भर्खरै :

बिनातयारी सेमेस्टर प्रणालीमा नेक्राविसंघको विरोध

नेपाल क्रान्तिकारी विद्यार्थी संघले बिना पूर्वाधार त्रिभुवन विश्वविद्यालयले काठमाण्डौं उपत्यकाका आंगिक क्याम्पसहरुमा सेमेस्टर प्रणालीमा भर्ना आवेदन खोलेकोमा विरोध जनाएको छ । संघका केन्द्रीय अध्यक्ष नीरज लवजूले एक वक्तव्य जारी गरी विगतमा सेमेस्टर लागु भएका क्याम्पसहरुको समीक्षा नगरी एकतर्फी सेमेस्टर प्रणाली लागु गर्नु जनताका छोराछोरीलाई विश्वविद्यालय शिक्षाबाट वञ्चित गर्ने षड्यन्त्र भएको बताएका छन् । वक्तव्यको पूर्ण विवरण यसप्रकार छ ।
काठमाण्डौं उपत्यकाका क्याम्पसहरुमा सेमेस्टर प्रणालीबारे प्रेस वक्तव्य
त्रिभुवन विश्वविद्यालयले मंगलबार मानविकी तथा सामाजिकशास्त्र सङ्कायअन्तर्गत काठमाण्डौ उपत्यकाका सबै आंगिक तथा सम्बन्धन प्राप्त क्याम्पस एवं केन्द्रीय विभागहरुमा सेमेस्टर प्रणालीमा सन् २०१७ मा सञ्चालन हुने विभिन्न विषयका स्नातकोत्तर तहका कार्यक्रममा प्रथम सत्रमा भर्ना सम्बन्धि सूचनाप्रति नेपाल क्रान्तिकारी विद्यार्थी संघको गम्भीर ध्यानाकर्षण भएको छ ।
त्रिविले २०७० सालबाट केन्द्रीय क्याम्पस कीर्तिपुरलगायत केही अन्य क्याम्पसका निश्चित विषयमा सेमेस्टर प्रणाली लागु ग¥यो । तर तात्कालीन अवस्थामा त्रिविले भौतिक पूर्वाधार, शैक्षिक गुणस्तर, पाठ्यक्रममा सुधार, नियमित शैक्षिक कार्यतालिकाजस्ता आधार र आश्वासनमा सेमेस्टर प्रणाली सञ्चालन ल्याएको थियो, आजसम्म पनि तीमध्ये धेरै आधार र आश्वासन पूरा भएका छैनन् । त्रिविले सेमेस्टर प्रणाली लागु गर्ने नाममा कोटा लागु गरेर हजारौंको संख्यामा विद्यार्थीहरुलाई विश्वविद्यालय शिक्षाबाट बञ्चित बनाएको छ । एकतिर त्रिविले सेमेस्टर प्रणालीको नाममा शिक्षण शुल्क अचाक्ली वृद्धि गरी व्यापक नेपाली विद्यार्थीहरुको निम्ति विश्वविद्यालय शिक्षा दुरुह बनाइदिएको छ भने अर्कोतिर कोटा प्रणाली लागु गरेर निजी क्याम्पसको व्यापार बढाउने काम गरिरहेको छ ।
विगतको गम्भीर समीक्षा नगरीकन त्रिविले काठमाण्डौ उपत्यकाका क्याम्पसहरुमा सेमेस्टर प्रणाली लागु गर्ने एकतर्फी सूचना जारी गर्नु त्रिविको बालहठ भएको हाम्रो ठहर हो । पूरानै भताभुङ्ग भौतिक अवस्था, अनियमित शैक्षिक कार्यतालिका, उही शैक्षिक जनशक्ति, पूरानै पाठ्यक्रमलाई खण्डीकरण गरेर सेमेस्टर प्रणाली लागु गर्नु विद्यार्थीहरुबाट चर्को शुल्क असुली गर्ने र सीमित हुने खाने र सक्ने वर्गका छोराछोरीलाई मात्र विश्वविद्यालय शिक्षा दिने चालबाजी हुनेछ ।

नेक्राविसंघ सेमेस्टर प्रणालीको सन्दर्भमा निम्न बुँदाहरु पूरा गरेर मात्र सेमेस्टर प्रणाली बिस्तार गर्न सकिनेमा त्रिविको ध्यानाकर्षण गर्दछः
१. सेमेस्टर प्रणालीमा कोटा प्रणाली खारेज गरिनु पर्दछ । भर्ना भएका सबै विद्यार्थीहरुलाई सेमेस्टर प्रणाली सञ्चालन निर्देशिका २०७० बमोजिम विश्वविद्यालय शिक्षा दिनुपर्दछ ।
२. सेमेस्टर प्रणालीको नाममा शुल्क वृद्धि गर्न पाइने छैन, बढाइएको शुल्क घटाइनुपर्दछ ।
३. सेमेस्टर प्रणालीको लागि आवश्यक भौतिक पूर्वाधार, शैक्षिक जनशक्ति आदि सुनिश्चित गर्नु पर्दछ ।
४. त्रिविको शैक्षिक क्यालेण्डर नियमित हुने ग्यारेन्टी हुनुपर्दछ ।
५. सेमेस्टर प्रणालीलाई मुलतः फेरि पनि परीक्षा केन्द्रित बनाइएको अवस्थामा शिक्षालाई उत्पादन श्रमसँग जोड्दै जानु आवश्यक छ ।
६. ५ जनाभन्दा कम विद्यार्थी भर्ना भएका विषयलाई आंगिक क्याम्पसबाट विस्थापित गर्ने नीति खारेज गर्नुपर्दछ । बरु विद्यार्थी संख्या कम भएका विषयहरुमा छात्रवृत्ति बढाएर, प्रचार प्रसार गरेर, पाठ्यक्रम र शिक्षणपद्धतिमा समयानुकूल परिमार्जन गरेर र रोजगारका अवसरहरु सृजना गरेर तिनलाई व्यापक बनाइनुपर्दछ ।
७. विषयगत सम्बन्धन दिंदा देशलाई आवश्यक जनशक्तिको आधारमा दिइनुपर्दछ । निजी क्याम्पसहरुका व्यापारिक लक्ष्य पूरा गराउने हेतु सम्बन्धन दिने काम बन्द गर्नुपर्दछ ।
नीरज लवजू
अध्यक्ष

Leave a Reply

Your email address will not be published. Required fields are marked *