तो वातावरणमा गोर्की एकपल्ट बिरामी परे । उनको पछिल्ला दिनहरूको लागि यो एउटा अत्यन्तै महत्वपूर्ण घटना बन्न पुग्यो ।
“यहीँ बेलादेखि म चाँडै प्रौढ हुँदै गएको हुनुपर्छ किनभने मैले आफूमा एउटा नयाँ अपूर्व संवेदनाको अनुभव गरेको थिएँ । त्यतिबेलादेखि ममा मानिसहरूलाई गहिरिएर हेर्ने, बुझ्ने, उत्सुकता र धैर्यको विकास भयो । मैले म र अरु मानिसहरूप्रति गरिएका घृणा र अपमानजनक क्रियाकलापहरूलाई अति सचेत भएर हेर्न थालेँ ।”
यसो भए तापनि उनको जीवनमा धेरै राम्रा कुराहरू देखापरे । बालक अलेक्सेयीले बुट्टा छाप्ने पसलमा धेरै कामदारहरूसित मित्रता बढाए । उनले उनकी हजुरआमाले भन्नुभएका अनन्त दन्त्यकथा, परीका कथा र कविताहरू सुन्न चाख लिए । बालक अलेक्सेयीको निम्ति सबभन्दा मायालु र काम लाग्ने मान्छे उनकी हजुरआमा बनिन् । उनको विशुद्ध स्नेहले बालक अलेक्सेयीको आन्तरिक जीवनमा सञ्जीवनी छरिदियो र दुःखको घडीमा सङ्कटकालीन स्थितिसित जुध्न उनलाई सक्षम बनायो । गोर्कीले आफ्नी हजुरआमाको विषयमा यसरी लेखेका छन्, “जब म उहाँलाई सम्झन्छु, खराब कुराहरू सबै हराउँछन्, घाउ सञ्चो हुन्छ, प्रत्येक चीजको स्वरुप फेरिन्छ, प्रत्येक चीज लोभलाग्दो हुन्छ, सुन्दर हुन्छ र मानिसहरू राम्रा लाग्न थाल्छन् ।” सन् १८७३ मा गोर्कीका हजुरबाले आफ्नो पैतिृक सम्पतिको अंशबण्डा लगाए । छोराहरूले आ–आफ्नो छुट्टै एउटा कपडा रङ्गाउने छिपा (रञ्जितकार) को दुकान खोले र बूढाले भुइँ तलामा मदिरालय भएको एउटा नयाँ घर किने । अलेक्सीले भट्टीमा जाने थुप्रै किसान र अरु मानिसहरूलाई बढी उत्सुकतापूर्वक हेर्थे र अध्ययन गर्थे । उनले आफ्नो आमालाई कहिलेकाहींमात्रै देख्थे किनभने उनी माइतघरमा बिरलै बस्थिन् । एकपल्ट यसो झुलुक्क देखिहालिन् भने पनि फेरि तुरुन्तै हिडिँहाल्थिन् । तिनले आफ्नो छोरासँग कहिले पनि गहिरो स्नेह गाँस्न सकिनन् । यसो हुनुमा उनी आफ्नो लोग्नेको मृत्युलाई दोष दिन्थिन् । यिनै कारणहरूले गर्दा बालक अलेक्सेयीको शिक्षा–दीक्षासम्बन्धी पूरै काम उनका हजुरबा र आमाद्वारा पूर्णरुपले नियन्त्रित हुन्थ्यो । अलेक्सेयी ६ वर्षका हुँदा नहुँदै उनलाई हजुरबाले भजनको किताबबाट गिर्जाघरका स्तुति गानहरू सिकाए । बालक अलेक्सेयीको पढाइप्रतिको यो अपूर्व उत्साह देखेर मख्ख पर्दै ती बूढाले कहिलेकाहीँ अलेक्सेयीलाई अरु केटाकेटीहरूसित खेल्ने अनुमति पनि दिन्थे । तर, खेल भने कहिल्यै पनि शान्तिपूर्ण हुँदैनथ्यो किनभने छरछिमेकीका केटाकेटीहरूको दुव्र्यवहार देखेर अलेक्सेयीलाई असाध्यै रिस उठ्थ्यो । ती केटाकेटीहरू कुकुर लगाएर कुखुरा लघार्न, बिरालोको जस्तो स्वर निकालेर कराउन अथवा जँड्याहा मगन्तेको नक्कल गरेर खेल्न रमाउँथे । अलेक्सेयीलाई यस्तो मनपर्दैनथ्यो । खेल सकिने बेलामा सबै केटाकेटीहरूको बीचमा झगडा हुन्थ्यो, एकले अर्काको कपडा च्यातच्युत पारिदिन्थे, नाक, मुखबाट रगत बगाउँदै फर्कन्थे । यसको नतिजा के हुन्थ्यो भने अलेक्सेयी घरभित्रै कोचारिएर बस्नुपथ्र्यो ।
काशिरिना विपत्तिमा परेका थिए । उनका छोराहरूले आ–आफ्नो भागमा पाएको पैतिृक सम्पति जथाभावी खर्च गरेर सिध्याइसकेका थिए र फेरि पनि बाबुसित खर्च माग्थे । यसकारण बूढाले गुप्तरूपमा चर्को व्याजमा पैसा लगाउन सुरु गरे । पछि पुलिसले यो कुरा थाहा पायो र काम बन्द भयो । बाध्य भएपछि बूढाले घर बेचे र एउटा राम्रो बगँैचा भएको जग्गा किने ।
दुई वर्षपछि बार्बरा भाशिल्येभ्ना फेरि आइन् र छोरालाई अक्षर चिनाउन सुरु गरिन् । केही दिनभित्रै उनी सिरिलिक लिपिको राम्रो अध्ययन गर्न सफल भए । तर, उनले कविता पढ्न सिक्ने काममा निकै कठिनाइ महसुस गरे किनभने उनले कविता बुझ्दैनथे । तर, उनको स्मरणशक्ति राम्रो थियो । त्यसैले हजुरआमाले सिकाएका गीत र दन्त्यकथाहरू खूब राम्रोसित मुखाग्र भन्न सक्तथे । गणित पनि उनलाई सजिलै लाग्थ्यो । “मैले लेख्न चाहिन्न र मैले व्याकरण त कति पनि बुझेको थिइनँ ।”
सन् १८७६ को सुरुमा अलेक्सेयीको आमाले उनलाई पाठशालामा भर्ना गरिदिइन् । तर, अलेक्सेयी भने यो परिवर्तनबाट कति पनि खुसी भएनन् । एक महिनापछि उनलाई बिफर लाग्यो र उनी घर फर्किए । धेरै समयसम्म उनी एक्लै बुइँगलमा पल्टिरहन्थे । हजुरआमामात्रै उनको हेरचाह गर्थिन् । त्योबेला बूढीले उनलाई थुप्रै दन्त्यकथाहरू सुनाउँथिन् । बूढीले अलेक्सेयीलाई उनका मातापिताको कथा पनि सुनाइन् । अलेक्सेयीका पिता साइवेरियाको कुनै ठाउँमा जन्मेका थिए र उनका बाबुले उनलाई धेरैपटक नराम्रोसँग कुटपिट गरेका थिए । यसपछि उनी घरबाट भागे । एकबाजी अलेक्सेयीका पितालाई कुकुर लगाएर लखेटेका थिए । फेरि अर्को पटक उनलाई बाबुले यति निर्दयतापूर्वक पिटेका थिए कि छिमेकीहरूले त्यहाँ हस्तक्षेप गर्नुप¥यो र त्यो सन्काहाबाट छुटाउन बालकलाई लुकाएर राखे । उनकी आमा सानैमा बितिन् । जब म्याक्सिम सब्यात्येभिच नौ वर्ष भए उनका बाबु पनि मरे । त्यसपछि पेर्म प्रान्तका एकजना सिकर्मीले उनलाई ल्याए र धर्मपुत्रको रुपमा पालनपोषण गरे । एक दिन ती ठिटा त्यहाँबाट भागे र गाउँघरतिर घुम्दै अन्धा मान्छेहरूलाई बाटो देखाउने काम समाते । सो¥ह वर्षको उमेरमा उनी निश्नी आइपुगे । त्यहाँ उनले एउटा ठूलो फर्निचर पसल (काठको काम गर्ने पसल) मा नोकरी पाए । बीस वर्षको उमेर हुँदा नहुँदा एउटा सिपालु सिकर्मीको रुपमा उनको बखान चल्यो । उनको पसल काशिरिन खलकको पसलभन्दा पल्लोपट्टि थियो । भाशिली भासिल्येभिच काशिरिनले आफ्नो जीवनकालमा गुजारा चलाउनको लागि भोल्गा नदीमा सामान्य कुल्लीको काम गरेका थिए । पछि उनी थुप्रै धनदौलत र चारवटा घरका मालिकको रुपमा एउटा नामी छिपा (रञ्जितकार) महाजनसम्म भए । उनले भद्र भलाद्मीहरूले लगाउने कोट र लुगाफाटासमेत हालेका थिए । अलेक्सेयीले उनका मातापिताको भेट कसरी भएको थियो र कस्ता कस्ता विपत्तिहरू उनीहरूमाथि आइलागे भन्ने कुरा जाने । बूढा काशिरिनले ज्वाइँको रूपमा राख्ने त्यो आदर्श परिवारको एउटा सदस्य खोजेका थिए । हजुरआमाले आफ्ना दुइटा छोराहरूलाई भन्दा पनि बढी ती चतुर म्याक्सिम सब्यात्येभिचलाई माया गरिन् र उनले दुइटा नवदम्पतीलाई हर किसिमले सहयोग गरिन् ।
अलेक्सेयीलाई सञ्चो भइसकेपछि एकदिन उनकी आमाले नापी अध्ययन संस्थाका विद्यार्थी येभ्गेनी भासिल्येभिच म्याक्सिमोभसित पुनर्विवाह गर्न खोजेकी छन् भन्ने कुरो थाहा भयो । सुरुदेखि नै बालक अलेक्सेयीको मनमा भविष्यको आफ्नो काकाबाउ र आफ्नी आमाप्रतिको गहिरो घृणाको भावना जागृत भएर आयो । यो भावनामा कुनै किसिमले पनि परिवर्तन आउन सकेन । अलेक्सेयीलाई हाइस्कूलमा भर्ना गर्ने लोभ देखाइयो, डाक्टर हुन पाउने आशा देखाइयो र जस्तो जस्तो चीज मनपर्छ त्यस्तै चीज किनेर दिने प्रतिज्ञा गरियो । तर, यी सबै प्रयत्नहरू व्यर्थ भए । बालक अलेक्सेयीको मनमा जतासुकै एकदम अँध्यारो हुँदै गइरहेको जस्तो आभास भयो । सबै चीजहरू एउटै अन्धकार गुफातिर क्रमबद्ध तरिकाले बढ्दै गइरहेको सिँढीजस्तै लाग्यो । आमाबाट अलग्गिएर एउटा निर्जन, अनकन्टार ठाउँतिर बढिरहेजस्तै अनुभव भयो ।
बगैँचामा उनले आफ्नै मस्तकले सानो घर बनाएका थिए । यो उनको सबभन्दा पहिले स्वतन्त्र किसिमको, आफ्नै भरमा मात्र सृजना भएको आविष्कार थियो । त्यहाँ उनले धेरै दिन र रात काटे । त्यो समयको यो विचित्र मनमोहकताले मनको सामान्य राग र द्वेषलाई पर हटाइ दियो । “यो नै मेरो जीवनको सबभन्दा शान्त क्षण र सबभन्दा बढी संवेदनशील अन्तरदर्शनको समय थियो । त्यो ग्रीष्म ऋृतुदेखि आफ्नो मनमा आफूप्रति आफैलाई आत्मविश्वास बढेर आएको मैले पाएँ ।”
आफू एउटा आदर्श मान्छे भएर पनि सुदखोरीजस्तो धूर्त व्यवहार गरेको हुनाले नै अलेक्सेयीका हजुरबाले पैसाको कारोबारको सिलसिलामा थुप्रै रकम गुमाउनुप¥यो र आखिरमा बूढा टाटपल्टिए । फेरि पनि बूढाले घर बेच्नुप¥यो । घरका सबै टेबुल र कुर्चीहरू तार्तर भन्ने नाम भएको एकजना मान्छेले उठायो र यो देखेर अलेक्सेयीको चित्त दुख्यो । उनी कराए किनभने अलेक्सेयीले अब आफ्नो अति प्यारो बगैँचा पनि छोड्नुप¥यो । त्यो परिवार घरको ओसिलो छिँडीमा उकुसमुकुसलाग्दो वातावरण भएको दुइटा अँध्यारो कोठा भाडामा बस्यो । केही समयपछि अलेक्सेयीकी आमा नयाँ लोग्नेलाई लिएर त्यहाँ आइन् । तिनीहरू दुवै थकित देखिन्थे । अलेक्सेयीको आमाको अनुहार दुब्लो र पहेँलो भएको थियो, उनका आँखा ज्वरोले धपधपी बलेका थिए । अलेक्सेयीको काकाबाउले आफ्नो भएभरको सम्पत्ति जुवा खेलेर सिध्याएका थिए । उनले मस्कोमा अध्ययन स्थगित गर्नुप¥यो । उनले सार्मोभोको देहाती क्षेत्रमा एउटा अफिसमा कारिन्दाको रुपमा काम गर्न मञ्जुर गर्नुप¥यो । त्यहाँ अलेक्सेयीका बाबुआमाले एउटा घरमा डेरा जमाए । त्यो घरको कोठाका भित्ता प्लाष्टर गरिएको थिएन र त्यहाँ साङ्लाको बथानमात्र थियो । अलेक्सेयीकी हजुरआमाको पनि घर थिएन । त्यसैकारणले अलेक्सेयी हजुरआमासँगै भान्छामा बस्नुप¥यो । रिसको आवेगमा आएर अलेक्सेयीका हजुरबाले हजुरआमालाई फेरि एकपल्ट घरबाट निकालिदिएका थिए ।
बिहान सबेरै जब मान्छेहरूलाई काममा सामेल हुने सङ्केत दिँदै कारखानाको सिटी बज्यो, अलेक्सेयी उठेर बेञ्चमा उभिन्थे, झ्यालबाट हेर्थे र घरका छानै छानाभन्दा परपर हेर्थे । अलि पर उनी अक्सर कारखानाको मूल ढोकानेर पिलपिल गर्दै बलिरहेका लालटिन देख्थे । कारखानाको ढोका कालो मुख भएको दाँतविहीन एउटी ‘आतिँदै ठाउँमा पुग्न दौडिरहेको भीडलाई कपाकप निलिरहेको’ मगन्ते बूढीको मुखजस्तै ह्वाङ्ग परेको थियो । मध्याह्नमा फेरि पनि कारखानाको चर्को सिटीको स्वर सुनिन्थ्यो । कारखानाको ढोका खुल्थ्यो र त्यो कालो मुखले अनगिन्ती मान्छेहरूको हुललाई उकेल्थ्यो । अलेक्सेयीलाई नीलो आकाश देख्न गाह्रो हुन्थ्यो । आजभन्दा भोलि झन् बाक्लो हुँदै निस्केको कारखानाको धँुवा घरको छानामाथि र हिउँका थुप्रामाथि चाक्लो खैरो सिलिङ्गजस्तो भएर फैलिँदै जान्थ्यो । कल्पनालाई कुँजो बनायो र आँखा थकित भए किनभने त्यो धुवाँको रङ्ग अत्यन्त आर्त र वाक्कलाग्दो थियो ।
कोठामा सधैँ धुँवामात्र गन्हाइरहन्थ्यो । अलेक्सेयीकी हजुरआमा बिहान सबेरैदेखि साँझ नपरुञ्जेलसम्म खूब लदिएर काम गर्थिन् र बेलुकी ओछ्यानमा सुत्न जाँदा असाध्यै थाकेकी हुन्थिन् । अलेक्सेयीकी आमा गर्भवती भएकी थिइन्, उनलाई निरन्तर खोकी लागिरहन्थ्यो र उनी त्यो दुर्गन्धित सडकको पाप्रा उप्किन लागेको पर्खालतिर हेरेर घण्टौंसम्म टोलाइरहन्थिन् । बालक अलेक्सेयीलाई उनीबाट कहिल्यै पनि एउटा मायालु वचन सुन्ने मौका मिलेन । उनी जेजे भन्थिन् आदेशको रुपमा भन्थिन् । “यहाँ आइज । त्यो चीज मलाई दे ! त्यो ल्या ।” तिनले अक्सर गरेर अलेक्सेयीलाई छालाको कोर्राले ठोक्थिन् । अलेक्सेयीको बिराम चाहिँ सडकमा अरु केटाकेटीहरूसित खेल्नुहुन्थ्यो । काकाबाउ पनि अलेक्सेयीप्रति असाध्यै निष्ठुर थिए । दिनदिनैजसो अलेक्सेयीलाई भान्छामा थुनेर उनी स्वास्नीप्रति झगडा गर्थे । बालक अलेक्सेयीको मन निर्जीव विकृत संसारमा एकान्तपनको सचेतताबाट अत्यन्तै मर्माहत हुन्थ्यो ।
कामदारहरूको लागि राशन–पानी बाँड्दा ठगेको अभियोगमा येभगेनी भासिल्येभिच जागिरबाट निकालिए । तर, चाँडै नै उनले रेलवे मार्गमा खञ्चाजीको काम भेटाए । त्यसपछि त्यो परिवार रेलवे स्टेशनमा ढुङ्गै ढुृङ्गाले बनेको एउटा ठूलो घरमा बस्न पुग्यो । अलेक्सेयीकी आमाले अलेक्सेयीलाई फेरि तुरुन्तै स्कूलमा भर्ना गरिदिइन् । ‘बढालु देखाउन’ अलेक्सेयीलाई जुत्ता र हजुरआमाको थोत्रो जाकेट काटेर बनाएको कोट लगाइदिइन् । अलेक्सेयीले लगाएको जडाउरी लुगाफाटाले साथीभाइहरूको समूहमा उनी एउटा हाँसको पात्र बन्न पुगे । अलेक्सेयीको कमिज पहेँलो थियो, त्यसैकारण उनलाई स्कूले ठिटाहरू ‘इँटको एक्का’ भन्थे । अलेक्सेयीले चाँडै नै स्कूले केटाहरूसित मित्रता गाँसे । केही समयपछि अध्ययनप्रतिको गहन रुचिको कारणले उनले स्कूलका गुरु र पुरोहितहरूको मन पनि जिते ।
एकदिन बालक अलेक्सेयीले आफ्नी आमालाई काकाबाउले जमीनमा पछारेर पिटिरहेको देखे । आमाचाहिँ जमीनमा घुँडोमुन्टो टेकेर लडेकी थिइन् र काकाबाउले जुत्ताको नोकले उनको छातीमा हानिरहेका थिए । बालक अलेक्सीले रिसले आँखा देखेनन् र चुपी लिएर उसमाथि जाइलागे । तर आमाले तुरुन्तै तानिन् । यो भयानक दृश्यलाई गोर्कीले कहिल्यै बिर्सन सकेनन् । उनको आफ्नै शब्दमा ः
“…… असभ्य रुसी जीवनको आतङ्कले मानिसहरूलाई तल्लो श्रेणीमा ओरालेको छ र अहिलेको यो जीवन एउटा दुःखदायी कटु सत्य हो, जहाँ अहिले जस्तोसुकै अन्याय, अत्याचार र पशुवत् व्यवहार पनि क्षम्य छ । यो नीच अपमानजनक जीवनबाट मुक्ति पाउनको लागि मानिसहरूको हृदयको आवाज सुनेर यो दुःखद अवस्थालाई निर्मूल पारेर फ्याँक्न र नयाँ सृजना गर्नको लागि यो अवस्थाको जरोलाई बुझ्नु आवश्यक छ ।”
बाबुआमा र बालक अलेक्सेयीबीचको सम्बन्ध बिग्रँदै गएको हुनाले बालक अलेक्सेयी हजुरबा हजुरआमाकै घरमा फिर्ता जानुप¥यो । खाने र बस्ने ठाउँमा जीवन अनौठो थियो । हजुरबा उदेकलाग्दो कञ्जुसमा फेरिएका थिए । उनी आफ्ना पुराना
गोर्की….
मित्रहरूसित रुपियाँ सापट माग्थे र चर्को ब्याजमा अरूलाई दिन्थे । हजुरआमालाई सघाउनको लागि अलेक्सेयीले पैसा कमाउने निर्णय गरे । प्रत्येक आइतबार बिहान सबेरै अलेक्सेयी बाहिर गएर हाडका टुक्रा, फाटेका कपडाहरू र मिल्किएका फलामका टुक्राटाक्री बटुल्थे । हप्ताका अरु दिनहरूमा उनी स्कूल छुट्टी भएपछि फेरि आफ्नो काममा लाग्थे । उनले हप्ताभरिमा तीसदेखि पचास कोपेकसम्म कमाउँथे र कहिलेकाहीं केही बढी पनि आउँथ्यो । धुनी जगाउने ठाउँका दाउरा र ओकाको काठ गोदामबाट फल्याक चोर्न सके झन् बढी नाफा हुन्थ्यो । यस्तो काम गर्ने केटाकेटीहरूको थुपै्र जमात थियो । तिनीहरूमध्ये कुनै कुनै जमातका केटाकेटीहरू त यस्ता उपद्रयाहा थिए कि जाँड खाएर हल्लिदै हिँड्ने रिक्सावाल, बग्गीवाल र सहरबाहिरका कलाकारहरूलाई समेत कुटपिट गर्थे । तर, पेश्कोभ जमात भने यस्तो चोरी, ठगी र गुण्डागर्दी कामबाट अलग्गै थिए ।
यो समयमा स्कूले जीवन अत्यन्त कठिन थियो । अलेक्सेयीका कक्षाका साथीहरूले उनलाई झुत्रे, मगन्ते र डाँकू भनेर गिज्याउँथे । यतिमात्रै नभएर उनीहरू अलेक्सेयीको आडमा बस्तैनौ भनेर शिक्षकहरूसित उजुरी गर्थे । अलेक्सेयीको शरीर डुङ्डुङ्ती गन्हाएको छ भन्ने दोष उनीहरू लगाउँथे । “यो आरोपबाट म कति धेरै दुखित भएको थिएँ र त्यसपछि स्कूलमा गएर नियमित पढाइ गर्न मलाई कति मुश्किल प¥यो भन्ने कुरा मलाई सम्झना छ । यो झूठा आरोपहरूले भरिएको दुर्बुद्धिपूर्ण बदख्वाइँ थियो । म सधैं राम्रोसँग नुहाइधुवाइ गर्थेँ र स्कूल जाँदा झुत्रा कपडा, हाड र फलामका टुक्राहरू बटुल्दा लगाएको लुगा लगाएर कहिले पनि जान्नथेँ ।”
अलेक्सेयीले तेस्रो कक्षाको परीक्षा सफलतापूर्वक पास गरेर उनलाई धार्मिक कुराहरूमा आधारित एउटा कथाको किताब, किल्लोभका लघुकथाहरूको एउटा ठेली र ‘फराटा मोर्गाना’ भन्ने दुर्वोध्य (नबुझिने) शीर्षक भएको एउटा किताब पुरस्कार दिइयो । उनले ‘विज्ञान विषयमा विशेष उन्नति गरेको’ सन्दर्भमा एउटा प्रशंसापत्र पनि पाए ।
अन्त्यमा उनले स्कूल छोडे । त्यसपछि उनी आफ्ना साथीहरूलाई साथमा लिएर बिहानदेखि बेलुकासम्म जता मनलाग्यो त्यतै हल्लिन थाले । यो स्वच्छन्द जीवन धेरै समयसम्म चलेन । उनको आफ्नै शब्दमा “यो मेरो भाग्यमा उथलपुथल ल्याएर मलाई माथितिर धकेल्ने घटना भयो । अलेक्सेयीका काकाबाउ फेरि पनि जागिरबाट निकालिए र उनी बेपत्ता भए । नवजात शिशुकी आमा र त्यो नवजात शिशुले अलेक्सेयीको हजुरबाको घरमा शरण लिनुप¥यो । आमाचाहिँ अत्यन्त कमजोर भएकी हुनाले अलेक्सेयी आफैले त्यो दूधेबालकको हेरचाह गर्नुप¥यो । सन् १८७८ को अगस्तमा अलेक्सेयीकी आमा भासिल्याभिच सुकेनासको रोग लागेर मरिन् । दाहसंस्कारको कामपछि अलेक्सेयीलाई हजुरबाले भने, “सुन अलेक्सेयी ! तँ कुनै तक्मा हैनस् जसलाई म घाँटीमा झुण्ड्याएर हिँड्न सकूँ । अब यहाँ तँलाई बस्ने ठाउँ छैन । जहाँ जानुपर्छ जा, आफ्नो बाटो लाग र आफ्नो सुर गरेर पेट पाल ।”
“म नौलो मान्छे र नयाँ ठाउँतिर लागँे ।” यिनै शब्दहरूबाट गोर्कीले आफ्नो बाल्यकालका संस्मरण टुङ्ग्याएका छन् ।
अनुवादक – हरिहर खनाल
स्रोत ः प्रचेष्टा, २०५४, असार
Leave a Reply