भर्खरै :

वास्तविक पीडितलाई राहत देऊ !

सुरजसिंह
चैत १७ गते आइतबार साँझ भयानक आँधीहुरी चल्दा नेपालको प्रदेश नं २ को बारा र पर्सा जिल्लाका केही गाउँमा अकल्पनीय धनजनको क्षति भयो । यी पङ्क्ति लेखिरहँदा उक्त हुरीका कारण मृत्यु हुनेको सङ्ख्या ३१ पुगेको छ । पीडितको अवस्था अत्यन्त विजोग र दयनीय भएको छ । पीडितका घर भत्केका छन् । खानेकुरा र अन्नपात माटोमा मिसिएको छ । उनीहरूलाई तत्काल पानी र खानेकुरा आवश्यक देखिन्छ । आफन्त गुमाएपछि र घर भत्किएपछि स्थानीयवासीको रुवावासी छ । रातभर खुला आकाशमा बिताएका उनीहरू के खाउँ र कहाँ जाऔं भन्ने स्थितिमा छन् । प्रभावित क्षेत्रमा अहिले तत्काल शुद्ध पिउने पानी र खानेकुरा आवश्यक देखिन्छ । यतिसम्म कि आँधीबाट ह्याण्ड पम्पसमेत उखेलिएको छ । इनारमा पातपतिङ्गर र माटो परेकाले पानी पिउन लायक छैन । बिजुलीका पोलहरू ढलेकाले गाउँमा बत्ती छैन । रुखहरू ढलेर कतिपय बाटा बन्द छन् ।
पीडितलाई बाँच्नका लागि आवश्यक राहत सामग्री तत्काल वितरण आवश्यक छ । केन्द्र सरकार र प्रदेश सरकारले पीडितलाई पर्याप्त राहत रकम वितरण गर्ने बताएका छन् । प्रदेश नं. २ को प्रदेश सरकारले मृतकका परिवारलाई ३ लाख रुपियाँ दिने घोषणा गरिएको छ । ठूलो रकम वा राहत घोषणा मुख्य होइन वास्तविक पीडितलाई राहत वितरण गर्नु र जनजीवनलाई सक्दो छिटो सामान्य अवस्थामा ल्याउन काम गर्नु मुख्य हो । नक्कली पीडित वा कम पीडितले बढी राहत सामग्री पाउने र वास्तविक पीडितले राहत नपाउने अवस्था नआवस् । घाइतेहरूको राम्रो उपचारको उचित व्यवस्था गरियोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *