भर्खरै :

समाज सुधार मावि ४८ औँ वर्षमा

भक्तपुर, २५ चैत । समाज सुधार माध्यमिक विद्यालयको ४८ औं वार्षिकोत्सव, एसईई परीक्षा ०७४ मा उत्तीर्ण विद्यार्थीहरूलाई पदक र कक्षागत विद्यार्थीहरूलाई पुरस्कार वितरण तथा सांस्कृतिक कार्यक्रम सोमबार एक समारोहबीच सम्पन्न भयो ।
उक्त कार्यक्रमको समुद्घाटन गर्दै नेमकिपाका केन्द्रीय सदस्य एवं भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले देशकै सबभन्दा राम्रो, सस्तो र गुणस्तरीय शिक्षा दिन भक्तपुर लागिपरेको बताउनुभयो ।
देश र जनताप्रति समर्पित भएर सेवामा जुट्नुपर्ने आवश्यकता औंल्याउँदै नगर प्रमुख प्रजापतिले स्वार्थी प्रवृत्तिले समाज अघि नबढ्ने हुँदा विद्यार्थीहरूलाई श्रमदान, सरसफाइजस्ता सामूहिक काममा लगाएर समाज सेवा गर्नुपर्छ भन्ने भावना जगाउनुपर्छ भन्नुभयो ।
आजको दुःखले भोलि सुख पाउने हुँदा भावी पुस्ताको जीवन सुनिश्चित गर्न शिक्षा र स्वास्थ्यमा खर्च गर्नुपर्ने उल्लेख गर्दै उहाँले विद्यालयमा भौतिक पूर्वाधारको साथै शैक्षिक गुणस्तर वृद्धिमा पनि ध्यान पु¥याउनुपर्छ भन्नुभयो ।
विद्यार्थीहरूमा पाठ्यपुस्तकको ज्ञान गुणबाहेक व्यवहारिक शिक्षा दिन देश र समाजको सेवामा लागेका अग्रज, राजनीतिज्ञ र देश र जनताको निम्ति ज्यानको बाजी राख्ने सहिदहरूको योगदानबारे सुसूचित गर्न नपाले पाठ्यक्रम तयारी गरेको बताउनुभयो ।
प्रदेश नं. ३ को नेमकिपाका सभासद् सुरेन्द्रराज गोसाईले बालबालिकाहरूलाई असल, योग्य बनाउन र सत्मार्गमा हिंडाउन शिक्षक र अभिभावकहरूको योगदान महत्वपूर्ण हुने चर्चा गर्दै जनताले जनताका छोराछोरीको निम्ति खोलेको विद्यालयमा काम चोर प्रवृत्तिले विद्यालयको प्रगतिमा बाधा हुन्छ भन्नुभयो ।
सत्तासीन दलका नेता, मन्त्री र सांसदहरू देश र प्रदेशको विकास गर्न होइन देशको राजस्वमा रजाइँ गर्न तल्लीन रहेको उल्लेख गर्दै सांसद गोसाईले सरकार खञ्चुवा, लुटेरा र भ्रष्टहरूको भइरहेकोमा चिन्ता व्यक्त गर्नुभयो ।
देशको सन्तुलित विकास गर्न नै सङ्घीय अवधारणा आएको स्पष्ट पार्दै उहाँले केन्द्रीय राजधानी भएको ठाउँमा अर्को प्रदेशको राजधानी बनाउने सोच र चिन्तन गलत छ भन्नुभयो । नेपाल क्रान्तिकारी शिक्षक सङ्घका केन्द्रीय कोषाध्यक्ष चक्रबहादुर चाकतूले शिक्षाको सबै दायित्व राज्यले लिनुपर्नेमा उल्टो आफ्नो जिम्मेवारीबाट पन्छिंदै गइरहेको उल्लेख गर्नुभयो ।
सरकारले शिक्षामा कम लगानी गरेर उच्च शिक्षा अध्ययन गर्ने अवसरमा बाधा पु¥याइरहेको चर्चा गर्दै उहाँले भन्नुभयो, “सरकारले शिक्षामा मात्र होइन शिक्षकमा पनि विभेद गरिरहेको छ, संविधानमा उल्लेख भएबमोजिम सरकारले निःशुल्क शिक्षा दिइरहेको छैन, आवश्यक दरबन्दी नदिएर सरकारले शिक्षा ऐन उल्लङ्घन गरिरहेको छ, शिक्षामा कर प्रणाली प्रगतिशील छैन ।”
उहाँले सरकारकै कमजोरी र बेवास्ताका कारण देशको शैक्षिक स्तर खस्किरहेको बताउनुभयो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्णसागर बासीको सभापतित्वमा भएको सो समारोहमा वडा नं. ८ का वडाध्यक्ष महेन्द्र खायमली, प्रअ लक्ष्मीनारायण दुवाल, सहायक प्रअ जगन्नाथ प्रजापति, अनिवार्य अवकाश प्राप्त शिक्षक राम प्रजापतिले पनि बोल्नुभएको थियो ।
सो अवसरमा अनिवार्य अवकाश प्राप्त शिक्षक राम प्रजापतिलाई सम्मानसहित कदर पत्र प्रदान गरिएको थियो । अर्का अवकाश प्राप्त शिक्षक सुरेन्द्रमान वासिंछ्याक उपस्थित हुनुभएको छैन । त्यस्तै एसईई ०७४ मा उत्तीर्ण विद्यार्थीलाई मायाको चिनो, कक्षागत रूपमा प्रथम, द्वितीय र तृतीय तथा अन्य क्रियाकलापमा विजयी विद्यार्थीहरूलाई पुरस्कार वितरण गरिएको थियो ।
आफ्ना पिता न्हुछेलाल प्रजापतिको नाउँमा रु. १ लाख अक्षयकोषको रूपमा विद्यार्थी सहायता कोष शुभारम्म गर्ने अवकाश प्राप्त शिक्षक राम प्रजापतिलाई कदर पत्र प्रदान गरिएको थियो ।
कार्यक्रममा सांस्कृतिक कार्यक्रम पनि प्रस्तुत गरिएको थियो ।
ब्रह्मायणी आधारभूत विद्यालयको २७ औँ वार्षिकोत्सव
यसैबीच भनपा वडा नं. ८ स्थित ब्रह्मायणी आधारभूत विद्यालयको २७ औँ वार्षिकोत्सव कार्यक्रम भयो । उक्त कार्यक्रमको भनपाका उपमेयर रजनी जोशीले उद्घाटन गर्नुभयो ।
भक्तपुर नगरलाई ज्ञान विज्ञानको केन्द्र, सफा सुग्घर नगर बनाउने तथा पुर्खाले सिर्जेको सम्पत्ति हाम्रो कला र संस्कृति नारालाई सार्थक तुल्याउन सबैको सहयोग र साथ आवश्यक भएको औंल्याउनुभयो । उहाँले पूर्व प्राविलाई मन्टेश्वरी तालिम र प्रावि (१–५) सम्मको विषयगत तालिमले शिक्षकहरूको पेशागत क्षमता अभिवृद्धि हुने विश्वास व्यक्त गर्नुभयो ।
नगर शिक्षा समितिका सदस्य तथा वडा नं. ९ का वडाध्यक्ष रवीन्द्र ज्याख्वले हरेक विद्यार्थीमा अन्तरनिहित प्रतिभालाई प्रस्फुटन गराउन शिक्षक तथा अभिभावकहरूले वातावरण सृजना गर्नुपर्ने धारणा राख्नुभयो । उहाँले नयाँ पुस्तालाई स्थानीय भाषा, जातजाति, धर्म, चाडपर्व, कला र संस्कृतिको परिचय र जगेर्ना गर्ने उद्देश्यले स्थानीय पाठ्यक्रम लागू गरेको बताउनुभयो ।
वागीश्वरी माविका प्रअ कृष्णप्रसाद धन्छाले लगनशील शिक्षक, मेहनती विद्यार्थी, सहयोगी अभिभावक भएमा विद्यालयको प्रगति गर्न लामो समय नलाग्ने बताउनुभयो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बुद्धिसागर प्रजापतिको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा विद्यालयका प्रअ तीर्थलक्ष्मी धन्छाले प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभयो । कार्यक्रममा वडा नं. ८ का वडा अध्यक्ष महेन्द्र खायमली, आधारभूत विद्यालय समितिका अध्यक्ष तुल्सीराम ग्वाछा, ८ वडा सदस्य कृष्णगोपाल छुस्याबाग, इन्दिरा कोइरालाले पनि बोल्नुभयो ।
कार्यक्रममा वार्षिक परीक्षा तथा अतिरिक्त क्रियाकलापमा प्रथम, द्वितीय, तृतीय स्थान हासिल गर्न सफल विद्यार्थीहरूलाई पुरस्कार वितरण गर्नुका साथै सांस्कृतिक प्रस्तुति पनि गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *