भर्खरै :

स्वस्थ रहन सन्तुलित आहार, विहार र आराम

भक्तपुर, २५ चैत । नेपाल मजदुर किसान पार्टीका सचिव तथा प्रतिनिधिसभा सदस्य प्रेम सुवालले खानेकुरामा मिसावट बढेको र सुर्यमूखी, सनफ्लावर, सोयाबिन, वनस्पति घिउ पामोलिन तेल अशुद्ध भएको समाचार आएको चर्चा गर्दै अशुद्ध खानेकुराकै कारण जनता अस्वस्थ भएको बताउनुभएको छ । पतञ्जली योग समिति, भक्तपुरको आयोजनामा चैत २३ गतेबाट कमलबिनायकमा भएको खुला योग शिविरको समापन कार्यक्रममा बोल्दै उहाँले चुरोट, रक्सी र अन्य मादक पदार्थले मुटु, मिगौला, फोक्सोको रोगसमेत लाग्ने बताउनुभयो ।
उहाँले सेतो चामल, मैदा, नुन, चिनी, तयारी खानेकुरा र चाउचाउ, पाउरोटी, चिसो पेयपदार्थले स्वास्थ्यमा प्रतिकूल प्रभाव पार्ने भएकाले यस्ता खानेकुरा खान नहुने बताउनुभयो ।
स्वस्थ रहन आहार, विहार र आरामको सन्तुलन आवश्यक हुने चर्चा गर्दै उहाँले श्रम गर्नु पनि एक किसिमको शारीरिक व्यायाम भएकोले श्रम गर्ने मानिसलाई सम्मान गर्नुपर्ने धारणा राख्नुभयो ।
उहाँले भन्नुभयो, “व्यायाम विज्ञान सफल हुनु आवश्यक छ । शारीरिक व्यायामद्वारा गरिने उपचार फिजियो थेरापीको स्नात्तक र स्नात्तकोतर पठनपाठन गराइने कलेज पनि छन् र यस्तो अध्ययन गरेकाहरुको सेवा भक्तपुर नगरपालिकाको जनस्वास्थ्य सेवा केन्द्रमा पनि उपलब्ध छ ।”
देशको समसामयिक राजनीतिक परिस्थितिबारे जानकारी दिंदै उहाँले संसदमा विचाराधीन नागरिकता ऐन, २०६३ संशोधन विधेयकलाई बेवास्ता गरी गृहमन्त्रालयले ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई जन्मको आधारमा नेपाली नागरिकता पाएकाहरूका सन्तानलाई वंशजको आधारमा नागरिकता दिन गरी गरेको पत्राचार संसदीय कर सर्वोच्चताविपरीत भएको धारणा राख्नुभयो । उहाँले गृहमन्त्रालयको सो पत्र बदर गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
कार्यक्रममा योग गुरु ग्लोबिन तजलेले स्वस्थ बनेर समाजमा रहेका विकृतिलाई हटाउन लाग्नु जरुरी भएकोमा जोड दिनुभयो । अच्युतकृष्ण खागीको सभापतित्वमा सम्पन्न कार्यक्रममा नीरा मधिकर्मी, कृष्णराम गणेश, राजेश कासुला र नित्यनाथ श्रेष्ठले पनि बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *