भर्खरै :

प्रलेस पुँजीवादी सरकारको सेवा गर्ने सङ्गठन होइन

एमाले र माओवादी मिलेर बनेको ‘नेकपा’ कम्युनिष्ट सिद्धान्त र विचार लत्याएर पुँजीवादी राजनीतिमा हाम्फालेपछि पद र पैसामा भुल्नु अस्वाभाविक होइन । कम्युनिष्टको सिद्धान्त र विचारभन्दा नेकपाले सत्ता र सरकारको नेतृत्व गर्नुलाई नै ठूलो उपलब्धि र सफलता ठान्यो । वास्तवमा यो नेकपामा आएको सैद्धान्तिक विचलन हो । पार्टीमै क्रान्तिकारी धार हराएपछि त्यस मातहतका अन्य सङ्घ, सङ्गठन र समितिहरू तथा तिनका कार्यकर्ताको नेतृत्व भएका सङ्गठनमा पनि त्यसको प्रभाव पर्नु अनौठो होइन । प्रगतिशील लेखक सङ्घ अहिले त्यसैको शिकार बनेको छ । माक्र्सवादी सिद्धान्त र विचारलाई साहित्य र सांस्कृतिक कार्यक्रममार्फत जनताको घर आँगनमा पु¥याउने र पुँजीवादी सत्ताले जनविरोधी कदम र दमनको प्रतिरोध गर्ने लक्ष्यसहित स्थापना भएको प्रलेस पुँजीवादी सरकारको बौद्धिक दास बनेपछि प्रगतिशील लेखकहरूमा चिन्ता बढेको हो । प्रलेस यतिबेला विभाजित भएको छ ।  कम्युनिष्ट सिद्धान्तमा आधारित कुनै पनि प्रगतिशील साहित्यिक, सांस्कृतिक या वैचारिक मञ्चको उद्देश्य पुँजीवादी संस्कृतिविरुद्ध समाजवादी संस्कृतिको प्रचार तथा समाजवादी सङ्घर्षमा होमिएको कम्युनिष्ट पार्टीलाई सहयोग गर्नु हो । कम्युनिष्ट पार्टी र आन्दोलनलाई विस्तार गर्नु हो । प्रलेसले विगतदेखि साम्राज्यवाद, सामन्तवाद, पुँजीवाद, उपनिवेशवाद र विस्तारवादको सशक्त विरोध गर्दै आएको थियो । तर, नेकपा नेतृत्वको सरकार बनेपछि प्रलेस सरकारका गलत क्रियाकलापको विरोधमा उभिएन । त्यही भएर प्रलेसभित्रै विरोधको स्वर सल्किएको हो । प्रगतिशील लेखकहरूको त्यो स्वर सरकारको पक्षपोषण गर्ने लेखकहरूलाई मन परेन ।परिणामतः कति प्रगतिशील लेखकहरू प्रलेसबाट अलग्गिए । प्रलेसमाथि आफ्नो जिम्मेवारी छोडेको बात लाग्यो । यसरी वैचारिक विचलनको कारण प्रलेसभित्र असन्तोष देखियो ।
साम्राज्यवाद, सामन्तवाद र विस्तारवादीविरोधी साहित्यिक तथा सांस्कृतिक सो संस्था कुनै सरकारी संस्थाले झैं सत्ताकै पक्षपोषण गरिरह्यो । नेपाल सरकार भारतको उठबसमा चले पनि, भारतले थिचोमिचो गरे पनि, दबाब दिए पनि प्रलेस मूकदर्शक रह्यो । प्रलेसले आफ्नो धर्म छोड्यो । यसरी कम्युनिष्ट विचार छोडेको प्रलेसले आफ्नो जिम्मेवारी कसरी पूरा गर्छ ? प्रलेसको मुख्य जिम्मेवारी माक्र्सवादी साहित्यलाई अझ चौडा बनाउनु हो । साहित्य लेखन र सांस्कृतिक गतिविधिमार्फत प्रगतिशील विचारबाट जनतालाई सुसूचित बनाउनु हो । सैद्धान्तिक र वैचारिकरूपमा जनतालाई सचेत र सङ्गठित बनाउने हतियारमै खिया लागेपछि बागी लेखकहरूले चिन्ता व्यक्त गरेका हुन् । गलत कार्य र गतिविधिको समयमै खबरदारी गर्नुपर्छ, विरोध गर्नुपर्छ । माक्र्सवादीहरू आलोचनादेखि डराउँदैनन् । आलोचना र आत्मालोचना नै कम्युनिष्ट नैतिकता हो । अरु कोही पनि लेखक नभएजस्तो गरी प्रलेसको सम्मेलनको उद्घाटन सरकारको मन्त्रीबाट गराइयो । सरकार स्वयम् सैद्धान्तिक र राजनीतिकरूपमा विशृङ्खलित बनेको अवस्थामा प्रतिरोधमा उत्रनुपर्ने प्रलेसले सरकारी मन्त्रीबाटै उद्घाटन गर्न लगाउनु विडम्बनापूर्ण छ । प्रलेसले जनताको हितभन्दा पनि सरकारको ताबेदारी गर्ने नीति लिएको यो सङ्केत हो । सत्ताको दमनको प्रतिरोधमा प्रलेस अघि नसर्ने घोषणा आफ्नो मञ्चमा सत्ताकै मन्त्री र आसेपासेको उपस्थितिमार्फत देखाइएको छ । प्रलेसले क्रान्तिकारी भूमिका निर्वाह गर्नुपथ्र्यो । साम्राज्यवाद, सामन्तवाद, पुँजीवाद, विस्तारवाद र उपनिदेशवादविरुद्ध कलम चलाउनुपथ्र्यो । भारतीय थिचोमिचो, भारतीय दबाब, सीमा अतिक्रमणको विरोध गर्नुपथ्र्यो । तर, त्यो भूमिका प्रलेसले निर्वाह गरेन,गरेको देखिएन । प्रलेसले आफ्नो जिम्मेवारी भुल्यो । सरकारको कमी कमजोरीबारे कुनै औंल्याउने काम प्रलेस गर्न चाहेन । के यो प्रलेसमा आएको वैचारिक विचलन होइन ? प्रलेसका लेखकहरूमा देखिएको वैचारिक दरिद्रताको प्रलेसकै लेखकहरूले नै चिरफार गर्नुपर्छ,लेखकहरूमाझ उदाङ्ग्याउनु जरुरी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *